Tuesday, September 7, 2010

म पिउँदिन भन्छु

कति...पिउँदिन भन्छु
कति...थमथमाउन खोज्छु
तर
व्याकूल भएर आउँछ
मनका दुःखहरू
बाढी झैँ उर्लेर आउँछ
मनका पीरहरू !

त्यसैले म
घुट्घुट् पिउँदैछु
भागाईहरू
दुःखाईहरू
हुस्की रमका प्यालासितै।

कसाईले नाङ्गै बनाएका
बोइलरको चोक्टाहरूमा
जीवनका चोक्टाहरू देख्दैछु
विसङ्गतिको खुकुरीले हरपल काट्टिरहेको।

त्यसैले म...पिउँदिन भन्छु..तर

पल्टाउँछु जब
अखबारका पृष्ठहरू
मृत्युशैयामा मरेकाहरूको
विभत्स समाचारले
अनि म मरे भन्न नपाएका
वेरस् शब्दहरूले
ऐठन पार्छ घाँटीमा हरएक रात।

त्यसैले म पिउँदिन भन्छु तर..

मृत्यु बोकी आएका आइलाले
झारेका पहाडको आँसु
समतल बसेर म
हरएक साँझ पिउँदैछु घुट्घुट्।

त्यसैले म पिउँदिन भन्छु
हरएक रात
मत्थु लोग्नेले स्वासनीलाई फकाउन खोजे जस्तो
प्रेमीले प्रेमीकालाई छक्याउन खोजे जस्तो।

तर म पिउँछु नै हरएक साँझ
हरएक रात !
दुखाईहरू
भोगाईहरू
विसङ्गति जीवनको !!
  xxxxxx

No comments: