Wednesday, September 15, 2010

परिवर्तन कमानभित्रको

      भालेको 'कुकुरी काँ'-सँगै निन्द्रा देवीले सुँइकुच्चा ठोक्दा झ्यालदेखि सानो संसार चिहाएर तीन बजेछ, अर्थात चार बजेछ भन्ने मनको घडीमा समयको पूर्वसङ्केत मिल्थ्यो रे हाम्रा गाउँ कमानका बुढापाकालाई। दुई घण्टाअघि कसैलाई पत्तै नदिई आ-आफ्ना काममा लीन ती बुढी-बुढीहरू पशुलाई एउटा चुल्हामा दानापानी, अर्को चुल्हामा आफ्नो दानापानी टेकाएर रातो चिया खाँदै अगेनामा लागेका हुरहुर आगोको रङ्गलाई एकटक हेरि बस्दथे। बाँकी परिवारलाई निन्द्रमा मस्त हुँदाहुदै 'छिट्टो उठ्'-को आवाजले लुत्थुक्रै भिजाएर तातो निन्द्रबाट चिसो पारिदिन्थ्यो। आजकोहरूलाई पार्न सक्छन् र ? लगभग छोराछोरी उठेर प्रातकालको स्वर्णिम दृष्यअघि आँखा मिच्दा नमिच्दा सुख्खा रोटी र रातो चियाले आमन्त्रण गरिसक्थ्यो। तरै पनि शिक्षाको महत्व बढी थियो त्यसताक। सबैले शिक्षा पाउनु सौभाग्यको कुरो। तत्कालीन समयावस्थामा ज-जसले शिक्षाको 'शि' सम्म पाएँ नोकरी उसको पछि शिकारी भएर आउँथे।
    बस् सुख्खा रोटीलाई खुम्च्याएर रोल पारी,कहीँ सिलबर बासकेटमा त्यही रातो रङ्गमा चट्चट् चुँडाई चुर्लुम्म डुबाएऱ फ्यात तुल्याई खाईवरी डोको, नाम्लो, बर्साती, घूम, पानीसिसा गुटुमुटु बेरी चियापत्तीको 'दुई पात एक सुइरो'-सँग युद्धमा होम्मिन  बाध्य थिए। 'चियाको बोटमा पैसा फल्छ रे' मा उत्तानो आँखा पारेर आउनेहरूमा कति मालिक वर्गको यौन तृप्तिको आहार बन्न परे, कति मालिकवर्गको दासत्वमा होम्मिन परेका पात्राहरूको व्याथा आलै छ। इतिहासका पन्नाहरू, समाजका भारी बोक्ने लेखकहरूका कृतिका पन्नहरू कोट्याउँदा ह्वासह्वासती गन्ध आउँछ त्यही रगतको। जसको मूल्य, देन र अस्तित्वको कुरा आज खोज्दैछौँ। चिन्हारी खोज्दैछौँ।
      सन् 1947 भारत स्वतन्त्र भएको साल। गोराहरू भारत छोडी भाग्न बाध्य भएको दिन। मान्छेहरूले स्वतन्त्रताको जुनी पाएको समय। दसत्वबाट मुक्ति पाएको परिवेश। यो भारत छोड आन्दोलनमा ती वीर श्रमिकहरूले आफ्नो बित्थ्याको ? जीवन लीलालाई समाप्त गरेको थियो। समर्पण इतिहासमा साक्षी थियो/ छ। स्वतन्त्रतापछि भारत सरकारले मानव अधिकारको ऐन पारित गर्‍यो। ती अधिकारहरू आजसम्म श्रमिकहरूको हनन् हुँदैछ। बन्द कमानले प्रत्यक्ष दर्शाउँछ। हरेक साल पत्तीको सिजन सिद्धिएपछि कमान बन्द गर्ने मालिकवर्गको नीति भइसकेको छ। इच्छा/ फायदा बमोजिम कमान खोल्ने र बन्द गर्ने चाबी भएको छ त्यही मालिकवर्ग। ठीक यसको एकसय वर्षपश्चात उन्मुक्तिमा ओर्लिन सकिरहेका छन् हाम्राहरू। त्यस्तै उन्मुक्ति दिलाउन उठेका छन् हामीहरूले चाहेकाहरू। तर खै..।
      पहाडकी रानी दार्जिलिङ। पारी भित्ताको सेताम्मे हिमालय कञ्चनजङ्घा। वरीपरी चियाकमानका हरित् गाछवृक्षले डम्म ढाकेका दार्जिलिङ शहर। त्यही हरित् गाछवृक्षबाट जन्मेको 'दुई पात एक सुइरो'-को मूल्य विश्वबजारमा गुट्मुटाएर 'दार्जिलिङ टी इज् बेस्ट'-को उपाधि बाहेक अरू थोक केही दिन सकेको छैन। जो हामी चाहन्छौँ, जो श्रमिकहरू चाहन्छन्। जो उराठ लाग्दो घामको रापमा रापिएर, वर्षाको झरीमा आकाश छ्याङ्गै देखिने मालिकवर्गबाट पाएको छाताको मुनि ओतिएर, तुत्थुक्रै भिज्दै चिया गाछसितको मायामा हाँस्नु र रूनु मात्रै आफ्नो भाग्य ? ठान्छन्। खुन र पसिनाको गन्धले ओतप्रोत चियाको भाऊ र स्वाद लिने त उही मोराहरू ! जो सय वर्षअघि पनि चुस्दै थिए।
     तर...समयले फड्को मार्दै गयो। कोख्रे बालक युवा बन्दै गयो। मान्छेले परिवर्तन गर्न सकेनन्। परिवर्तनले मान्छे बनाउँदै गयो। शिक्षित बन्दै गयो, डिमान्ड बढ्दै गयो। शहर बजारको परिवेशले कमानलाई प्रत्यक्ष प्रभाव पार्दै गयो। मान्छेले यान्त्रिकतालाई आत्मसात गर्दै गयो। अल्छे बन्दै गयो। शहरीकरणमा धेर संतुष्टि रोज्न थाल्यो। देश-विदेशमा चर्किरहेका कोलाहल, भीडन्तले साक्षात 'घर बसेर नेपाल देख्ने' उखानलाई परिष्कृत गर्दै लग्यो। अपठितहरूको मस्तिष्कले सृजना गरेका पारम्परिक टुक्का उखानहरूले आजको परिप्रेक्ष्यमा पनि तिखो व्यङ्गवाण हानेको जस्तो छ। हलो, कोदालो र माटोलाई पन्ना र कलम सम्झेर त्यस्ता घतलाग्दो शब्द वाक्य बनाएका हुन् कि ! दुःखसित युद्ध गर्दा गर्दा दुःखलाई नै सुख ठानेर आत्मसंतुष्टिमा बाँच्न उनीहरूले कसरी सके होलान् आज पनि सोँच्न बाध्य गराउँछ। त्यसैले फेरि साग, सिस्नो र डेढोमा हैँसे गर्न आज ती रगतका टुक्राहरूलाई कस्तो अपत्यारिलो हुन्छ होला। संकोच र लाजले बरू भोकै बस्छन् कि! पिजामा पुगेका मुखले मकैको डेढोमा उल्टो मुख बहाउँछ कि!
      परिवर्तन....परिवर्तनले देशलाई मात्र प्रभावित तुल्याएको छैन। शहर, गाउँ-बस्ती, कमान सबैलाई नाके डोरी लाएर तानिरहेका छन्। हरेक क्षेत्रबाट। हरेक पलपल। अघि रात्रीको दृश्यमा अर्को गाउँ भित्ता हेरे राँको बालेर हिँडिरहेका राँके, अँध्यारोको मलामी गएका झैँ देखिन्थ्यो। पिलपिल् बल्न सकेका धिब्री बत्तीका वरीपरी भुँइमा भोलिको कार्यप्रणालीका विषयमा, दुःख-सुखका अनुभूतिहरू एकार्कामा साटासाट गर्ने प्रवृतिले शहरको झिलिमिलिलाई क्षणिकमा आफ्ना अनुहारअघि ल्याई पुर्‍याएको जस्तै भयो। त्यो बत्तीको झिलिमिलिमा भुत्रुक्क उफ्रन्दै आँगनमा चाच्न, गाउन थाल्यो। भालेको डाकलाई भुलेर मान्छकै मस्तिष्कले बनाएका घडीले नाडीहरूमा जरा गाड्दै गयो। मान्छेलाई त्यसले चलाउँदै गयो। नाडीमा बाँधेका घडीले मान्छेले मान्छेलाई काँटाको टिकटिकसँग घुमाउँदै लग्यो। मान्छे पनि उदेक मानेर घुम्दै गयो। दुर्दशन च्यानलले शहरलाई आफ्नो मुट्ठीमा नचाउन थाल्यो। विभिन्न थरीका कलाकृतिहरूलाई दोहोर्‍याउँदै च्यानलहरू शहरतिर प्रसारण हुन थाल्यो। मनोरञ्जन, थकाईलाई सास्ती दिन देश-विदेशका खबरबरू जान्ने बुझ्ने ध्येयले टीभी भित्र्याउँदै गयो। देखासिखी बढ्दै गयो। गाउँ भरिँदै गयो। च्यानल बढ्दै गयो। लोकले नसोँचेका, नदेखेका घटनावलीहरू प्रसारण हुँदै गयो। भइ रहेछ पनि। मज्जा आउँदै गयो। काम थाँतीमा राखेर टीभीअघि त्यही घडीको काँटाको घोँचाईमा बस्न कर लाग्न थाल्यो। बस्दा-बस्दा नदेखेका अश्लीलताले भित्री मनका सुसुप्त प्रवृतिहरू जुर्मुराउँदै उठ्न थालेपछि गाउँ घरमा अश्लील घटनाहरूले घट्ने सौभाग्य पाउँदै गयो। त्यसो नहोस्, हुनु हुँदैन भन्ने उदेश्यले बनिएका आजकलका धारावाहिकहरूले सर्वाधिक व्यापकता र लोकप्रियता पाएका छन्। झन् चिया कमानमा सात बजेदेखि टीभीअघि बस्न नपाए बेलुकीको खानाले पच्ने मौका नै नपाउँदो हो कि! पहाडको दुर्दशा ज्ञात भएकै हो क्षणिक समयमा के हुन्छ हुन्छ, कसलाई थाहा। बत्ती छैन या क्याबल लाइन, बस् ओपरेटर र इलेक्ट्रीसिटीमा कार्यरत मान्छेहरूलाई आशिर्वाद दिहाल्छन् फेरि।
    त्यस्तै आजको दिनमा फेसनमा आएको छ पहिरन र मोबाइल। पहिरन नलाउँदा पनि हुने स्थितिमा पुगेको छ। मोबाइल टीभीको हाराहारीमा पुगेको छ। मोबाइल छ भने हरो हिरोइन भएको अनुभव गर्नेहरू थुप्रै भइसकेका छन्। अघिअघि मालिकवर्गले यौन पूर्तिका निम्ति शिकार बनाउँथे कमानका अबोध नारीहरूलाई भने मोबाइलले आज मालिकवर्ग तथा ठूलाबढा भनौदाहरूलाई यौन आसक्तिमा लोभ्याउन सक्ने स्थिति भइसकेको छ। विवाहित तथा दाम्पत्य जीवनमा दैन्दिन यसले आँखा लगाउने बानीलाई मलजल दिइरहेका खबरहरू यत्रतत्र फैलिरहेका छन्। फलानोको पत्नीसँग के सम्बन्ध ? ढिस्काको लोग्नेसँग किन रातभरि दिनभरि गफ ? विवाहित भएर नानीहरूसँग प्रेमलीला गर्न लाज लाग्दैन ? प्रश्नहरू उठ्दै छन् थुप्रै थरीका। तर गफ गर्न मज्जा आउँछ नि! कम्पनीहरूले अफरमाथि अफर थपेर पठाई रहेका छन् किन उपभोग नगर्ने। भाउचर गाउँको मिठाई दोकानमा उपलब्ध छँदैछ। पत्र लेख्ने परम्परालाई एक लातमा चित बनाएको छ यसले नै। दुई पात एक सुइरोमा दिलोज्यान दिने, सर्वस्व गुमाउन बाध्य हुनेहरूकै एक चोक्टाहरू चियाको बोटमा थपक्क बसेर हाँस्दैहाँस्दै कानमा मोबाइल टाँसेर कुन भँवरासँग गफ लडाई रहेका हुन्। भरै भेट्ने, भोलि भेट्ने समय स्थानको निर्धारण हुँदैछ। के कस्ता पहिरन पहिरिएर आउने हुन्। चिन्ने नचिन्ने दोसाँधमा अड्किरहेका छन्। हेरौँ पक्कै भेट्न आउने हुन् कि कमाने कान्छीहरू !( 20 नोभेम्बर 2008 मा प्रकाशित)

No comments: