Friday, July 15, 2011

गाउँ र देश

रङ्-रङ्ती जङ्गलको हाटबजारमा
सपनाको एउटा सानो पसल थापेर बसेकी
रामबहादुर, बलबहादुर र बुद्धिमानबहादुरका स्वास्नीहरू
आशाको बारीमा हलो-खेत जोत्दा-जोत्दै
त्यहीँ रगतका फाल्सा रोपेर हिँडेकी क्यौँ भयो
तर
परेलीका खोप्चाबाट तरल-तरल उम्रेर
छात्तीमा गाँठो हुँदै
बलबहादुरहरूको कुसुमे रूमालमा अल्झिएका दुःखहरू
प्यूरिफाइड,
देशको कुनै पानीले पुछ्न सकेको छैन, अझै।

साइनोको नाममा बाऊले छोडिदिएका खिया परेको बाक्साभित्र
गाउँको भुगोल सँधै आत्महत्या गरिरहेको छ।
अनन्त !
देशले कुनै गाउँ मरेको घोषणा पत्र बनाइदिएको इतिहास छैन।
‘पोस्टमार्टन’ गर्ने कुनै अस्पतालको डेरा थापेको इतिहास छनै।

शान्तिको झोला भिरेर हिँडेको यो देशको अनुहार
रात-रात फेडी फुकेर गाउँका निन्द्राहरू बिथोल्छ
अनि बिहान
ढोकामा
दर्शनको उखान सुनाउँदै
गाउँमा
शान्तिको एक अञ्जुली भिख उठाउँछ।

No comments: