Wednesday, July 27, 2011

गाउँमा पन्ध्र


गाउँ
बिहानदेखि शनिबार
पचास ग्राम गुलियो र पाँच किलो खल्लो रासिन थाप्नुलाई
दिनभरि तौल गर्ने र बिल काट्ने मान्छेकोअघि
झ्याउँकिरी जस्तै घाममा कराउँछ।

पन्ध्रको खर्च आउने शनिबार मात्र हुन्छ।
नहुन पनि सक्छ।

गाउँमा शनिबार चाड चल्छ
गोरूको हत्या।
सुङ्गुरको हत्या।
पन्ध्र दिनको तृप्ति एउटा शनिबारले मेटाउँछ।

आइतबार बजार जान्छ थुप्रै रहरका थैली बाँधेर गाउँ
कुन गल्ली हिँड्छ- कतिचोटि
चिया दोकानअघि उभिन्छ गाउँका सोँचाइहरू
मीठो र सफा, योभन्दा आफ्नै घरका चुल्हामा पाकेको सपना बुन्छ।

माया र सम्झानाको स्वाद भरिएको
सानो मीठाईको पोका बोकेर फर्किन्छ गाँउ।
बाटामा आफन्त
परिवारलाई एउटा एउटा बजारको गन्ध चखाउँछ।
अनि थाकेर नथाकेको र नथाकेर थाकेको अनुहारको रङ्ग फेर्दै
एक कप चिया आफ्नै चियाबारीको पिउँछ।
आफ्नै घरको चुल्हामा पाकेको पिउँछ-सोँच्दै
अब सपना कति बाँकी रह्‍यो ?
अब रहर कति बाँकी रह्‍यो ?

अर्को शनिबार आइपुग्छ।
अर्को आइतबार आइपुग्छ त्यसरी नै।
रहर र सपना पनि उस्तै बाँकी र पूर्तिको सूचि बोकेर आइपुग्छ।
कति पन्ध्र, शनिबार र आइतबारले पहाड चढे होला ?
कति पन्ध्र, गाउँले बजार चढ्यो होला ?
थाहै छैन गाउँलाई। तर थाहा छ गाउँलाई
एउटा पन्ध्रमा एउटा झिनो सपना पुरा हन्छ। एउटा झिनो रहर पुरा हुन्छ।
थाहा छ गाउँलाई
पन्ध्रमा फेरि अर्को सपना अधुरो रहिरहन्छ।
पन्ध्रमा फेरि मीठो रहर, तितो भइ नै रहन्छ।














.

No comments: