Friday, July 15, 2011

निधारहरू

भाग्यको पलेँटी कसेर बसेका निधारहरू
जीवनका एब्स्ट्रयाक्ट रेखाहरू
पसिना जस्तै पुछ्न सकेकै छैन।
पुछ्नलाई ब्रान्डेट कम्पनीको रूमाल छैन।
निफान्नलाई व्यस्थित नाङ्गलो छैन।

फाटेका भाग्यको कलेवर लाएर बुख्याँचा भएका निधारहरू
समुद्रको चियो छाल आङ्मा छ्याप्नलाई र
घामको न्यानो ताप्नलाई
अझै, बुख्याँचा भइदिइरहेका छन्।

गन्हाउने इतिहासमा लिपिएका निधारका अक्षरहरू
बुढो रूखमा टाँसिरहेको छ ‘ख्रीष्ट’ जस्तै।

दिनहुँ निधारहरू सपनाको 'खुइ' काट्दै
उक्कालो, तेर्सो बाटोहरूमा
भीडहरूमा
सन्देहहरूमा
मलीन अनुहारको रङ्ग पोतेर लाइन लागिरहेका छन्
तर लाइन सकिएको छैन अझै
भीडहरूबाट
सन्देहहरूबाट।

बील्ज र फेसियल गरेका चिल्ला गालाहरू
पर्फ्यूम र पाउडर धसेका सुगन्धित मानसिकताहरू
छामेर,
निधारहरू, आफ्ना खस्रो गालाका पाटामा उम्रिएका
वर्तमाने डन्टीफोर छामेर चिच्याइरहेका छन्।

हरेक रात ऐनाअघि उभिएर घोरिँछन् निधारहरू
हरेक सपनामा बौरी उठ्छन् निधारहरू
अनि फेरि हरेक विहान सपना र भाग्यको सर्टिफिकेट बोकेर
उभिन्छन् निधारहरू
भीडहरूमा
सन्देहहरूमा।

No comments: