Tuesday, November 8, 2011

इच्छा अनि मृत्यु



इच्छाहरू आँखाभरि सिउरेर एक हूल कुकुरहरू
जिन्दगीको स्वादिलो रङ्ग
र जिन्दगीको अन्तिम रङ्ग हेर्नलाई
मत्युको पखेटा फिँजाउन तयार भई उभिएका छन्
एक लाम्टा मासुको अघिल्तिर।

राले इच्छाहरू त्यसको गिजाबाट नअडिएर
दाँतका फाकाबाट तरल तरल चुहिँदो हो।
त्यही रालमा कति सपनाहरू लाब्रे झैँ टाँसिएर बस्दो हो।
त्यही रालमा कति सपनाहरू झरेर ऐना झैँ टुक्रिँदो हो।
तर उसको इच्छा, सपना अनि बैँस
एक पलको सुखमा अडिएको छ।

मान्छेहरूकै आङमा मात्र छाउँछ  दसैँ ?
दसैँ आएर पनि किन आउँदैन त्यसको छात्तीमा ?
बस् ! दसैँ !
दशा भएर आइदिएको छ त्यसको निधारमा।

जन्मभूमि किन खोज्दैनन् यी अबोध ? कुकुरहरू ?
स्वतन्त्रता र अस्तित्त्वको किन ढ्याङग्रो ठटाउँदैन यी कुकुरहरू ?
मात्र, अधिकारको मुनाफा कमाउँछ
एक लाम्टा मासुमा पोँतिएको एक थोपा विष।

मासुको स्वाद चाख्न पाउनुको सपनामा
जीवनको एक चोइटा इच्छा कतै पूर्ण हुँदो हो-त्यसको।
त्यसलाई के थाहा तर
एक चोक्टा लाम्टा मासुमा
जिनदगीको सपना वेरङ्ग हुनेछ।

त्यसमा यदि,
चेतनाको गर्भ पट्पटी फुटेर
विवेकशीलताको एक दाना फूल फक्रिँदो हो त
अज्ञानताको हिमाल चढेर मृत्युशैयामा
शोकको झण्डा किन गाड्न परथ्यो र !


मीठो इच्छाहरू कति अमिलो भइदिएको छ
त्यसको अर्धाङ्गिनीलाई।
दसैँ र तिहार फनफनी घुम्ने अभिलाषाहरू
त्यसको सन्तानलाई कति तितो भइदिएको छ।
थाहा छ महाशयज्यू ?

तपाईको विवेकले उमालेको एक थोपा विष
अनि तपाईको जनसंख्या आबादीमाथिको प्रतिबन्धको एक घुट्को नीति।
जय होस् !
जय होस्- इच्छा
जय होस्- सपना
ती अबोधहरूको !

No comments: