गाउँमा पस्छु..
जाम्मिएर थोत्रे भइसकेका सम्झानाको पोका बोकेर।
गाउँका सीमानाछेउदेखि भुक्ने कुकुरहरूको लामेताँत देख्छु।
तर त्रासको एक सिन्काले कुचेल्दैन मन।
थाहा भएकै छ-भुक्ने कुकुरले टोक्ने होइन।
गाउँमा हिँड्छु..
तलमाथि/ माथितल
यताउति/जताततै...
किनभने गाउँको माटोले मेरो गन्धमा कहिले थुकेको छैन।
किनभने मैले गाउँको माटो खाएर वान्ता कहिल्यै गरिया छैन।
तर यहाँ, सन्त्रासको बिऊ आफै उम्रन्छ।
हिँडेका मेरा पाइलाछापका माटो टिपेर गाउँमा मेरो वनवास फलाक्छ।
गाउँमा बस्छु...
शान्तिको सुसेली जुरेली झैँ फलाक्न सकिन्छ कि-ठानेर
तर चिलाउनेको स्याउलो हिर्काउने धामीहरू
घरैपिच्छे मेरो नाममा फलाक्ने गर्छन्।
जोखाना खुटिन्छ...
सत्य-सत्य सेतो चामलको टुक्रामा।
आर्शिवाद पाउँछन्-मेरा दोतरीहरू, कुन्नि कस-कसले
मन कुटुक्क दुख्नेगरि।
मैले देखेको गाउँ
मैले पचाएको ठाउँ- उस्तै उस्तै नहोला।
होला पनि।
तर गाउँको मानसिकता सिस्नुको भर्याङ्ग उक्लेर कहाँ पुगेको छ कुन्नि !
त्यसैले हिजाज म..गाउँमा सुटुक्क पस्छु..
मेरा बोलिहरू, शब्दहरू घाँटीमा घण्टी नझुण्डाई हिँड्छन्।
हातहरू नमस्कारको चुचुरा बनाउँनअघि सुत्न पुग्छन्।
आँखाहरू डाह-आह्रिशका रानीमासु हेर्नअघि झयाप्प निभ्छन्।
र पनि..घुम्ती-घुम्तीमा लम्की थाप्न
मेरा खुट्टाका नसा पर्खेर बसेकाहरूलाई
मन लाग्छ-एक सेलुट, हुत्तिहाराको मारिदिउँ कि !
हर थोकमा काखी च्यापिएर उम्रिएका रौँ-हरू
र हरएक पल काखीका रौँ जन्माउन खप्पिस भएका शिवहरूलाई
मन लाग्छ-गणेशका सूँढ उपहार दिउँ कि !
No comments:
Post a Comment