Monday, February 6, 2012

बुढा र टोक्री

पुच्छर गाउँका शेर्पा बुढा पिरामा बसेर
जिन्दगीको रहर र सपना बाँसको केस्रामा बुन्छन्।
गाउँलेलाई ढाँटमा फाटेको सट पक्डाएर
उसको नाति गिद्रामा जीवनको गाँडी कुदाउँछ।

बुढाका रहर र सपनाले बुनिएको टोक्रीमा
मालिकका मुखबाट तुहिएका राल धरि अडिँदैनन्।

कति सस्तो छ शेर्पा बुढाका रहर र सपनाको मूल्य ?
सयकडाको हिसाबमा तौल घरमा
त्यसको निलामीको प्रदर्शनी चल्छ।

निलामीमा जितेका
शेर्पा बुढाका रहर र सपनाले श्रृङ्गारिएका टोक्रीमा
गाउँका ठीटिहरू एकहूल भएर
शेर्पा बुढाका सङ्गीले खनिराखेका खाडलमा
घरका गालामा लाली पोत्न रातो माटो भर्न जान्छन्।

त्यसै टोक्रीमा मेरी आमा मेरो भाग्यको सपना बुन्छिन्।
त्यसै टोक्रीमा मेरा बाबु भाग्यको डाइस छोप्छन्।
र फेरि त्यसै शेर्पा बुढाले बुनेको टोक्रीमा
चियाबारीका गीत गुञ्जि रहन्छ-अनवरत।

त्यसपछि बुढाको सपना र रहर कहिल्यै पूरा हुने छैन।
त्यसपछि नातिले कहिल्यै गिद्रामा जीवनका गाडी गुडाउने छैन।
गाउँका ठीटिहरूले कहिल्यै घरमा लाली पोत्न पोउने छैन।
त्यो दिनदेखि, जुन दिन त्यही टोक्रीमा बुढाका मलामीहरू
चियाबारीबाट सिरिषको दाउरा बोकेर जिन्दगीको सुसेली फेर्छन्।

No comments: