Monday, February 6, 2012

स्वतन्त्रता

बिहानै गाउँको आँगनमा गाउँलेहरू
देशले स्वतन्त्रता पाएको नाममा बाँसको खाँबो गाड्न हस्याङपस्याङ गर्छन्
अशोक चक्र मुटुमै भिरेर तीन रङ्गको झण्डा फर्फराउँछ
गाउँको गीत, राष्ट्रिय गीतमा अब्डेड हुन्छ।

देशले, देशलाई छुट्टि घोषणा अघिबाटै गरिदिएको छ
तर जन गन मन गाएर गाउँ कान्लाबारी पस्नै पर्छ।

दिनभरि वीर सपुतहरूको चलचित्र हेरेर
गाउँमा निस्तब्ध छाउँछ
टाउको र छात्ती बम-बारूदका छेस्कामा उनिएको दृश्यमा
देशले स्वतन्त्रता मनाउँछ।

प्रत्येक वर्ष देशले स्वतन्त्रताको डकार फ्याँक्दै देखाएको विज्ञापनमा
छात्ती पिट्दै गरेको आफ्नो अनुहार नदेख्दा
गाउँ सुकिसकेका सम्झानाका आँसुहरू सोसाएर ओछ्यान पस्छ।
देश, त्यहीँबाट इन्कम ट्याक्सको बाटो हिँड्छ।

No comments: