Monday, February 6, 2012

देश बनाम त्यो काले केटा

ए ! मेरो देश
मैले यसरी सम्बोधनको फूल तिमीलाई चढाएँ !!

म तिम्रो दरसन्तान भई बाँचेको हुँला
जीवन भाग्य तिम्रो मै कोर्छु भनी बाँचेको हुँला
तर जति-जति हेर्छु तिमीलाई मेरो वर्तमाने आँखाले
उति-उति साँच्चै तिमीलाई माया म गर्नै सक्तिनँ।

मैले बाँचेर हिँडेका तिम्रा मुटुका ढिस्कानाहरू
दिनहुँको दरिद्रताको भाइरसले मक्किसकेका छन्
दरिद्रताको रगत लाएर झरिलो देखिएका तिम्रा फोक्से गालाभन्दा
फुटेका प्लास्टिकमा नाङ्गो जीवन बोकेर
सचिनले शतक घुमाउँदा रङ्गीन झण्डा बोकेर
खाली खुट्टै हाफ्प्यान्टमा कुद्ने त्यो काले केटाको गाला नरम लाग्छ।

तिमीले संविधानको एउटा कुन्नि कस्तो सिस्टम बनायौ
मलाई त्यसले छात्ती ठोकेर हिँड्नै दिदैनँ !
त्यसको विरोधमा मैले मोर्चा खोल्नै पाउँदिनँ
नारा हल्लाको लाउनै सक्दिनँ।
बरू ! मै पट्टि फर्किएर दिशा गर्ने खेतबारीबिचका त्यो केटोलाई देख्छु
तिम्रो संविधान त्यत्तिबेला
त्यसको गालाभरि लाज पचाएर हाँसिरहेको हुन्छ।

खेतबारी-खेतबारीबिचका झोपडीहरूले
गोबरका डल्ला बालेर उसिनेका दरिद्रताको झोल
तिमीले देखाएको घमण्डको टाउकोबाट
शिवलिङ्गमा दुध घोप्टाएको झैँ विहान-विहान घोप्टाउनु पाए
त्यो नाङ्गै कुद्ने केटोहरूलाई कति मज्जा आउँथ्यो होला हगी ।।

ए ! मेरो देश
जाऊ तिमी तिम्रो खोक्रे संविधानको झोला भिरेर त्यो आदिमबस्ती
जहाँ अप्डेड गराउने थुप्रै काँचो अनुहारहरू पाउनेछौ
लैजाऊ छर्न तिम्रा अर्थशास्त्रका मुटुहरू
फलोस् बरू कुहिएका आलुहरूका सट्टा एउटा जीवन
जसले फेरि तिम्रो कचल्टिएको भाग्य रेखा कोरोस्
छामी हेर तिम्रो विकासको हातले त्यसका मुटुहरू
साँच्चै तिम्रा मुटुका स्पन्दनहरू पनि हुरूक्क दुख्नेछन्।
तिमीले त्यत्तिबेला आफ्नो कुहिएको प्रतिबम्ब पक्कै देख्नेछौ।।

No comments: