Monday, February 6, 2012

शब्दचित्र

कवि हो तपाई ?
मेरो जीवनवृत्तिको एउटा कविताचित्र कोरिदिनु होस् त !

कुन वाद र वृत्तिको रङ्ग पक्रेर कोर्नुहुन्छ-कोरिदिनु होस्
कुन भाव रसमा मत्थुनी बनाएर डुबाउनुहुन्छ-डुबाइदिनु होस्
तर म बाँचेकी हुनुपर्छ मभित्र !
तपाईको कविताको शब्दभित्र !!

मनोलिजाको उपमा दिएर सजाउनुहोस् कि
सकम्बरीजस्तै मनोग्रन्थीकी शिकार,
प्रौन नक्कलीहरू सामु उभ्याइदिनु होस् कि तेर्साइदिनु होस्
म त्यसमा वेवास्ता छु।

गाउँको एउटा थोत्रे कोठामा जन्मिएकी म-नाङ्गै
गरिबीका सपनाहरू लुतु सरे झैँ भो मेरो नाङ्गो आङमा
मैले झार्नै सकिनँ त्यसलाई
गाउँको अन्धो बग्ने पानीले।
सुत्नै सकिनँ त्यो ओछ्यानहरूमा एक रात-अर्को रात
जहाँबाट ठ्वाँस्वा गन्ध आउँद्थ्यो-कुकुरहरूको।

कविज्यू, तपाई भन्ठान्नु होला
यी कस्ती केटी रहिछे-यस्ता असुहाउँदो कुरा लेखिमाग्ने
हो त, किन अपच हुन्छ र यस्ता कुरा ?
निश्चिन्त रहनु होला, किनभने
कोही छैन यहाँ मलाई नाङ्गो हेर्नुमा आँखाको परेली खुम्च्याउने
कोही छैन यहाँ आफूलाई नाङ्गै हेर्नुमा आँखाको परेली लुकाउने।

‘पवित्र’-को नेमप्लेट टाँसेर हिँडेकी सकम्बरी
व्यर्थै किन मुर्झिएकी होली ? नाथे सुयोगवीरको एक चुम्बनले
अचम्म लाग्छ कविज्यू !
बेश्याकै तक्मा छात्तीभित्र उनेर हिँडेकी म भने
अझै मरेकी छैन। अझै झुत्त्रिएकी छैन।
र कहिल्यै मर्ने छुइनँ।

भन्नु होस् कविज्यू- के यहाँ, कोही पवित्र छन् ?
म छैन भन्छु।
मनोलिजा, सकम्बरी, द्रोपदी होस् या सीता
सबैले आफ्नो कुमारीत्त्व हरेक बिहान जलस्नानसँगै गुमाएको छ
जहाँ वरूण, जल देवता भएर बाथरूम पस्छ।
जहाँ कुमारीत्त्वको सरिर छोएर उ तरल तरल बग्छ।

कविज्यू !
तपाईका यी कवितामा प्रतिबिम्बित मेरा नाङ्गो चित्रले
यसलाई अश्लील कविताको लेबल टाँसिदेला !
तपाईलाई फ्रायड, कोइराला, धराबासीको पुच्छरे भनिदेला !
किन्चित, हतोत्साही भइनदिनु होला
किनभने तपाईको साहित्य मजस्तै नाङ्गो छ।
कसैका आँखाले त्यसलाई मजस्तै बेश्या देख्लान्
कसैका आँखाले सकम्बरीजस्तै मनोग्रन्थिको शिकार देख्लान्
कसैका आँखाले सद्धे सीता।

हो, यसलाई आँखाका चेपबाट तर्किएका विचारदृष्टि भन्ला।
जो, दुरूस्त मजस्तै छ।

कविज्यू ! के सोँच्नु भाको
कोर्नु होस् न अझैँ !
खै ! मेरा चखिला चित्र अझै कोरिएको छैन।
मलाई एब्स्ट्रयाक्ट आर्टमा नउतार्नु होस् न
देख्न सकुन् सबैले मेरो सर्वस्व नाङ्गो चित्र।

No comments: