Monday, February 6, 2012

अनुहारका रङ्ग

पीडा र व्याथाको पाउडर धसेर
बाटोभरि लथालिङ्ग हिँडिरहेका अनुहारहरूले
लाग्छ देशको एउटा मानचित्र कोरिरहेछन् -हरदिन। 
त्यो मानचित्र  
जहाँ, उसको आफ्नो कचल्टिएको अनुहारको नक्सासमेत पाइँदैन।  


निधार र गालाका पाटामा फुलिसकेका बैँसका रेखाहरू 
कुन युगदेखि बोकेर हिँडेका हुन् अनुहारहरूले
सायद त्यो गल्ली हिँडीरहने भिखारीसमेतलाई थाहा छैन। 
सायद उसलाई देख्दा भुकिरहने कुकुरसमेतलाई थाहा छैन। 


कुमको डीलमा जिन्दगीको एउटा थोत्रे नाम्लो भिरेर  
अर्काको इच्छाको भारि टाउकोमा बोकेर हिँड्दा देखिने अनुहारहरू  
कति शान्त छन् आफ्नो छिप्पिएको टाउको खियाउनलाई। 
तर त्यो शान्त अनुहारभित्र  
कति रहर र सपनाका त्यान्द्रा गुजुल्टिएका छन्  
त्यो बिहानको भुकभुके उज्यालोमा  
स्वाधीन बिडी मुखमा चेपर टोपी मिलाउँदै कुद्ने कान्छालाई सोधे पुग्छ। 


स्वाधीनता र अधिकारका झण्डा बोकेर कुदेका अनुहारहरू 
अघिपट्टि डाइस बक्समा उभिएका  
नेताको अनुहारमा आफ्नो प्रतिबिम्ब खोज्छन्। 
जुन अनुहार पार्लर चिहाएर चिल्ला भएका छन्। 
जहाँ धुलो र पसिनाले लत्पतिएको अनुहारको छाँया प्रतिबिम्बित हुँदैहुँदेन।
जहाँ बैसँको डन्डीफोर पाक्न लागेको युगबोधको छाँया प्रतिबिम्बित हुँदैहुँदैन। 


अशान्तीले झोलिएका अनुहारहरू  
सरिरभरि रक्सीको पर्फ्यूम छरेर गाउँको चोरबाटोमा 
मूल बाटोको एउटा आत्मकथा सुनाउँदै हिँड्छन् 
जुन कथामा कुसंस्कारको लामो लेघ्रामा गीत गाइएको छ 
जुन कथामा खस्रो अनुहारको चित्तदुख्दो अनुभूति छापिएको छ 
जुन कथामा गाउँको मानचित्र अनुहार-अनुहारको रङ्गले कोरिएको छ।

जुन मानचित्रमा, 
त्यही अनुहारको रङ्ग र आकारमा सूर्यास्त भएको सङ्केत मिल्छ।




No comments: