Friday, May 25, 2012

सपना-2




सपना
ओछ्यानबाट उठेर सुदुर देशमा पुगेको छ।

दश्य एक-
कुन देशको रङ्ग हो त्यो
झोपडीभित्र काठको ओठ्यानमा कोल्टे परेका जिन्दगीलाई थाहा छैन।
त्यहाँ कुनै राष्ट्रीय झण्डा कुरूप भएर झुलिरहेको छैन।
छात्तीमा लाहुरेहरू आङ्गरक्षकको लेबल टाँसेर
सीमानामा कुनै बलात्कारको सुटिङ गरिरहेका छैनन्।
देशको ब्रेक छाडेर कुनै राष्ट्रपतिले
गाउँको छप्परमाथि गाडी कुदाईरहेका छैनन्।

दृश्य दुई-
दृश्य आँखाअघि फिल्मी पर्दा झैँ खस्छ
साना-साना गाउँहरू होलीको रङ्ग मस्त खेलिरहेका छन्।
नेता नै नभएको ठाउँ।
सबै मान्छे मात्रै।
पशुहरूको आफ्नै देश।

दृश्य तीन-
कोही श्रृगारिएर घोडामा राजकुमार भई चढिरहेका छैनन्।
कोही परीकथाको राजकुमारी भई पखेटा फिँजाइरहेका पनि छैनन्।
सबै शान्त। मधुर।
मुस्कानका एक डल्ला छाप मात्र।
रोमान्स नक्साभरि।

दृश्य चार-
त्यहाँ हामीजस्ता बलबहादुरहरू छैनन्
हामीजस्तै मैनाकी आमाहरू पनि छैनन्।
त्यहाँ कुनै बेश्यालयको प्लेट टाँगिएको कोठा छैन
जहाँ हामीजस्तै मनमायाहरूले दुःखका पोका ब्रा खोलेर देखाउनु पर्दछ।

दृश्य पाँच-
त्यहाँ हाम्रोजस्तो भत्किसकेका मक्किसकेका ओछ्यानहरू छैनन्
सुन्दर छन्। एकचित्त कल्पना।
जहाँबाट सपना चिहाउँदा
मेरी आमैहरूले प्रत्येक रात देखेकी सुन्दर सपनाहरूजस्तै
विहानीपख ओछ्यानबाट आफूसँगै झर्दैनन्।

No comments: