चेतनामा
विचारहरू डल्लो पारेर
मेरो कलिलो
छात्तीमाथि थेचारी दिने तिमी मेरो अप्रिय कवि। अप्रिय लेखक।
आफ्नो
स्वतन्त्र मृत्युको घोषणा पत्र
मेरो
चेतनाको निधारमा टाँगेर
तिम्रो
बाँझो अक्षरको मलामी बनाई दियौ।
तिम्रो
अक्षरको बिऊ
तिम्रो
कविताको खेती
तिम्रो
आख्यानको माटो
र मेरो
सपनाको पसिना बराबरा होइन।
टन्टालापुर
घाममा
निधारबाट
जिन्दगीको पसिना बगाउने म किसान होइन। श्रमिक होइन।
म पाठक
हुँ। चेतनाको दाँतबाट पसिना चुहाउनु पर्ने मान्छे।
तिम्रा
अक्षरहरूले कोरेका पीडाको नक्साभित्र
मेरो घरको
चूल्हा भेटिँदैन
तिम्रा
शब्दहरूले जोतेका खेतबारीमा
अहँ ! मेरो अनुहारको रङ्ग उम्रँदैन।
ओ! कविज्यू। लेखकज्यू
म पाठक
हुँ। सोझो जनताजस्तै
तिमी भावको
राजनीति गर्ने कट्टर नेता।
सपनाको
रङ्गीन घर र त्यसमा झुल्लिरहेका सुविधाहरू
तिम्रै हो।
भोलि नै ल्याइदिन्छु भन्ने नेताको भाषण र
तिम्रा
अक्षरहरूमा गुन्टा परेका सिद्धान्त एकै हुन्।
तिमी
सिद्धान्तको पुच्छर पक्रेर कविताको खेती जोत्छौ। आख्यान राप्छौ।
जहाँ
रामसाइली र बलबहादुरहरूका सपनाको बिऊले
भ्रान्तिमा
उम्रेको अभिनय गर्छ।
तिम्रो
अक्षरको बिऊले उमार्न खोजेको सामान्तवादको मानचित्रमा
मेरो
अनुहार किन देख्दैनौ ?
चेतनाको
ढकनी बन्द राखेर
बुद्धीवादी
पाठकको अभिनय गरकोजस्तो लाग्छ तिमीलाई ?
पाठक हुँ।
घोकन्ते बुद्धिबाबु होइन।
अक्षर पढ्न
म पनि जान्दछु।
No comments:
Post a Comment