Friday, May 25, 2012

राजनीति


आश्वसनका झुठा मुखहरूबाट चुहिएर
रालहरूका गन्धले सिउरिएका
कुनै राजनैतिक झण्डा
मेरा हातले कदापि हावामा फर्फराएका छैनन्।
मगन्ते भाषणहरू
मेरा मनका चप्लेटी ढुङ्गामा कहल्यै अढिनसकेका छैनन्।
न कुनै नेतालाई देवताको अनुहारमा रूपान्तरित गर्न सकेको छु।
न उसको अघि पुजारीको नक्समा म आफै घुँडा टेक्न सकेको छु।

आजकल मेरा छेउमा उभिएका
भलादमी अनुहारहरूमा
मेरा यी बदनाम आँखाहरूले ?
राजनीतिका क्यौँ झुम्काहरू मात्र फूलिरहेका देख्छन्
उसको गालाका चेपबाट नचाहेर छिरेका
कपटीपनका मन्द मुस्कानहरू र
दाँतका फाँकाबाट चेप्टिएर जबरजस्ती तुहिएका
भलापनका शब्दहरूले
मेरा मनका पाटा भएर कहिल्यै मुटुमा
गाढे घाउको घर बनाउन सकेको छैन।
मेरा निधारको बाटो भएर कहिल्यै
जिन्दगीको भाग्यरेखा कोरिदिन सकेको छैन।



No comments: