ढोँडे नाक
खुम्च्याउँदै गाडीबाट ओर्लेका मालिक
काखीबाट
बत्तासिएर उडेको
बिर्खेको
पसिनाको हावामा लतपत् भिजिरहेको छ।
फ्याक्ट्रिमा
पेलिएका चियाका निधारहरूमा
बिह्वल
बिर्खेका हातहरू जिन्दगीको पसिना पुछिरहन्छन्।
डल्लो
परेको रूमालमा चेप्टिएका
बिर्खेका
निधारका पसिनाको बिऊ
मालिकको
कालो अनुहारमा टलक्क मोतिजस्तै टल्किरहेको छ।
पहाडजस्ता
नाकका चुचुराबाट
जति ठेला
नउठेका औँलीहरूले पछारे पनि
जति हसिँया
पक्रिन नसकेका हातहरूले काटे पनि
बिर्खेका
निधारबाट पसिनाको मुहान सुक्न छाड्दैन।
पसिनासँग
बिर्खेको साइनो
उसको
मालिकसँगभन्दा कोसौँ टाडा छ।
माटोसँग
सरिर र हावासँग जिन्दगीको साइनो जति रहन्छ
पसिनासँगको
साइनोमा त्यत्ति बाटो उसले हिँडेको छ।
बिर्खेले
जवानीको खेतमा उमारेको बलको पसिना
र बैंसको
आगोमा उमारेको सपनाको पसिना
उसको
मालिकको चेतनाबाट फुटेको भोको मुख
र उसको
मालिकको ओँठले बुनेको गुलामीको बाँध कहिल्यै भरिँदैन। कहिल्यै रोकिँदैन।
बजारी
विज्ञापनमा पलैँटी कसेर चुस्की लिँदै गरेको मालिकको चित्र
बिर्खेका
आँखामा अडेसिएका सपनाको चस्माले निर्निमेष हेरिरहेको छ।
......थाप्ली भिरेका चेतनामा बिर्खेले सपनाको रङ्ग भरेर अर्को चित्र कोर्दैछ-
दुरूस्त, जहाँ ऊ मालिक देखिन्छ।
मालिक ऊ।
No comments:
Post a Comment