Friday, May 25, 2012

पसिनाको साइनो


ढोँडे नाक खुम्च्याउँदै गाडीबाट ओर्लेका मालिक
काखीबाट बत्तासिएर उडेको
बिर्खेको पसिनाको हावामा लतपत् भिजिरहेको छ।

फ्याक्ट्रिमा पेलिएका चियाका निधारहरूमा
बिह्वल बिर्खेका हातहरू जिन्दगीको पसिना पुछिरहन्छन्।

डल्लो परेको रूमालमा चेप्टिएका
बिर्खेका निधारका पसिनाको बिऊ
मालिकको कालो अनुहारमा टलक्क मोतिजस्तै टल्किरहेको छ।

पहाडजस्ता नाकका चुचुराबाट
जति ठेला नउठेका औँलीहरूले पछारे पनि
जति हसिँया पक्रिन नसकेका हातहरूले काटे पनि
बिर्खेका निधारबाट पसिनाको मुहान सुक्न छाड्दैन।

पसिनासँग बिर्खेको साइनो
उसको मालिकसँगभन्दा कोसौँ टाडा छ।
माटोसँग सरिर र हावासँग जिन्दगीको साइनो जति रहन्छ
पसिनासँगको साइनोमा त्यत्ति बाटो उसले हिँडेको छ।

बिर्खेले जवानीको खेतमा उमारेको बलको पसिना
र बैंसको आगोमा उमारेको सपनाको पसिना
उसको मालिकको चेतनाबाट फुटेको भोको मुख
र उसको मालिकको ओँठले बुनेको गुलामीको बाँध कहिल्यै भरिँदैन। कहिल्यै रोकिँदैन।

बजारी विज्ञापनमा पलैँटी कसेर चुस्की लिँदै गरेको मालिकको चित्र
बिर्खेका आँखामा अडेसिएका सपनाको चस्माले निर्निमेष हेरिरहेको छ।
......थाप्ली भिरेका चेतनामा बिर्खेले सपनाको रङ्ग भरेर अर्को चित्र कोर्दैछ-
    दुरूस्त, जहाँ ऊ मालिक देखिन्छ। मालिक ऊ।

मालिक-2


बाजेले कुर्कुच्चा पट् पट् फुटाएर हिँडेको चियाबारीभित्र
मेरो बाबुको जिन्दगीको ठेला ह्वास ह्वास् गनाउँछ
तर मैले त्यो बाटो मेरो हो भन्नै सकिनँ।

बज्यूले टोक्रीभरि बैंसको सपनाहरू
रहरका घुमले एक जुनी ढाकेर राखे पनि
मेरी आमाले अर्को सपनाको सुइटर बुन्नै पाइनन्।
त्यही सपनाको जोखना खुट्याएर
मैले त्यो सपना मेरो हो भन्नै पाइनँ।

पल्लो भित्तामा देखिएका चियाबारीका बुट्टाहरूबिच
एउटा सानो माटोको घर रहरलेजस्तै उभिएको छ
त्यसका भित्ता र धुरीसम्म क्यौँ सालदेखि सपनाहरू
तार्लुङ्तुर्लुङ झुण्डिएर म तिम्रै हुँ भनी अलापिरहेका छन्
तर त्यसलाई मैले मेरो सपना हो भन्नै पाइनँ।

मैले आफ्नै छात्तीभित्रको दुखिरहने मुटु
आफ्नो हो भन्नै पाइनँ।
के यो मुटु पनि तिम्रो हो मालिक ?












राजनीति


आश्वसनका झुठा मुखहरूबाट चुहिएर
रालहरूका गन्धले सिउरिएका
कुनै राजनैतिक झण्डा
मेरा हातले कदापि हावामा फर्फराएका छैनन्।
मगन्ते भाषणहरू
मेरा मनका चप्लेटी ढुङ्गामा कहल्यै अढिनसकेका छैनन्।
न कुनै नेतालाई देवताको अनुहारमा रूपान्तरित गर्न सकेको छु।
न उसको अघि पुजारीको नक्समा म आफै घुँडा टेक्न सकेको छु।

आजकल मेरा छेउमा उभिएका
भलादमी अनुहारहरूमा
मेरा यी बदनाम आँखाहरूले ?
राजनीतिका क्यौँ झुम्काहरू मात्र फूलिरहेका देख्छन्
उसको गालाका चेपबाट नचाहेर छिरेका
कपटीपनका मन्द मुस्कानहरू र
दाँतका फाँकाबाट चेप्टिएर जबरजस्ती तुहिएका
भलापनका शब्दहरूले
मेरा मनका पाटा भएर कहिल्यै मुटुमा
गाढे घाउको घर बनाउन सकेको छैन।
मेरा निधारको बाटो भएर कहिल्यै
जिन्दगीको भाग्यरेखा कोरिदिन सकेको छैन।



मालिक 1


मालिक !
म क्या त बलबहादुर
चिन्छौ ?

मालिकनीसँग तिमी मस्त भएर आएको दिन
पिक्सेल क्यामारामा मेरो बहादुर अनुहार खिँचेर लगेको थियौ नि !
हो, म त्यही बलबहादुर।

म तिमीलाई फोटोको पोज दिँदा दङ्ग भुँइमा लडेको थिएँ।
मालिकनीको ओँठभरि कस्तो चहकिलो हाँसो फुटेको थियो।
म रात्तै भएको थिएँ।
तिमी काले देखिएका थियौ।

मालिक !
पाखुराका मेरा जोबनका बलहरू
तिमीले कति महङ्गो गरि फ्याक्ट्रीमा पिसेका थियौ।

मालिक तिमी कहाँ छौ ?
मलाई फेरि एकपल्ट फोटो खिँचाउनु छ
मेरो बहादुर अनुहारको।

यसपल्ट मेरो पोजमा तिम्रो जिन्दगी हाँस्ने छैन।
यसपल्ट म रातो हुने छैन।
तिमी बरू रात्तै हुनेछौ मालिक।





सपना-2




सपना
ओछ्यानबाट उठेर सुदुर देशमा पुगेको छ।

दश्य एक-
कुन देशको रङ्ग हो त्यो
झोपडीभित्र काठको ओठ्यानमा कोल्टे परेका जिन्दगीलाई थाहा छैन।
त्यहाँ कुनै राष्ट्रीय झण्डा कुरूप भएर झुलिरहेको छैन।
छात्तीमा लाहुरेहरू आङ्गरक्षकको लेबल टाँसेर
सीमानामा कुनै बलात्कारको सुटिङ गरिरहेका छैनन्।
देशको ब्रेक छाडेर कुनै राष्ट्रपतिले
गाउँको छप्परमाथि गाडी कुदाईरहेका छैनन्।

दृश्य दुई-
दृश्य आँखाअघि फिल्मी पर्दा झैँ खस्छ
साना-साना गाउँहरू होलीको रङ्ग मस्त खेलिरहेका छन्।
नेता नै नभएको ठाउँ।
सबै मान्छे मात्रै।
पशुहरूको आफ्नै देश।

दृश्य तीन-
कोही श्रृगारिएर घोडामा राजकुमार भई चढिरहेका छैनन्।
कोही परीकथाको राजकुमारी भई पखेटा फिँजाइरहेका पनि छैनन्।
सबै शान्त। मधुर।
मुस्कानका एक डल्ला छाप मात्र।
रोमान्स नक्साभरि।

दृश्य चार-
त्यहाँ हामीजस्ता बलबहादुरहरू छैनन्
हामीजस्तै मैनाकी आमाहरू पनि छैनन्।
त्यहाँ कुनै बेश्यालयको प्लेट टाँगिएको कोठा छैन
जहाँ हामीजस्तै मनमायाहरूले दुःखका पोका ब्रा खोलेर देखाउनु पर्दछ।

दृश्य पाँच-
त्यहाँ हाम्रोजस्तो भत्किसकेका मक्किसकेका ओछ्यानहरू छैनन्
सुन्दर छन्। एकचित्त कल्पना।
जहाँबाट सपना चिहाउँदा
मेरी आमैहरूले प्रत्येक रात देखेकी सुन्दर सपनाहरूजस्तै
विहानीपख ओछ्यानबाट आफूसँगै झर्दैनन्।

सपना-1




मनभरि इच्छाको थैली बाँधेर बसेका आमैहरूलाई
छात्तीभरि झीरमा मासुजस्तै सपना सिउरेर बसेका बाबैहरूलाई
दसैँ-तिहारको रङ्गीन संसार कति रङ्गीन भो ?
पत्तै भएन।
बोनस सकिएको मात्र थाहा छ।
र अर्को बोनसमा जिन्दगीको एकपाटा सपना भर्नुलाई
चियाबारीमा बुट्टा भर्न कम्मर कसेर निस्केका छन्।

खै ! छोराले जाडो महिना र युग सुहाउँदो
कोट किन्न पाए कि पाएनन्
तर आमाको टोक्री भने कुहिनुको लागि कुलेसोमा घोप्टो परिरहेको छ।
बा-को कालो छाता करङ् निस्केर भित्तामा सुसाइड गरिरहेको छ।

रमाइलोको नाममा पटेका पड्काएर एक मुट्ठी हाँसेका अनुहारहरू
साइरनको आवाजमा लाठिएको साँप भएर हिँडिरहेका छन्- फेरि...
अन्तहीन फेरि.....।





पाठक हुँ!




चेतनामा विचारहरू डल्लो पारेर
मेरो कलिलो छात्तीमाथि थेचारी दिने तिमी मेरो अप्रिय कवि। अप्रिय लेखक।

आफ्नो स्वतन्त्र मृत्युको घोषणा पत्र
मेरो चेतनाको निधारमा टाँगेर
तिम्रो बाँझो अक्षरको मलामी बनाई दियौ।
तिम्रो अक्षरको बिऊ
तिम्रो कविताको खेती
तिम्रो आख्यानको माटो
र मेरो सपनाको पसिना बराबरा होइन।

टन्टालापुर घाममा
निधारबाट जिन्दगीको पसिना बगाउने म किसान होइन। श्रमिक होइन।
म पाठक हुँ। चेतनाको दाँतबाट पसिना चुहाउनु पर्ने मान्छे।

तिम्रा अक्षरहरूले कोरेका पीडाको नक्साभित्र
मेरो घरको चूल्हा भेटिँदैन
तिम्रा शब्दहरूले जोतेका खेतबारीमा
अहँ ! मेरो अनुहारको रङ्ग उम्रँदैन।

! कविज्यू। लेखकज्यू
म पाठक हुँ। सोझो जनताजस्तै
तिमी भावको राजनीति गर्ने कट्टर नेता।

सपनाको रङ्गीन घर र त्यसमा झुल्लिरहेका सुविधाहरू
तिम्रै हो। भोलि नै ल्याइदिन्छु भन्ने नेताको भाषण र
तिम्रा अक्षरहरूमा गुन्टा परेका सिद्धान्त एकै हुन्।

तिमी सिद्धान्तको पुच्छर पक्रेर कविताको खेती जोत्छौ। आख्यान राप्छौ।
जहाँ रामसाइली र बलबहादुरहरूका सपनाको बिऊले
भ्रान्तिमा उम्रेको अभिनय गर्छ।

तिम्रो अक्षरको बिऊले उमार्न खोजेको सामान्तवादको मानचित्रमा
मेरो अनुहार किन देख्दैनौ ?

चेतनाको ढकनी बन्द राखेर
बुद्धीवादी पाठकको अभिनय गरकोजस्तो लाग्छ तिमीलाई ?
पाठक हुँ। घोकन्ते बुद्धिबाबु होइन।
अक्षर पढ्न म पनि जान्दछु।


Monday, February 6, 2012

समाचार

छिः गाउँका आँखाहरू !
गाउँले आँखा नै नछोपिने कस्तो लाजको घुम्टो ओडेको छ।

बैंसका ज्वारभाटा उम्लिनुअघि
गाउँका नपुंसक हातहरू खेल्न थाल्छन्
मनमायाका कलिलो छात्तीमा।

कति नरम लाग्छ गाउँलाई
मनमायाको त्यो कलिलो छात्तीको स्पर्श
तर कठीन लाग्छ मनमायाको जीवन भएर बाँच्नु गाउँलाई।

गाउँले मनमायाको जीवन बाँचेकै छैन
न बाँच्नको लागि गाउँले निर्धक्क मनमायालेजस्तो छात्ती फुकाउन सक्छ।

एउटै पीडा र व्यवस्थाको संसार
मनमायालाई कति सानो लाग्छ
जब उसले गाउँको लोभी नजरहरू झ्यालभरि नाँचिरहेको देख्छ।

गाउँले हुरूक्कै खाइसकेको मनमायाका रहरहरू
कुनै अबोध सडकको कुनामा लडिरहेछ
गाउँकै अनुहार बोकेर।

मनमाया गाउँको लुच्छा हातबाट फुत्किएर शहर पसेकी छ।
उसलाई पत्यार लागेकै छैन यो शहरको गन्ध हो।
गाउँ पनि त यस्तै गन्हाउँथ्यो-उ सोँच्छे।

हेरूँ !  शहरको एउटा नदेखिएको जिन्दगी।

शहरभरि उडिरह्यो मनमायाका मनका आकांक्षाहरू।
पछ्याई रह्यो शहरका गिद्धे सोँचाईहरू।

गाउँबाट लुकाएर ल्याएका मनमायाका सपनाहरू
शहरका गल्ली-गल्ली भएर उत्तानो परिरह्यो।
आशाले बाँधेको उसको छात्ती तर कहिल्यै रित्तिएन।

समाचारः
जिन्दगी जितेर उसले एउटा मनमाया मारेको छ।
अहिले ऊ चुपचाप बसिरहेकी छ।
गाँउ हल्ला गरिरहेको छ।

स्वतन्त्रता

बिहानै गाउँको आँगनमा गाउँलेहरू
देशले स्वतन्त्रता पाएको नाममा बाँसको खाँबो गाड्न हस्याङपस्याङ गर्छन्
अशोक चक्र मुटुमै भिरेर तीन रङ्गको झण्डा फर्फराउँछ
गाउँको गीत, राष्ट्रिय गीतमा अब्डेड हुन्छ।

देशले, देशलाई छुट्टि घोषणा अघिबाटै गरिदिएको छ
तर जन गन मन गाएर गाउँ कान्लाबारी पस्नै पर्छ।

दिनभरि वीर सपुतहरूको चलचित्र हेरेर
गाउँमा निस्तब्ध छाउँछ
टाउको र छात्ती बम-बारूदका छेस्कामा उनिएको दृश्यमा
देशले स्वतन्त्रता मनाउँछ।

प्रत्येक वर्ष देशले स्वतन्त्रताको डकार फ्याँक्दै देखाएको विज्ञापनमा
छात्ती पिट्दै गरेको आफ्नो अनुहार नदेख्दा
गाउँ सुकिसकेका सम्झानाका आँसुहरू सोसाएर ओछ्यान पस्छ।
देश, त्यहीँबाट इन्कम ट्याक्सको बाटो हिँड्छ।

देश बनाम त्यो काले केटा

ए ! मेरो देश
मैले यसरी सम्बोधनको फूल तिमीलाई चढाएँ !!

म तिम्रो दरसन्तान भई बाँचेको हुँला
जीवन भाग्य तिम्रो मै कोर्छु भनी बाँचेको हुँला
तर जति-जति हेर्छु तिमीलाई मेरो वर्तमाने आँखाले
उति-उति साँच्चै तिमीलाई माया म गर्नै सक्तिनँ।

मैले बाँचेर हिँडेका तिम्रा मुटुका ढिस्कानाहरू
दिनहुँको दरिद्रताको भाइरसले मक्किसकेका छन्
दरिद्रताको रगत लाएर झरिलो देखिएका तिम्रा फोक्से गालाभन्दा
फुटेका प्लास्टिकमा नाङ्गो जीवन बोकेर
सचिनले शतक घुमाउँदा रङ्गीन झण्डा बोकेर
खाली खुट्टै हाफ्प्यान्टमा कुद्ने त्यो काले केटाको गाला नरम लाग्छ।

तिमीले संविधानको एउटा कुन्नि कस्तो सिस्टम बनायौ
मलाई त्यसले छात्ती ठोकेर हिँड्नै दिदैनँ !
त्यसको विरोधमा मैले मोर्चा खोल्नै पाउँदिनँ
नारा हल्लाको लाउनै सक्दिनँ।
बरू ! मै पट्टि फर्किएर दिशा गर्ने खेतबारीबिचका त्यो केटोलाई देख्छु
तिम्रो संविधान त्यत्तिबेला
त्यसको गालाभरि लाज पचाएर हाँसिरहेको हुन्छ।

खेतबारी-खेतबारीबिचका झोपडीहरूले
गोबरका डल्ला बालेर उसिनेका दरिद्रताको झोल
तिमीले देखाएको घमण्डको टाउकोबाट
शिवलिङ्गमा दुध घोप्टाएको झैँ विहान-विहान घोप्टाउनु पाए
त्यो नाङ्गै कुद्ने केटोहरूलाई कति मज्जा आउँथ्यो होला हगी ।।

ए ! मेरो देश
जाऊ तिमी तिम्रो खोक्रे संविधानको झोला भिरेर त्यो आदिमबस्ती
जहाँ अप्डेड गराउने थुप्रै काँचो अनुहारहरू पाउनेछौ
लैजाऊ छर्न तिम्रा अर्थशास्त्रका मुटुहरू
फलोस् बरू कुहिएका आलुहरूका सट्टा एउटा जीवन
जसले फेरि तिम्रो कचल्टिएको भाग्य रेखा कोरोस्
छामी हेर तिम्रो विकासको हातले त्यसका मुटुहरू
साँच्चै तिम्रा मुटुका स्पन्दनहरू पनि हुरूक्क दुख्नेछन्।
तिमीले त्यत्तिबेला आफ्नो कुहिएको प्रतिबम्ब पक्कै देख्नेछौ।।

अनुहारका रङ्ग

पीडा र व्याथाको पाउडर धसेर
बाटोभरि लथालिङ्ग हिँडिरहेका अनुहारहरूले
लाग्छ देशको एउटा मानचित्र कोरिरहेछन् -हरदिन। 
त्यो मानचित्र  
जहाँ, उसको आफ्नो कचल्टिएको अनुहारको नक्सासमेत पाइँदैन।  


निधार र गालाका पाटामा फुलिसकेका बैँसका रेखाहरू 
कुन युगदेखि बोकेर हिँडेका हुन् अनुहारहरूले
सायद त्यो गल्ली हिँडीरहने भिखारीसमेतलाई थाहा छैन। 
सायद उसलाई देख्दा भुकिरहने कुकुरसमेतलाई थाहा छैन। 


कुमको डीलमा जिन्दगीको एउटा थोत्रे नाम्लो भिरेर  
अर्काको इच्छाको भारि टाउकोमा बोकेर हिँड्दा देखिने अनुहारहरू  
कति शान्त छन् आफ्नो छिप्पिएको टाउको खियाउनलाई। 
तर त्यो शान्त अनुहारभित्र  
कति रहर र सपनाका त्यान्द्रा गुजुल्टिएका छन्  
त्यो बिहानको भुकभुके उज्यालोमा  
स्वाधीन बिडी मुखमा चेपर टोपी मिलाउँदै कुद्ने कान्छालाई सोधे पुग्छ। 


स्वाधीनता र अधिकारका झण्डा बोकेर कुदेका अनुहारहरू 
अघिपट्टि डाइस बक्समा उभिएका  
नेताको अनुहारमा आफ्नो प्रतिबिम्ब खोज्छन्। 
जुन अनुहार पार्लर चिहाएर चिल्ला भएका छन्। 
जहाँ धुलो र पसिनाले लत्पतिएको अनुहारको छाँया प्रतिबिम्बित हुँदैहुँदेन।
जहाँ बैसँको डन्डीफोर पाक्न लागेको युगबोधको छाँया प्रतिबिम्बित हुँदैहुँदैन। 


अशान्तीले झोलिएका अनुहारहरू  
सरिरभरि रक्सीको पर्फ्यूम छरेर गाउँको चोरबाटोमा 
मूल बाटोको एउटा आत्मकथा सुनाउँदै हिँड्छन् 
जुन कथामा कुसंस्कारको लामो लेघ्रामा गीत गाइएको छ 
जुन कथामा खस्रो अनुहारको चित्तदुख्दो अनुभूति छापिएको छ 
जुन कथामा गाउँको मानचित्र अनुहार-अनुहारको रङ्गले कोरिएको छ।

जुन मानचित्रमा, 
त्यही अनुहारको रङ्ग र आकारमा सूर्यास्त भएको सङ्केत मिल्छ।




शब्दचित्र

कवि हो तपाई ?
मेरो जीवनवृत्तिको एउटा कविताचित्र कोरिदिनु होस् त !

कुन वाद र वृत्तिको रङ्ग पक्रेर कोर्नुहुन्छ-कोरिदिनु होस्
कुन भाव रसमा मत्थुनी बनाएर डुबाउनुहुन्छ-डुबाइदिनु होस्
तर म बाँचेकी हुनुपर्छ मभित्र !
तपाईको कविताको शब्दभित्र !!

मनोलिजाको उपमा दिएर सजाउनुहोस् कि
सकम्बरीजस्तै मनोग्रन्थीकी शिकार,
प्रौन नक्कलीहरू सामु उभ्याइदिनु होस् कि तेर्साइदिनु होस्
म त्यसमा वेवास्ता छु।

गाउँको एउटा थोत्रे कोठामा जन्मिएकी म-नाङ्गै
गरिबीका सपनाहरू लुतु सरे झैँ भो मेरो नाङ्गो आङमा
मैले झार्नै सकिनँ त्यसलाई
गाउँको अन्धो बग्ने पानीले।
सुत्नै सकिनँ त्यो ओछ्यानहरूमा एक रात-अर्को रात
जहाँबाट ठ्वाँस्वा गन्ध आउँद्थ्यो-कुकुरहरूको।

कविज्यू, तपाई भन्ठान्नु होला
यी कस्ती केटी रहिछे-यस्ता असुहाउँदो कुरा लेखिमाग्ने
हो त, किन अपच हुन्छ र यस्ता कुरा ?
निश्चिन्त रहनु होला, किनभने
कोही छैन यहाँ मलाई नाङ्गो हेर्नुमा आँखाको परेली खुम्च्याउने
कोही छैन यहाँ आफूलाई नाङ्गै हेर्नुमा आँखाको परेली लुकाउने।

‘पवित्र’-को नेमप्लेट टाँसेर हिँडेकी सकम्बरी
व्यर्थै किन मुर्झिएकी होली ? नाथे सुयोगवीरको एक चुम्बनले
अचम्म लाग्छ कविज्यू !
बेश्याकै तक्मा छात्तीभित्र उनेर हिँडेकी म भने
अझै मरेकी छैन। अझै झुत्त्रिएकी छैन।
र कहिल्यै मर्ने छुइनँ।

भन्नु होस् कविज्यू- के यहाँ, कोही पवित्र छन् ?
म छैन भन्छु।
मनोलिजा, सकम्बरी, द्रोपदी होस् या सीता
सबैले आफ्नो कुमारीत्त्व हरेक बिहान जलस्नानसँगै गुमाएको छ
जहाँ वरूण, जल देवता भएर बाथरूम पस्छ।
जहाँ कुमारीत्त्वको सरिर छोएर उ तरल तरल बग्छ।

कविज्यू !
तपाईका यी कवितामा प्रतिबिम्बित मेरा नाङ्गो चित्रले
यसलाई अश्लील कविताको लेबल टाँसिदेला !
तपाईलाई फ्रायड, कोइराला, धराबासीको पुच्छरे भनिदेला !
किन्चित, हतोत्साही भइनदिनु होला
किनभने तपाईको साहित्य मजस्तै नाङ्गो छ।
कसैका आँखाले त्यसलाई मजस्तै बेश्या देख्लान्
कसैका आँखाले सकम्बरीजस्तै मनोग्रन्थिको शिकार देख्लान्
कसैका आँखाले सद्धे सीता।

हो, यसलाई आँखाका चेपबाट तर्किएका विचारदृष्टि भन्ला।
जो, दुरूस्त मजस्तै छ।

कविज्यू ! के सोँच्नु भाको
कोर्नु होस् न अझैँ !
खै ! मेरा चखिला चित्र अझै कोरिएको छैन।
मलाई एब्स्ट्रयाक्ट आर्टमा नउतार्नु होस् न
देख्न सकुन् सबैले मेरो सर्वस्व नाङ्गो चित्र।

बुढा र टोक्री

पुच्छर गाउँका शेर्पा बुढा पिरामा बसेर
जिन्दगीको रहर र सपना बाँसको केस्रामा बुन्छन्।
गाउँलेलाई ढाँटमा फाटेको सट पक्डाएर
उसको नाति गिद्रामा जीवनको गाँडी कुदाउँछ।

बुढाका रहर र सपनाले बुनिएको टोक्रीमा
मालिकका मुखबाट तुहिएका राल धरि अडिँदैनन्।

कति सस्तो छ शेर्पा बुढाका रहर र सपनाको मूल्य ?
सयकडाको हिसाबमा तौल घरमा
त्यसको निलामीको प्रदर्शनी चल्छ।

निलामीमा जितेका
शेर्पा बुढाका रहर र सपनाले श्रृङ्गारिएका टोक्रीमा
गाउँका ठीटिहरू एकहूल भएर
शेर्पा बुढाका सङ्गीले खनिराखेका खाडलमा
घरका गालामा लाली पोत्न रातो माटो भर्न जान्छन्।

त्यसै टोक्रीमा मेरी आमा मेरो भाग्यको सपना बुन्छिन्।
त्यसै टोक्रीमा मेरा बाबु भाग्यको डाइस छोप्छन्।
र फेरि त्यसै शेर्पा बुढाले बुनेको टोक्रीमा
चियाबारीका गीत गुञ्जि रहन्छ-अनवरत।

त्यसपछि बुढाको सपना र रहर कहिल्यै पूरा हुने छैन।
त्यसपछि नातिले कहिल्यै गिद्रामा जीवनका गाडी गुडाउने छैन।
गाउँका ठीटिहरूले कहिल्यै घरमा लाली पोत्न पोउने छैन।
त्यो दिनदेखि, जुन दिन त्यही टोक्रीमा बुढाका मलामीहरू
चियाबारीबाट सिरिषको दाउरा बोकेर जिन्दगीको सुसेली फेर्छन्।

Tuesday, November 8, 2011

भाषण



दक्षिणतिर हुत्तिर
रोडा-ढुङ्गासँग अँङ्गालो भिरेर बगेको पानीले
गाउँको बाटोको टाउको चटक्क चिण्डे बनाएको छ।
भाषण दिने मान्छे
ऋषिकेशमा माउथ स्पीकरअघि उभिएको छ।

स्पीसियल पानीको नाला बनिने स्किम
उसको मुखबाट तरल चुहिँदैछ- रालजस्तै।
बजेटको मुटु पक्रेर उ
धामी बन्दैछ।

रातको उज्यालोमा
बाजेले आफ्नो अनुहारको रङ्ग सायद कहिल्यै देखेनन्।
बजूले सायद कहिल्यै आफ्नो सौन्दर्य देखिनन्।
त्यही गाउँको छप्परमा बिजुली बत्तीले
उज्यालोको झण्डा गाड्न नपाएको कति भइसक्यो।
सायद, कति युग।
बस्! त्यही गाउँको छप्परमा
बस्! त्यही गाउँको छात्तीमा हरेक साल भाषणमा बत्ती बल्छ।





















शब्दचित्रमा अर्को गाउँ



गाउँमा पस्छु..
जाम्मिएर थोत्रे भइसकेका सम्झानाको पोका बोकेर।
गाउँका सीमानाछेउदेखि भुक्ने कुकुरहरूको लामेताँत देख्छु।
तर त्रासको एक सिन्काले कुचेल्दैन मन।
थाहा भएकै छ-भुक्ने कुकुरले टोक्ने होइन।

गाउँमा हिँड्छु..
तलमाथि/ माथितल
यताउति/जताततै...
किनभने गाउँको माटोले मेरो गन्धमा कहिले थुकेको छैन।
किनभने मैले गाउँको माटो खाएर वान्ता कहिल्यै गरिया छैन।
तर यहाँ, सन्त्रासको बिऊ आफै उम्रन्छ।
हिँडेका मेरा पाइलाछापका माटो टिपेर गाउँमा मेरो वनवास फलाक्छ।

गाउँमा बस्छु...
शान्तिको सुसेली जुरेली झैँ फलाक्न सकिन्छ कि-ठानेर
तर चिलाउनेको स्याउलो हिर्काउने धामीहरू
घरैपिच्छे मेरो नाममा फलाक्ने गर्छन्।

जोखाना खुटिन्छ...
सत्य-सत्य सेतो चामलको टुक्रामा।
आर्शिवाद पाउँछन्-मेरा दोतरीहरू, कुन्नि कस-कसले
मन कुटुक्क दुख्नेगरि।

मैले देखेको गाउँ
मैले पचाएको ठाउँ- उस्तै उस्तै नहोला।
होला पनि।
तर गाउँको मानसिकता सिस्नुको भर्याङ्ग उक्लेर कहाँ पुगेको छ कुन्नि !

त्यसैले हिजाज म..गाउँमा सुटुक्क पस्छु..
मेरा बोलिहरू, शब्दहरू घाँटीमा घण्टी नझुण्डाई हिँड्छन्।
हातहरू नमस्कारको चुचुरा बनाउँनअघि सुत्न पुग्छन्।
आँखाहरू डाह-आह्रिशका रानीमासु हेर्नअघि झयाप्प निभ्छन्।

र पनि..घुम्ती-घुम्तीमा लम्की थाप्न
मेरा खुट्टाका नसा पर्खेर बसेकाहरूलाई
मन लाग्छ-एक सेलुट, हुत्तिहाराको मारिदिउँ कि !
हर थोकमा काखी च्यापिएर उम्रिएका रौँ-हरू
र हरएक पल काखीका रौँ जन्माउन खप्पिस भएका शिवहरूलाई
मन लाग्छ-गणेशका सूँढ उपहार दिउँ कि !

यसैमा बुद्धिकुबुद्धिको घमासान युद्ध भइरहन्छ-दिमागमा                             त्यतिबेला मेरा जिन्दगीमाथि आह्रिस गर्ने                                              सर्वस्व आँखा र कानहरूलाई च्यातिदिऊँ लाग्छ।
तर, फेरि के हुन्छ र है ?
आँखा र कान भएका पशुहरू फेरि दर्शक हुन आउनै पर्छ।

इच्छा अनि मृत्यु



इच्छाहरू आँखाभरि सिउरेर एक हूल कुकुरहरू
जिन्दगीको स्वादिलो रङ्ग
र जिन्दगीको अन्तिम रङ्ग हेर्नलाई
मत्युको पखेटा फिँजाउन तयार भई उभिएका छन्
एक लाम्टा मासुको अघिल्तिर।

राले इच्छाहरू त्यसको गिजाबाट नअडिएर
दाँतका फाकाबाट तरल तरल चुहिँदो हो।
त्यही रालमा कति सपनाहरू लाब्रे झैँ टाँसिएर बस्दो हो।
त्यही रालमा कति सपनाहरू झरेर ऐना झैँ टुक्रिँदो हो।
तर उसको इच्छा, सपना अनि बैँस
एक पलको सुखमा अडिएको छ।

मान्छेहरूकै आङमा मात्र छाउँछ  दसैँ ?
दसैँ आएर पनि किन आउँदैन त्यसको छात्तीमा ?
बस् ! दसैँ !
दशा भएर आइदिएको छ त्यसको निधारमा।

जन्मभूमि किन खोज्दैनन् यी अबोध ? कुकुरहरू ?
स्वतन्त्रता र अस्तित्त्वको किन ढ्याङग्रो ठटाउँदैन यी कुकुरहरू ?
मात्र, अधिकारको मुनाफा कमाउँछ
एक लाम्टा मासुमा पोँतिएको एक थोपा विष।

मासुको स्वाद चाख्न पाउनुको सपनामा
जीवनको एक चोइटा इच्छा कतै पूर्ण हुँदो हो-त्यसको।
त्यसलाई के थाहा तर
एक चोक्टा लाम्टा मासुमा
जिनदगीको सपना वेरङ्ग हुनेछ।

त्यसमा यदि,
चेतनाको गर्भ पट्पटी फुटेर
विवेकशीलताको एक दाना फूल फक्रिँदो हो त
अज्ञानताको हिमाल चढेर मृत्युशैयामा
शोकको झण्डा किन गाड्न परथ्यो र !


मीठो इच्छाहरू कति अमिलो भइदिएको छ
त्यसको अर्धाङ्गिनीलाई।
दसैँ र तिहार फनफनी घुम्ने अभिलाषाहरू
त्यसको सन्तानलाई कति तितो भइदिएको छ।
थाहा छ महाशयज्यू ?

तपाईको विवेकले उमालेको एक थोपा विष
अनि तपाईको जनसंख्या आबादीमाथिको प्रतिबन्धको एक घुट्को नीति।
जय होस् !
जय होस्- इच्छा
जय होस्- सपना
ती अबोधहरूको !

पुल


उज्जव दियो झैँ जिन्दगीको आर्शिवाद
निधारभरि दसैँमा टाँसेर हिँडेका बसुधैवहरूलाई
यो जुनीको वैतर्णी तर्नुभन्दा गाह्रो
त्यो झुलुङ्गे पुल तर्नु भइदिएको छ।

जन्मदिनको महाउत्सोवमा कोख्रोबाट संसार चिहाएकाहरू
जिन्दगीको रङ्गीन सपनाको जालो बुन्नै पाएनन्!

बुढो रूख!
छात्तीबाट उम्रिएका जिन्दगीको बैशाखी
रहरले टेक्नै पाएनन्!

आमाका मनहरू झरेर रगतका फाल्सा बग्छन्
आत्माशान्तिको रङ्ग लिपेर सुदुर देशसम्म।

मुटुहरू/भावहरू
ओँठमा कठै बरा!- को पुल्ठो बालेर गाउँ घुम्दैछन्
तर, गाउँमा तिहारको दियो जलेकै छैन।

हो!
जिन्दगीको लासबाट मन कुडाएर कुदेका धुँवाहरू
गाउँको मनलाई अङ्गालो हाल्नै सकेको छैन।

जिन्दगीको एक पावा हिउँदो हिँडेका छोराहरूको
रङ्गीन सपनाले पोतिएको जोबन
फक्रिएको हेर्नलाई
कुरीरहेका मनका आँखाहरू
बक्र, चोइटिएको पुलको चित्र मात्र देख्छन्।

गाउँ-बस्तीका ओछ्यानबाट
जङ्गलको शुन्यतामा समाधिस्त बन्न पुगेका सरिरहरू
कुन मनको आँखाले हेर्दा हुन्-
आफूअघि हिँडिरहेका गाउँका अनुहारहरू?
अतः
कुन मनका आँखाले चिहाउँदा हुन् गाउँका अनुहार- उसहरूलाई ?
कुन सम्वेदनाका फूलहरू चढाउँदा हुन् गाउँले-उसहरूलाई ?

यी कविता बिजनबारीको पुलमा अमृत्यु मर्ने र उनका परिवारहरूलाई समर्पित।

Wednesday, September 28, 2011

बोनस र दशैँ



गुजुल्टाएर राखेका सपनाका थाङ्नाहरू
भिजारए राखेका कट्मेरो इच्छाका फ्याप्ल्याँटाहरू
वर्षौदेखि यता सुकाउनुलाई
दशैँको मस्त घाम पर्खिरहेको छ गाउँ।

घ्वार् घ्वार् पानीले दिनरात चुटेका थाप्लोहरू
पसिनाको रसले एकपलमा कति सुक्छ हँ ?
ह्वार् ह्वारती तिर्खाएका गलाका त्यन्द्राहरू
पसिनाको रसले एकपल कति रसाउँछ हँ ?
प्रश्नहरू चियाबारीका बुट्टा बुट्टा फलिरहेका छन्।

वर्षौभरि हुत्तिहाराको पगरी लाएर
चियाबारीमा बोनसका लागि जुलुस हिँडेकाहरूलाई
बाजे-बराजुको वीरताको कथा! लोककथा भइदिएको छ।

प्रतिशतको लडाँइबाट तुहिएका बोनसका अनुहार
खुशीको रङ्गले जति नै टल्काउने कोसिस गरे पनि
गर्भमा हुँदी जति नै धामी-झाँक्रीले स्वथ्य कामना गरे पनि
कहिले त्यसको जन्म रूपवान र बलवानका रूपमा भएको छैन।
बस् !
एकमाना सुख मासुको रसमा चोबेर चट्ट खान
र, बस् ! एक औँली दुःख घुटुक्क निल्न पाए
गाउँलाई मीठो रूच्छ।

गाउँमा अहिले थाप्लीले पिल्छिएका थाप्लोहरूमा
उख्खरमाउलो दशैँको घाम टल्किरहेको छ।
तर, मनको कान्लामा उम्रिएका रहरका पालुवाहरू
आँखाको डीलमा अडेसिएर बसेका सपनाहरू
जीवनको घुम्तीमा कुरिरहेका इच्छाहरू
बोनस पाउने आशामा बुढो बाजे जस्तै कुप्रिरहेका छन्।
बाजेको सङ्गीनी भएर झुक्रिरहेका छन्।
बाजेको छोरो भएर लट्टिरहेका छन्।


Friday, September 2, 2011

रेखाहरू

छात्तिमा जमानाको एक थप्पड हिर्काएर
इच्छालाई संसार घुमाउन
स्वतन्त्रताको युद्ध घोषणा गर्दै हिँडेका रेखाहरू
जिन्दगीको एब्स्ट्रयाक्ट रेखा ठिम्याउनअघि
दैनिक खबरकागजको छात्तीमा बेश्याका तक्मा बन्छन्।

एक थुङ्गा सपना सिउरेर सम्पूर्णता प्राप्त गर्न
कर्तव्यको ढोल पिट्दै हिँडेका रेखाहरू
खस्रो जिन्दगीको विज्ञापन कोट्याउनअघि
इन्टरनेटको कालो बजारमा चिच्याउँदै हिरोइन बन्छन्।

छात्ती फुक्काएर दिल्ली नगर हिँडेका रेखाहरू
गाउँमा छोडिएको आफ्ना प्रतिछाँया
बिर्सिँदो हो कि !
गाउँका हितैषीलाई शहरको गीत सुनाउँछन्।

गाउँमा आजकल भाले नबासी
मोबाइलमा इन्टरनेट बास्छ । इन्टरनेटमा रेखा।
र गाउँमा दुरूस्त सरल देखिने रेखाहरू
अन्जान कोठामा जिन्दगीको बक्ररेखा कोर्छन्।

Tuesday, August 23, 2011

कथा


घ्वार् घ्वार् पानी पर्दैथ्यो
मीठो निन्द्रा चिसो पारेर।
झरीमा नजाऊ भने बोनस् घट्छ ख्वाप्पै !
उठ्यो बाबु।

सिरानीमा लिप्पिएका आमाका कानले पनि
आँगनमा रगटिएको हँसियाको स्याँइ स्याँइ सुन्दैथ्यो।

बुढोलाई आज के भएछ हँ ?
मनभित्रै सोँचेर उठिन् आमा।

फिक्का एक मग चिया सासमै रित्याएर
बाबु हिँड्यो-विघा, ठिका-यतितिर।

बिहानीको विघा
दिनको ठिकाको समय सकिँदासम्म
गोरूलाई बेलुकीको एक छाक घाँस पनि ल्याउँछु भनेर
बर्सातीसँगै हसिँया र नाम्लो बोकेर हिँडेको बाबु
फर्किएको थिएन।

हल्ला भयो। भीड भयो।
आँखा खोलेर हेर्नथाल्यो।

आमाको आँखाले हेर्दा
पारि चियाबारीको भित्तामा
सिरिषको फूल जस्तो देखिन्थ्यो-बाबु।