Tuesday, November 2, 2010

मूल्य वर्तमानको

मूल्य बढेको छ हरियो पातको
चक्रव्यूह बजेटको घुम्दैछ बिस्तारसँग
रोटे पिङ्गमा चढेकाहरू
मन्द गतिको बेगसँगै सास लिँदैछन्
निस्सासिएको जस्तै घुटुक-घुटुक।

राजनीति, अर्थनीतिको मच्चाईमा
गाउँलेहरू
झोला भिरेर काँधमा माथि पुगेको अभिनय गर्छन्
तर पुग्नै सकेका छैनन्
आफ्नो मस्तिष्कको बाँसे बिल्डिङमा।

आत्महत्या गर्‍यो रे 'कमाने' राईले
झण्डाहरू फर्फरिन्छ
रात्तै, हरियै
तर, फर्फराउने झोँका हावाको त मस्त छ
गर्मी देशका मच्छरलाई शीतल दिन।
उपभोक्ता 'उ' त्यो मान्छे
मान्छे हुन सकेको हो र..
हो..मान्छे भनेको यस्तै हुन्छ ?
मलाई के थाहा
मान्छेलाई मान्छेले आत्महत्या गर्न नाङ्गो बनाउछ भनेर।

ए हो..?
थाहा भो ल अब
मूल्य खुद्रा समानको त बढेको रहेछ
मान्छेको मूल्य भनेको एउटा डोरी त रहेछ ।

Monday, September 27, 2010

तिमी ( 20 गस्त 2009 को भाषा मान्यता दिवसमा पठन गरिएको कविता)

आज तिमी जन्मिएकीदेखि
बाँचेर आएका यतिका दिनसम्म
न ढुक्कले बस्न सकेकी छौ
न कि बस्न दिएकी छौ हामीलाई।

थाहा छ
संविधानमा अन्तर्भुक्त हुँदी
हाम्रो हिताधिकारको कानून बनेँ झैँ
तिम्रो अस्तित्त्व, मर्यादाले
हामी जस्तै मान्छेहरूले पनि
तिमी हुनुको कदर गरेको थियो।

त्यस समय तिमी
यौनावस्थामा फूलेकी गुलाब झैँ
प्रेमी प्रेमिकाको प्रतिक बनेर
सारा देशभरि
सुगन्ध र महिमा फिँजाउँदै हिँडिदियौ
निर्धक्क।

प्रताडित, लाञ्छित
विदेशीको उपमाले ऱङ्गिएका हामीहरको तिमी
एउटा आधार थियौ
जन्म जन्मान्तरसम्मको तागत थियौ
आँट थियौ
भरोसा थियौ
तर अहिले तिम्रो जन्मचिन्हमा
प्रश्न चिन्ह तेर्सिएको छ
ढुङ्गा-मुढाको झटारो हानिँदैछ
तिमी के गर्न सक्छ्यौ अबला भएर
ढुङ्गा-मुढा गर्ने तिमीलाई
आमरा बङ्गाली होइन
न कुनै वामपन्थी।

तिमीलाई परिचय दिलाउनेहरूका
सन्तति हामीहरू
बाबुले रोपेको खेतबारीमा
न राप्नै सक्दैनौ कि केही
या त रोप्नै पो चाहँदैनौ कि केही।

हैसियत, तागत भन्ने थोक नभएर होइन
हामी परम्परा विरोधी छौँ
परम्परित जीवन बँचाईमा
हिँडनै सक्दैनौ हामी
बाँच्नै जान्दैनौ हामी
हामी कम्प्युटर शताब्दीको मान्छे
हामीहरूको आफ्नै सिद्धान्त छ
संसार छ
र छ एड्भान्सको लेप।

तिमी मान्छौ कि मान्दैनौ
तर तिमीलाई फ्याँक्दै छ आज
जलाउँदैछ
खुट्टा भाँचि दिँदैछ
सत्यता र शुद्धताको
घुम्टो अढेर नहिँडे पनि भो तिमी
किनभने
तिमीमाथि
अशुद्धता र अस्पष्टको
दोषारोपण हुँदैछ
कलङ्क लाग्दैछ।

त्यसैले तिम्रो बैशाखी बन्न आएका
एड्भान्स भन्नेहरू
तिमीलाई बोकेर हिँड्न लाज मान्छन् कि।

Friday, September 24, 2010

.. हरू !

मुटुमा
गाडे घाउ भएर भिजेका
पहेंलो पीपले
आदर्शतालाई रङ्गहीन बनाएको छ।

कुप्रो मान्छेहरूका शहर-बस्तीमा
कम्प्युटर
परालको आगो जस्तै
हुर-हुर बल्दै
झयाप्पै निभ्दैछ।

साइली र माइली-हरू
हिमालको चुचुरामा
रङ्गहीन झण्डा गाड्न
हस्याङपस्याङ गर्दैछन्।

कान्छी-हरू
देश चलाउने धुनमा
परिबन्धको डोरीमा बाँधिएर
गोसखानमा
लाम् लागिरहेका छन्।

कुन्नि………….!
कञ्चनजङघामा उदाएको सूर्यले
हिमाल पग्लिँदैछ।

साइला र माइला-हरू
किनारीकृत
रोडा-ढुङ्गा जस्तै भएका छन्।

कान्छा-हरू
साङ्लीमा बाँधिएर
भूसस्याहा कुकुर जस्तै
फनफनी चेप चहारीमा छन्।

जेठा-जेठी-हरू
कोठामा………
क्रमशः
ब्लुतुथको अदृश्य सङ्केतमा
एम एम एसको
विश्वबजारमा
झाँगिदै
अझ मौलाउँदै गईरहेका छन् ।

Thursday, September 23, 2010

विद्रोह

चेतनाले कुन्नि कतातिर
डोर्‍याएपछि
अहिंसावादको
मानवतावादको
अस्तित्त्ववादको नाममा
सिकाउँछन् महापण्डितहरू
विद्रोह गर्न।

विद्रोह पण्डितहरूको
विद्रोह धुपाउरेहरूको
विद्रोह सचेत मानसिकताहरूको
विद्रोह अर्धसचेत झोपडीहरूको
..गर्नु पर्ने रहर।

बहाल शान्तिको नाममा उडेर
विद्रोहकै घरभित्र पस्छ।
ठटाउँछ घरहरू
भित्ताहरू
चर्किएको कान तर पनि
विद्रोह गर्नै मन पराउँछ।

विद्रोह गालाभरि लाली दलेर  मस्किन्छ सडकतिर
'हावा'-तिर
लक्ष्यको पगरी लाएर विद्रोह
आफ्नै घरभित्र अपरिचित बन्छ।

विद्रोहको खुल्ला खेस्रा-पत्र फ्याँक्छ
अखबारले विद्रोहकै बेढोँ थाम्छ
ओख्लीले मुस्लीको दुखाई थामेको जस्तो।


तर विद्रोह गाउँका झोपडीहरूले
पाइखाना पुछेर फालिदिन्छन्
किनभने फेरि विद्रोह
भोलिको लागि अर्कै आउँछ
विहानको अखबारसँगै।

Monday, September 20, 2010

फेरि दार्जिलिङकै कुरा

हिजदेखि दल परिवर्तन गर्ने खेल खेल्न थालेका छन् सबै दलका खेलाडीहरू। एउटा अर्को दलमा ,अर्को फेरि अर्को दलामा। आफ्नो दलका झण्डा दिएर जण्डाहरूले अझै जण्डाहरूलाई खदार्पण गरिरहेको छ। अनि स्वागत गर्ने दलकै माहीर राजनेताहरूले दल परिवर्तन गरेर घर पस्ने बाटो खोलेका हुन् भनेर भाषण पनि छाँट्दैछन्। अर्को दलकाहरूलाई आफ्नो दलमा समावेश गर्न पाउँदा खुशीले उचालिनु अनि आफ्ना दलका विपक्षी दलमा सामेल हुन जाँदा विपक्षीको ढयाङ्ग्रो बजाउन खोज्नु नै मात्र जानेका रहेछन् हाम्रा अगुवाहरूले भन्ने प्रतित हुँदछ। आफ्ना दलका सचेत र चँखोहरू अर्को दलमा थोप्रेको समाचारले दलका श्रेष्ठ कहलाइएकाहरू  अहिले सम्म विपक्षी दलहरूले के गर्‍यो भनी खाल्डो खोल्न जुरिहाल्छ। दार्जिलिङलाई त राजनीति नफापेको हो भन्नु कि पाएर राजनीति गर्न नजानेको भन्नु। अचम्मै छ राजनीति दार्जिलिङको। राजनीतिको परिभाषासम्म नजानेकाहरूले हैकमवादको आधारमा राजनीति सफल भएको ठान्छ। फेरि हैकमवाद घरका बाबुले परिवारभित्र चलाएको जस्तो मात्र छ। घरदेखि बाहिर गएर त्यो हैकमवादको ढवाङ पिट्न त मरिहत्ते सक्ने होइन। अनि घरमा हैकमवाद चलाएर जहान-परिवारलाई मात्र तर्साएर के नै पो सप्रिन्छ र। आफ्नो सत्तामा सबै क्षमता आयो भने झन के हुने हो। अरूले त ज्यु ज्यु गर्नु बाहेक के रहन्छ र विकल्प। गोरामुमोले के गर्‍यो त्यो आज सोधी हिँड्ने प्रश्नै होइन। आफूहरूले के गर्छौँ त्यसको उत्तर दिने हो समय तर भाषणमा मात्र होइन। भाषण त जो कसैले जसरी पनि गर्न सक्छ। तर भाषणकै आडमा राजनीति गरेर हुँदैन। कर्मले, व्यवहारले राजनीति गरेको हुनपर्छ। गोरामुमोले 15 हजार एडहक नियुक्ति गर्‍यो। अहिले उनीहरू मात्र सबैभन्दा तल्लो दर्जाको गरीब जस्तो ठान्दै छन्। तर जो कोही साँच्चै गरीव र बेरोजगार छ उसको समस्याको समाधानतिर पहल कसले गरेको छ। डर छ ती एडहकहरूलाई यदि प्राधिकरण हुनअघि उनीहरूलाई स्थायी नियुक्ति गरिएन भने पछि पश्चिम बंगाल शिक्षा विभागले उनीहरूलाई नियम बमोजिम नभएको कारण बर्खास्त गर्ने छ भनेर। त्यस्तै गोजमुमोले जन्माएको छ जीएलपी। अब उनीहरू पनि स्थायीको नारा लगाएर सडक भर्ने छैन भन्ने कुनै ग्यारण्टी छैन। यी दुई कुरा दुवै पार्टीका एकनास छन्। तर शिक्षित बेरोजगार दुवै दलका कुनै सीमा रेखाले भेट्ने होइन।  फेरि प्राधिकरणमा शिक्षा व्यवस्था गोजमुमोको अधिनस्थ हुने कुरा  भएको छ। फेरि त्यही गोरामुमोको पालामा जस्तो काखी च्यापाई। पिल्सिने त उहीहरू हुन्छ जो पार्टीको झण्डा बोकेर नेतालाई जिन्दवाद भनेको छैन। बाटोमा तेर्सिएर शीर निहुर्‍याएको छैन। मात्र आफ्नो जाम्मिसकेको सर्टिफिकेट च्यापेर ओछ्यानमा रातभरि टीठलाग्दो सपना देख्छ।