Saturday, June 25, 2011

मल्टिक्यारकटरहरू

चिरिच्याँट्ट
फेसनका लेप लाएका अनुहारबाट
बुर्का
सो
     ता
         रिँ
             दै
                छ।

आङमा बुँई चढ्न आएका
ई-युग
माऊसुली भएर
जन्माउँदैछ हरपल
अदृश्य इच्छावृत्ति।

'गुगल सर्च'-को विशाल कोठामा
किवोर्डको चुक्कुल लाएऱ
स्क्रिनको न्यानो ओछ्यानमा
हरपल बलात्कृत गरिँदैछ
एउटा एउटा रङ्ग पोतिएको अनुहार।

अपेक्षाकृत बलात्कारीहरू
कति शान्त छन् यहाँ।
ई-युगले रङग् पोँतेका
पिक्सेल आँखाअघि
लजाउँदै
मुस्कुराउँदै
डाटा क्याबलबाट
स......
     ल....
            ...ल
पानीमा लेदो झैँ बहँदैछ।

        आह !
स्वर्णिम आनन्द
     मनोवृत्ति
नर्कको राक्षस जस्तै।

सुनिन्छ
देखिन्छ
मल्टिमिडिया देश घुमेर आएका
मल्टिक्यारकटरहरूका
बठ्याँई र मनोवृत्ति
तर कति सहज
तर कति निर्लज्ज।



अहो !
बुर्का-चोली पनि बिक्री भएछ
सित्थै !

कति सस्तो ?
काली केटीहरूको।

तर
ब्लाकमेलको घुम्टो ओढे्र
पसिनाको गन्धमा अमिलिएर पनि
उफ्रि-उफ्रि धान नाँच गर्दैछन्
काले केटाहरू।

Friday, June 24, 2011

फेसबुकमा द्रोपतीहरू

फेसबुक भन्छ
तर फेसको रङ्ग नै देखिँदैन।

नक्कली फेसको रङ्गमा झुम्छन्
तर मनबुकसम्म पस्छन्।

मित्रताको खाँट्टी सिपाही हुँ भन्छन्
युद्ध गर्नै जाँदैनन्
यति हो
लुकामारी खिलिबस्छन् मनग्गे
फेसबुकको जङ्गलमा।

भावनाको उत्कट इच्छा
कल्पनाको रङ्गले लिपेर
फ्याँक्छन्,
नलाग्दा, फेरि फ्याँक्छन्
फेबिकलको एक चोइटा टाँसिन्छ मनबुकमा।

परिक्रमामा संसार जितेर आएका फेसहरू
नियास्रो रुपको बादल फटाएर
थरी-थरीको
चकमक भिरेका छन् अङ्ग-अङ्गमा ।

सोधे
भन्छन्
सीता होइन, द्रोपती  हुँ
तर ई-जेनेरेसनको।

फेरि भन्छन्
महाभारतको कथा पनि कहाँ सकिएको छ र ?

.बलबहादुरहरू

खाली खुट्टै हिँडेका घोडाको टाप जस्तै
बलबहादरहरूले हिँडेका पैँतालाका छाप
अझै पुछिन सकेको छैन
इतिहासको खल्लो रङ्गले।

घाँटीमा ऐठन पार्ने गरि कस्सिएका
उपनिवेशित चियाको नाके डोरी
अझै छुट्न सकेको छैन
बलबहादुरहरूका घोक्रो छेलेको छालाबाट।

ढुङ्गा फोर्न लाम लागेका बलबहादुरहरूका हातहरू
प्यासी छन् पलपल
ठेलालाई सुमसुम्याउँदै
सङ्गीत भर्नु वेरङ्ग जीवनको।

ढुङ्गाभन्दा कठोर तालमा बुनिएका
सपनाहरूका भक्कानो
अझै फुट्न सकेको छैन
बलबहादुरहरूका चिसा आँखाबाट।

रङ्ग पोति रक्ताम्मे पारिदिएका
बलबहादुरहरूका फुक्क छातीमाथि
अझै परेड खेल्न छाडेका छैन
देशका सिपाहीहरू।

एउटा अतृप्त इच्छावृत्तिको युद्धमा
लड्न हिँडेका आमाहरूका कोख
र एउटा बेटुङ्गो सपनाको राँको बाल्न
कम्मर कसेका बाबुहरूका इच्छाशक्ति
अझै झुत्त्रिएको छैन
अझै मुर्झाएको छैन
बलबहादुरहरू जन्माउन।

झोपडीहरू

फाटेका सपनाको छाता ओढेर
कुख्रे निन्द्रा सुत्न गाउँमा पसेका
झोपडीहरू
संसार फट् फट् फट्किँदा पनि
भ्रमको आगो तापेर
झुक्रिएर बस्न वाध्य छन्।

इच्छाहरू बाँसको खाम्बोमा
सुर्काउनै सकेका छैन झोपडीहरू
बरू !
फ्यात् फ्यात् कुहिएर लड्दैछन्
आकांक्षाहरू
विपनाहरू
खरको धुरीबाट।

तप् तप् चुहिएका विस्मादका आँशु
सिकुवाको डिलमा टुक्सुक्क बसिरहन्छ।
हाँसोको एक पाहुना गीत
सङ्घारको फेदिमा टोलाईरहन्छ।

भारमा लमतन्न तेर्साइएका दाउराहरू
सँधै सँधै वियोगिनीको गीत गाउँछन्।
प्रसन्ताको बिऊ छिपेर कुप्रेका अनुहारहरू
सँधै सँधै झरी गीत गाउँछन्।

कति मोहक देखिने निलो आकाश
कति शीतल देखिने चन्द्रमा
त्यसमा कोरिएको झैँ लाग्ने कारङ्किरिङ रेखाहरू -ताराको
हेर्दै झोपडीहरू
मानचित्र कोर्न थाल्छन् प्रत्येक रात
इच्छा
रहर
सपना
र आस्थाको।

Tuesday, February 1, 2011

टेक्स् म्यासेज्

बिर्को खोलिनु पर्छ परम्परागत बोतलको। सडिसकेको गन्ध परिकारहरूजस्तै भेटिन्छन्- एउटा एउटा अर्थ कुराको। पुरातन अर्थात् पराम्परागत विचारधारालाई आधुनिक-उत्तरआधुनिक अहिलेको मानसिकताको झुण्डले विसंघटन प्रक्रियाको कुक्करमा उसिन्छ। चाहन्छ मात्र तर, उसिन्न त्यसलाई। समय र बुद्धिको हेक्का भने तरल देखिन्छ।
            वर्ष दुईलाई पार गरेको। बरू ! पूर्ण तीन वर्ष भईसकेको। साझा मञ्च एउटा। विश्वविद्यालयको नाममा उभिएको, गर्मीको तातो घाममा। प्रत्येक वर्ष जस्तै, त्यहाँ बामे सार्दै आउँथ्यो- प्रवृति-प्रकृति मानसिकता बोकेकोहरू। गलामा झुण्डाएको खदा मसार्दै टेक्थ्यो भूँई, त्यो विशाल मञ्चको। काँप्थ्यो खुट्टा टेक्नेको एका-एक। बहँदै आएको धिमा जिन्दगीले बद्लिन्थ्यो अकास्मत गतिको प्रवाह। बर्सिन्थ्यो तद्अनुरूप वर्षा त्यही मञ्चबाट। कहिले, गर्जिन्थ्यो बादल गाडाङ-गुडुङ्। रून्थ्यो प्रकृति। रमाउँथ्यो प्रकृति। छाउँथ्यो तुवाँलो आखाँमा- कतिको। भरिन्थ्यो मन सुक्खा- कतिको। भरिन्थ्यो लह-लह खेतबारी- ढकमक्क कतिको। रमाउँथ्यो भाग्य खडेरीमा- कतिको। कतिको के-के हुन्थ्यो अर्थको पछिल्तिर।
          थुप्रै प्रकारका मानसिकता बोकेका टाउको उभिन्थ्यो, त्यो साझा मञ्चमा। प्रकारगत रूप-रङ्ग, सौन्दर्य र चरित्र भएका नक्शाहरूको एउटा लामो आकार कोरिन्थ्यो। भरिन्थ्यो मञ्च त्यो सम्पूर्ण। तर सम्पूर्णता प्राप्त गरेको थिएन- मञ्चले। अनि मानसिकता त्यस्ताले। त्यसैले पछि झुण्डमा परिणत भयो। कुनै धेरै झुण्डको। कुनै कम्ति झुण्डको। एउटा- दुई मात्रको झुण्ड।
      झुण्ड दुईले मौरीको झुण्ड बनाएन पछिसम्म। बाडुलोको पनि बनाएन। अरू बाँकी झुण्ड आफुसँग मिसिन आऊस्-नआऊस् अर्थ पनि राख्दैनथ्यो।
            सात समुद्र, धर्ती-आकासको कुनै दिशासम्म नछुटिने प्रेमी-प्रेमिकाको वाचा बन्धनमाजस्तो कस्सिएको थियो दुई। यहाँसम्म, एकले आफ्नो प्रेमीको नक्शासमेत आखाँमा देख्न छाडेकी थी।
      दुईमा ती, एक सिलगडीको कुनै गाउँको। अर्को कुनै ठाउँ सिकिक्म राज्यको। भेटिन्छ यसरी, अतः कसिन्छ त्यसरी भनेर दुवैलाई पत्तो थिएन। नजानी पाईला चाल्ने ती दुई, एक दिन आफू बसेको बेञ्चको अघि र पछि भएपछि- भेटिएको थियो।
      फड्को हान्यो समयले। सम्बन्धको गाँठोले परिचित मनलाई उमाल्यो। हृदयभित्र समाहित छछल्काहरू भावको पोखिँदै गयो। एकले अर्काको समेट्दै राख्थयो। घोँचेको सियोले एकलाई, अर्कोलाई दुख्न थाल्यो। आखाँमा एउटाको तरङ्गिएको आँसु, झार्थ्यो अर्कोको आखाँले।
      दोस्ति, दोस्ताना, मित्र र साथी शब्द भिन्न देखिन्छ तर अर्थ एउटै। तात्पर्य एकै। ती दुईले पनि हिन्दी फिल्म ‘दोस्ति’ र नेपाली फिल्म ‘मेरो एउटा साथी छ’-को मित्रताको भूमिकालाई निर्वाह गर्ने कोसिस गरिसकेको थियो।   
         “बितेको कुरा मेरो नसोध्नु; सोध्दिन म पनि”- भनेर एकदिन क-ले भनेपछि अर्कोको मुखमा बुच्चो लागेको थियो खोँइयाको- ढप्प !
      एकाएक मनको शंखा उसको धुरी चढ्यो।
प्रश्नले विश्रामको लिङ्गेपिङ चढ्न थाल्यो।
ठानिलिएको आत्मीय साथीले, साथीको विगत जीवन सुन्न नपाउनु के अपराध हो ? के विगत जीवन उसको भयावह थियो ? कस्तो थियो उसको विगत जीवन ? विध्वस्त जीवनको नायिकाकोजस्तै ? मात्रमा जति म साथी मान्छु उसलाई, मात्रमा उति साथी होइन ? अघिदेखि मेरो ‘वेस्ट फ्रेन्ट’ मानेको उ नै हो ? अर्थ साथीको यही हो ?
      चाहेको थिएँ जान्न मैले पनि। क-को विगत जीवन होइन। मात्र वर्तमान चरित्र उसको।
पोखियो ममाथि ख-को प्रश्नसितै रापिलो ज्वालाहरू मनको। निभाउनु त्यसलाई मैले फोनबाट ‘वेस्ट फ्रेन्ड’-को ढ्वाङगको बिर्को खोलिदिएको थिए- यसरी---
      उतारेको छ बुर्का जमानाले। छयाङ्गै देखिन्छ वर्तमान। तर देखिएको त्यो पूर्णतया सत्य होइन। सत्य, सत्य हुँदैन। भनाईको सत्यता मात्र हुन्छ त्यो। सुन्न र मान्न सकेको सत्य मात्र हुन्छ त्यो। परम्परागत ‘वेस्ट फ्रेन्ड’-को अर्थले पनि अङ्ग प्रदर्शन गर्न थालेको छ। ‘वेस्ट फ्रेन्ड’ आज कोही-कसैको हुँदैन। मानिलिएको त्यो आजको वेस्ट भोलि हराउँछ- आफै। उसले अर्कै वेस्ट पाउँछ, तिमीले अर्कै वेस्ट। हिँडिन्जेल, बसिन्जेल, खाइँन्जेल साथसम्म मात्र लागेको हुन्छ- उ मेरो वेस्ट, म उसको वेस्ट।

 ***
      पाईला क-को सँधै सरेर पस्ने ख-को कोठामा। तर फर्कियो विपरीत दिशा अर्को झुण्डको सङ्घारपट्टि-एकदिन। दिनहुँ दाहिने फर्किने पाईला बाटैदेखि देब्रेतिर फर्किन थाल्यो।
      स्ट्र्याक झैँ रह्यो मोबाइल त्यसपछि। चाँबी लागिएको झैँ भयो मुख।
      एउटै मञ्चमा उभिएर अभिनय गर्नु अस्वाभाविक र असहजताले एकार्कालाई लज्जित तुल्याउन थाल्यो। स्थिति, एकको आखाँले अर्कोलाई देख्न छाड्ने भईसकेको थियो। घुमाएर च्याउँथ्यो रानी आखाँले साथीको एकपाटे दृश्य। देखेर पनि त्यति कोट्याउन सक्दैनथ्यो शब्दले। तर चाहँथ्यो कोट्याउन दुईले अर्को-अर्कोलाई।
      शब्द कसको-ले, कठोर बन्दै गएको स्थितिलाई तोड्ने ? आशासहित थियो दुवैको मन। तोडन नसकेर तर, कुण्ठित बन्दै गएको मन रूँदै जाँदैथ्यो पल-पल ! उतापट्टि छुँदै जाँदैथ्यो पराकाष्ट छुटिनुको अर्को पलले।
वर्षाको समय फेरि फर्किएर आईपुगेको थियो। बर्सिनु पर्थ्यो वर्षा। बर्सियो पनि। तर वर्षाको त्यो झरीले बगाएर लग्यो दुईलाई- अर्को अर्को दिशा। शब्द फुटाएर सम्बन्ध स्थापित हुन दिएन। कुनै समुद्रमा भेटिने आशा पनि राखेन। अर्थ मित्रताको खोज्दै, विपरीत दिशा हिँड्नु नै भाग्य ठान्नु परेको थियो।
      धागो सम्बन्धको तर चुँडिएको थिएन सजिलै। मित्रताको कच्चा धागो पनि थिएन त्यो। रहल आखाँहरूले छुटिएको देखिने धागो त्यो, चुँडिएको कदापि थिएन। तिनीहरू मित्रताको अर्थ खोज्न अझै व्यस्त थियो। फर्केर फेरि, विगत जीवनतिरै मित्रताको अर्थ खोतल्नु हिँडेको थियो- दिनहुँ ‘टेक्स् म्यासेज’ गर्दै।      

                  ------------------