Friday, September 2, 2011

रेखाहरू

छात्तिमा जमानाको एक थप्पड हिर्काएर
इच्छालाई संसार घुमाउन
स्वतन्त्रताको युद्ध घोषणा गर्दै हिँडेका रेखाहरू
जिन्दगीको एब्स्ट्रयाक्ट रेखा ठिम्याउनअघि
दैनिक खबरकागजको छात्तीमा बेश्याका तक्मा बन्छन्।

एक थुङ्गा सपना सिउरेर सम्पूर्णता प्राप्त गर्न
कर्तव्यको ढोल पिट्दै हिँडेका रेखाहरू
खस्रो जिन्दगीको विज्ञापन कोट्याउनअघि
इन्टरनेटको कालो बजारमा चिच्याउँदै हिरोइन बन्छन्।

छात्ती फुक्काएर दिल्ली नगर हिँडेका रेखाहरू
गाउँमा छोडिएको आफ्ना प्रतिछाँया
बिर्सिँदो हो कि !
गाउँका हितैषीलाई शहरको गीत सुनाउँछन्।

गाउँमा आजकल भाले नबासी
मोबाइलमा इन्टरनेट बास्छ । इन्टरनेटमा रेखा।
र गाउँमा दुरूस्त सरल देखिने रेखाहरू
अन्जान कोठामा जिन्दगीको बक्ररेखा कोर्छन्।

Tuesday, August 23, 2011

कथा


घ्वार् घ्वार् पानी पर्दैथ्यो
मीठो निन्द्रा चिसो पारेर।
झरीमा नजाऊ भने बोनस् घट्छ ख्वाप्पै !
उठ्यो बाबु।

सिरानीमा लिप्पिएका आमाका कानले पनि
आँगनमा रगटिएको हँसियाको स्याँइ स्याँइ सुन्दैथ्यो।

बुढोलाई आज के भएछ हँ ?
मनभित्रै सोँचेर उठिन् आमा।

फिक्का एक मग चिया सासमै रित्याएर
बाबु हिँड्यो-विघा, ठिका-यतितिर।

बिहानीको विघा
दिनको ठिकाको समय सकिँदासम्म
गोरूलाई बेलुकीको एक छाक घाँस पनि ल्याउँछु भनेर
बर्सातीसँगै हसिँया र नाम्लो बोकेर हिँडेको बाबु
फर्किएको थिएन।

हल्ला भयो। भीड भयो।
आँखा खोलेर हेर्नथाल्यो।

आमाको आँखाले हेर्दा
पारि चियाबारीको भित्तामा
सिरिषको फूल जस्तो देखिन्थ्यो-बाबु।

Friday, August 12, 2011

म शहरदेखि गाउँ जाँदैछु


शहरमा म थुप्रै अनुहारको अघि उभिरहेको छु
शहरलाई ब्यूँझाउन लेखिइएको कुनै भित्ताको पोस्टर
या भनौँ उसैहरूलाई तर्साउन झुण्डाइएको बुख्याँचा-
सरह म अघिदेखि उभिरहेको छु।

शहरमा म सबैको अघि हिँडिरहेको छु
अस्तित्त्वको झण्डा बोकेर गाँधीजस्तै
तर, मेरा पछि लाम लागेर आइरहेका
शहरका भूस्याह कुक्कुरहरू ?
रातको शुन्यतामा भुक्नसमेत लजाउने हिजाडा कुक्कुरहरू ?
मेरा पुच्छरजस्ता भएर एउटा जुलुसको रेखा कोर्दैछन्-निर्रथक।

शहरमा म पसेँको छु-गल्ली गल्ली भएर
त्यहाँको रङ्गीन सपनाको खोस्टे विज्ञापन जाँच्नलाई।
खोक्रो आस्था र विश्वासको घुम्टो उघार्नलाई।

शहर, तर वेवास्ता सुतिरहेको छ गाउँको सुरक्षामा
शहर, सल्बलाएको मन लिएर बौरी उठेको छैन।

आरामदायी सोफामा बसेर चिया पिउँदैछ शहर
बिहानको शुरूवातसँगै।

उसको चस्मेदार आँखाको अघि उभिदिनलाई
उसको अलपत्र परेका छात्तीमाथि हिँडिदिनलाई
उसको गन्हाउने गल्लीहरूका व्याथा नापिदिनलाई मात्र
शहर, अझै मलाई पर्खिरहेछ..

तर म, शहरदेखि ओरालो झरेर गाउँमा पस्दैछु।
जहाँ, शुन्यतामा पनि शीलता छाएको आभास हुन्छ।
जहाँ, कोलाहलमा पनि शान्तिको बिगुल घन्किरहेको भाव हुन्छ।

जहाँ, शहर झरेर कहिले खुशीको निम्तो बाँड्न आउँदैन।
जहाँ, शहर झरेर कहिले सुसेली गाउँन आउँदैन।
जहाँ, शहर झरेर कहल्यै रोदनका छाप पुछ्न आउँदैन।
                                            १०.०८.११

Wednesday, July 27, 2011

गाउँमा पन्ध्र


गाउँ
बिहानदेखि शनिबार
पचास ग्राम गुलियो र पाँच किलो खल्लो रासिन थाप्नुलाई
दिनभरि तौल गर्ने र बिल काट्ने मान्छेकोअघि
झ्याउँकिरी जस्तै घाममा कराउँछ।

पन्ध्रको खर्च आउने शनिबार मात्र हुन्छ।
नहुन पनि सक्छ।

गाउँमा शनिबार चाड चल्छ
गोरूको हत्या।
सुङ्गुरको हत्या।
पन्ध्र दिनको तृप्ति एउटा शनिबारले मेटाउँछ।

आइतबार बजार जान्छ थुप्रै रहरका थैली बाँधेर गाउँ
कुन गल्ली हिँड्छ- कतिचोटि
चिया दोकानअघि उभिन्छ गाउँका सोँचाइहरू
मीठो र सफा, योभन्दा आफ्नै घरका चुल्हामा पाकेको सपना बुन्छ।

माया र सम्झानाको स्वाद भरिएको
सानो मीठाईको पोका बोकेर फर्किन्छ गाँउ।
बाटामा आफन्त
परिवारलाई एउटा एउटा बजारको गन्ध चखाउँछ।
अनि थाकेर नथाकेको र नथाकेर थाकेको अनुहारको रङ्ग फेर्दै
एक कप चिया आफ्नै चियाबारीको पिउँछ।
आफ्नै घरको चुल्हामा पाकेको पिउँछ-सोँच्दै
अब सपना कति बाँकी रह्‍यो ?
अब रहर कति बाँकी रह्‍यो ?

अर्को शनिबार आइपुग्छ।
अर्को आइतबार आइपुग्छ त्यसरी नै।
रहर र सपना पनि उस्तै बाँकी र पूर्तिको सूचि बोकेर आइपुग्छ।
कति पन्ध्र, शनिबार र आइतबारले पहाड चढे होला ?
कति पन्ध्र, गाउँले बजार चढ्यो होला ?
थाहै छैन गाउँलाई। तर थाहा छ गाउँलाई
एउटा पन्ध्रमा एउटा झिनो सपना पुरा हन्छ। एउटा झिनो रहर पुरा हुन्छ।
थाहा छ गाउँलाई
पन्ध्रमा फेरि अर्को सपना अधुरो रहिरहन्छ।
पन्ध्रमा फेरि मीठो रहर, तितो भइ नै रहन्छ।














.

Tuesday, July 19, 2011

साइरन

साइरनको टँ टँ ध्वनिले
चियाबारीको मुटुलाई भ्राइब्रेसन गरिएन भने
कोही बेला टीनको खोरबाट भालेले पनि
गीत गाउन बिर्सिदिँदोरहेछ।

प्रभातको हात काट्ने चिसो होस्
या मन कुट्क्क दुख्ने दिनको थप्पड
अचानो बनिन के साह्रो छ र
बन्द चियाबारीको सरिरलाई।

चिया उसिन्न ब्यूँझेका हातहरू
नूनको गुलियो रस् सुरूप्प चाख्छन्
आऊ ! लौ ..चिया
सुनेर छट्पटिरहेका मनहरू
सिल्भर मकमा लिपिएका फिक्का चियाको तरङ्गमा
दिनभरिको भूकम्पको कम्पन थेक्छन्।

छोराहरू क्याटिस-मटेङ्गा बोकेर जङ्गल खान्छन्
भाग्यले जुरायो भने
एक छाक भुटुवा वा झोलमा
शान्तिको जुलुस थर्काउँछन्।

साइरनको धुनमा आङ्मा नटाँसिएका टोक्रीहरू
आँगनमा कहिलेदेखि घोप्टो परिरहेका छन्
त्यसभित्र कैदी भएका चिङ्गनाहरू  
उनमुक्तिको चिः चिः नारा लगाइरहेका छन्।

सिकुवाको कुइनेटोमा झुक्रिएर दिनभर जीवन पचाएका बुढाहरू
साइरनको भरोसे विज्ञापन बोकेर
जिन्दगीको सिस्टममा भाइरस पाल्नुलाई
कान्छी दी-को भट्टीमा पस्दैछन्।

सेन्सलेस् चियाबारीको खप्पर कोमा’-मा पुगेको छ।
चाउरी परेर ल्याम्टा बनेका सरिरहरू
अँगेनामा लोकगीतको झिल्का ताप्दैछन्।

साइरनको आवाज नसुनिएको क्यौँ भइसक्यो
त्यो आवाज नसुनिएकै कारणले होला
विहान सात बजे मेलो हत्याउनलाई आमैहरू जुलुस हिँडेकै छैनन्।
हसिया नचाएर बाऊहरू सिपाही बन्नै सकेका छनैन्
टि भी सिरयलको क्रिटिसाइज चियाको बोटले सुन्न पाएकै छैन।
अनि सुइरोमा भाग्य नम्बर १,२,३को सपना देखेर
औँलाले भाँचि भाँचि गन्नै पाएका छैन।