Wednesday, September 28, 2011

बोनस र दशैँ



गुजुल्टाएर राखेका सपनाका थाङ्नाहरू
भिजारए राखेका कट्मेरो इच्छाका फ्याप्ल्याँटाहरू
वर्षौदेखि यता सुकाउनुलाई
दशैँको मस्त घाम पर्खिरहेको छ गाउँ।

घ्वार् घ्वार् पानीले दिनरात चुटेका थाप्लोहरू
पसिनाको रसले एकपलमा कति सुक्छ हँ ?
ह्वार् ह्वारती तिर्खाएका गलाका त्यन्द्राहरू
पसिनाको रसले एकपल कति रसाउँछ हँ ?
प्रश्नहरू चियाबारीका बुट्टा बुट्टा फलिरहेका छन्।

वर्षौभरि हुत्तिहाराको पगरी लाएर
चियाबारीमा बोनसका लागि जुलुस हिँडेकाहरूलाई
बाजे-बराजुको वीरताको कथा! लोककथा भइदिएको छ।

प्रतिशतको लडाँइबाट तुहिएका बोनसका अनुहार
खुशीको रङ्गले जति नै टल्काउने कोसिस गरे पनि
गर्भमा हुँदी जति नै धामी-झाँक्रीले स्वथ्य कामना गरे पनि
कहिले त्यसको जन्म रूपवान र बलवानका रूपमा भएको छैन।
बस् !
एकमाना सुख मासुको रसमा चोबेर चट्ट खान
र, बस् ! एक औँली दुःख घुटुक्क निल्न पाए
गाउँलाई मीठो रूच्छ।

गाउँमा अहिले थाप्लीले पिल्छिएका थाप्लोहरूमा
उख्खरमाउलो दशैँको घाम टल्किरहेको छ।
तर, मनको कान्लामा उम्रिएका रहरका पालुवाहरू
आँखाको डीलमा अडेसिएर बसेका सपनाहरू
जीवनको घुम्तीमा कुरिरहेका इच्छाहरू
बोनस पाउने आशामा बुढो बाजे जस्तै कुप्रिरहेका छन्।
बाजेको सङ्गीनी भएर झुक्रिरहेका छन्।
बाजेको छोरो भएर लट्टिरहेका छन्।


Friday, September 2, 2011

रेखाहरू

छात्तिमा जमानाको एक थप्पड हिर्काएर
इच्छालाई संसार घुमाउन
स्वतन्त्रताको युद्ध घोषणा गर्दै हिँडेका रेखाहरू
जिन्दगीको एब्स्ट्रयाक्ट रेखा ठिम्याउनअघि
दैनिक खबरकागजको छात्तीमा बेश्याका तक्मा बन्छन्।

एक थुङ्गा सपना सिउरेर सम्पूर्णता प्राप्त गर्न
कर्तव्यको ढोल पिट्दै हिँडेका रेखाहरू
खस्रो जिन्दगीको विज्ञापन कोट्याउनअघि
इन्टरनेटको कालो बजारमा चिच्याउँदै हिरोइन बन्छन्।

छात्ती फुक्काएर दिल्ली नगर हिँडेका रेखाहरू
गाउँमा छोडिएको आफ्ना प्रतिछाँया
बिर्सिँदो हो कि !
गाउँका हितैषीलाई शहरको गीत सुनाउँछन्।

गाउँमा आजकल भाले नबासी
मोबाइलमा इन्टरनेट बास्छ । इन्टरनेटमा रेखा।
र गाउँमा दुरूस्त सरल देखिने रेखाहरू
अन्जान कोठामा जिन्दगीको बक्ररेखा कोर्छन्।

Tuesday, August 23, 2011

कथा


घ्वार् घ्वार् पानी पर्दैथ्यो
मीठो निन्द्रा चिसो पारेर।
झरीमा नजाऊ भने बोनस् घट्छ ख्वाप्पै !
उठ्यो बाबु।

सिरानीमा लिप्पिएका आमाका कानले पनि
आँगनमा रगटिएको हँसियाको स्याँइ स्याँइ सुन्दैथ्यो।

बुढोलाई आज के भएछ हँ ?
मनभित्रै सोँचेर उठिन् आमा।

फिक्का एक मग चिया सासमै रित्याएर
बाबु हिँड्यो-विघा, ठिका-यतितिर।

बिहानीको विघा
दिनको ठिकाको समय सकिँदासम्म
गोरूलाई बेलुकीको एक छाक घाँस पनि ल्याउँछु भनेर
बर्सातीसँगै हसिँया र नाम्लो बोकेर हिँडेको बाबु
फर्किएको थिएन।

हल्ला भयो। भीड भयो।
आँखा खोलेर हेर्नथाल्यो।

आमाको आँखाले हेर्दा
पारि चियाबारीको भित्तामा
सिरिषको फूल जस्तो देखिन्थ्यो-बाबु।

Friday, August 12, 2011

म शहरदेखि गाउँ जाँदैछु


शहरमा म थुप्रै अनुहारको अघि उभिरहेको छु
शहरलाई ब्यूँझाउन लेखिइएको कुनै भित्ताको पोस्टर
या भनौँ उसैहरूलाई तर्साउन झुण्डाइएको बुख्याँचा-
सरह म अघिदेखि उभिरहेको छु।

शहरमा म सबैको अघि हिँडिरहेको छु
अस्तित्त्वको झण्डा बोकेर गाँधीजस्तै
तर, मेरा पछि लाम लागेर आइरहेका
शहरका भूस्याह कुक्कुरहरू ?
रातको शुन्यतामा भुक्नसमेत लजाउने हिजाडा कुक्कुरहरू ?
मेरा पुच्छरजस्ता भएर एउटा जुलुसको रेखा कोर्दैछन्-निर्रथक।

शहरमा म पसेँको छु-गल्ली गल्ली भएर
त्यहाँको रङ्गीन सपनाको खोस्टे विज्ञापन जाँच्नलाई।
खोक्रो आस्था र विश्वासको घुम्टो उघार्नलाई।

शहर, तर वेवास्ता सुतिरहेको छ गाउँको सुरक्षामा
शहर, सल्बलाएको मन लिएर बौरी उठेको छैन।

आरामदायी सोफामा बसेर चिया पिउँदैछ शहर
बिहानको शुरूवातसँगै।

उसको चस्मेदार आँखाको अघि उभिदिनलाई
उसको अलपत्र परेका छात्तीमाथि हिँडिदिनलाई
उसको गन्हाउने गल्लीहरूका व्याथा नापिदिनलाई मात्र
शहर, अझै मलाई पर्खिरहेछ..

तर म, शहरदेखि ओरालो झरेर गाउँमा पस्दैछु।
जहाँ, शुन्यतामा पनि शीलता छाएको आभास हुन्छ।
जहाँ, कोलाहलमा पनि शान्तिको बिगुल घन्किरहेको भाव हुन्छ।

जहाँ, शहर झरेर कहिले खुशीको निम्तो बाँड्न आउँदैन।
जहाँ, शहर झरेर कहिले सुसेली गाउँन आउँदैन।
जहाँ, शहर झरेर कहल्यै रोदनका छाप पुछ्न आउँदैन।
                                            १०.०८.११

Wednesday, July 27, 2011

गाउँमा पन्ध्र


गाउँ
बिहानदेखि शनिबार
पचास ग्राम गुलियो र पाँच किलो खल्लो रासिन थाप्नुलाई
दिनभरि तौल गर्ने र बिल काट्ने मान्छेकोअघि
झ्याउँकिरी जस्तै घाममा कराउँछ।

पन्ध्रको खर्च आउने शनिबार मात्र हुन्छ।
नहुन पनि सक्छ।

गाउँमा शनिबार चाड चल्छ
गोरूको हत्या।
सुङ्गुरको हत्या।
पन्ध्र दिनको तृप्ति एउटा शनिबारले मेटाउँछ।

आइतबार बजार जान्छ थुप्रै रहरका थैली बाँधेर गाउँ
कुन गल्ली हिँड्छ- कतिचोटि
चिया दोकानअघि उभिन्छ गाउँका सोँचाइहरू
मीठो र सफा, योभन्दा आफ्नै घरका चुल्हामा पाकेको सपना बुन्छ।

माया र सम्झानाको स्वाद भरिएको
सानो मीठाईको पोका बोकेर फर्किन्छ गाँउ।
बाटामा आफन्त
परिवारलाई एउटा एउटा बजारको गन्ध चखाउँछ।
अनि थाकेर नथाकेको र नथाकेर थाकेको अनुहारको रङ्ग फेर्दै
एक कप चिया आफ्नै चियाबारीको पिउँछ।
आफ्नै घरको चुल्हामा पाकेको पिउँछ-सोँच्दै
अब सपना कति बाँकी रह्‍यो ?
अब रहर कति बाँकी रह्‍यो ?

अर्को शनिबार आइपुग्छ।
अर्को आइतबार आइपुग्छ त्यसरी नै।
रहर र सपना पनि उस्तै बाँकी र पूर्तिको सूचि बोकेर आइपुग्छ।
कति पन्ध्र, शनिबार र आइतबारले पहाड चढे होला ?
कति पन्ध्र, गाउँले बजार चढ्यो होला ?
थाहै छैन गाउँलाई। तर थाहा छ गाउँलाई
एउटा पन्ध्रमा एउटा झिनो सपना पुरा हन्छ। एउटा झिनो रहर पुरा हुन्छ।
थाहा छ गाउँलाई
पन्ध्रमा फेरि अर्को सपना अधुरो रहिरहन्छ।
पन्ध्रमा फेरि मीठो रहर, तितो भइ नै रहन्छ।














.