Tuesday, November 2, 2010

मूल्य वर्तमानको

मूल्य बढेको छ हरियो पातको
चक्रव्यूह बजेटको घुम्दैछ बिस्तारसँग
रोटे पिङ्गमा चढेकाहरू
मन्द गतिको बेगसँगै सास लिँदैछन्
निस्सासिएको जस्तै घुटुक-घुटुक।

राजनीति, अर्थनीतिको मच्चाईमा
गाउँलेहरू
झोला भिरेर काँधमा माथि पुगेको अभिनय गर्छन्
तर पुग्नै सकेका छैनन्
आफ्नो मस्तिष्कको बाँसे बिल्डिङमा।

आत्महत्या गर्‍यो रे 'कमाने' राईले
झण्डाहरू फर्फरिन्छ
रात्तै, हरियै
तर, फर्फराउने झोँका हावाको त मस्त छ
गर्मी देशका मच्छरलाई शीतल दिन।
उपभोक्ता 'उ' त्यो मान्छे
मान्छे हुन सकेको हो र..
हो..मान्छे भनेको यस्तै हुन्छ ?
मलाई के थाहा
मान्छेलाई मान्छेले आत्महत्या गर्न नाङ्गो बनाउछ भनेर।

ए हो..?
थाहा भो ल अब
मूल्य खुद्रा समानको त बढेको रहेछ
मान्छेको मूल्य भनेको एउटा डोरी त रहेछ ।