Monday, September 27, 2010

तिमी ( 20 गस्त 2009 को भाषा मान्यता दिवसमा पठन गरिएको कविता)

आज तिमी जन्मिएकीदेखि
बाँचेर आएका यतिका दिनसम्म
न ढुक्कले बस्न सकेकी छौ
न कि बस्न दिएकी छौ हामीलाई।

थाहा छ
संविधानमा अन्तर्भुक्त हुँदी
हाम्रो हिताधिकारको कानून बनेँ झैँ
तिम्रो अस्तित्त्व, मर्यादाले
हामी जस्तै मान्छेहरूले पनि
तिमी हुनुको कदर गरेको थियो।

त्यस समय तिमी
यौनावस्थामा फूलेकी गुलाब झैँ
प्रेमी प्रेमिकाको प्रतिक बनेर
सारा देशभरि
सुगन्ध र महिमा फिँजाउँदै हिँडिदियौ
निर्धक्क।

प्रताडित, लाञ्छित
विदेशीको उपमाले ऱङ्गिएका हामीहरको तिमी
एउटा आधार थियौ
जन्म जन्मान्तरसम्मको तागत थियौ
आँट थियौ
भरोसा थियौ
तर अहिले तिम्रो जन्मचिन्हमा
प्रश्न चिन्ह तेर्सिएको छ
ढुङ्गा-मुढाको झटारो हानिँदैछ
तिमी के गर्न सक्छ्यौ अबला भएर
ढुङ्गा-मुढा गर्ने तिमीलाई
आमरा बङ्गाली होइन
न कुनै वामपन्थी।

तिमीलाई परिचय दिलाउनेहरूका
सन्तति हामीहरू
बाबुले रोपेको खेतबारीमा
न राप्नै सक्दैनौ कि केही
या त रोप्नै पो चाहँदैनौ कि केही।

हैसियत, तागत भन्ने थोक नभएर होइन
हामी परम्परा विरोधी छौँ
परम्परित जीवन बँचाईमा
हिँडनै सक्दैनौ हामी
बाँच्नै जान्दैनौ हामी
हामी कम्प्युटर शताब्दीको मान्छे
हामीहरूको आफ्नै सिद्धान्त छ
संसार छ
र छ एड्भान्सको लेप।

तिमी मान्छौ कि मान्दैनौ
तर तिमीलाई फ्याँक्दै छ आज
जलाउँदैछ
खुट्टा भाँचि दिँदैछ
सत्यता र शुद्धताको
घुम्टो अढेर नहिँडे पनि भो तिमी
किनभने
तिमीमाथि
अशुद्धता र अस्पष्टको
दोषारोपण हुँदैछ
कलङ्क लाग्दैछ।

त्यसैले तिम्रो बैशाखी बन्न आएका
एड्भान्स भन्नेहरू
तिमीलाई बोकेर हिँड्न लाज मान्छन् कि।

Friday, September 24, 2010

.. हरू !

मुटुमा
गाडे घाउ भएर भिजेका
पहेंलो पीपले
आदर्शतालाई रङ्गहीन बनाएको छ।

कुप्रो मान्छेहरूका शहर-बस्तीमा
कम्प्युटर
परालको आगो जस्तै
हुर-हुर बल्दै
झयाप्पै निभ्दैछ।

साइली र माइली-हरू
हिमालको चुचुरामा
रङ्गहीन झण्डा गाड्न
हस्याङपस्याङ गर्दैछन्।

कान्छी-हरू
देश चलाउने धुनमा
परिबन्धको डोरीमा बाँधिएर
गोसखानमा
लाम् लागिरहेका छन्।

कुन्नि………….!
कञ्चनजङघामा उदाएको सूर्यले
हिमाल पग्लिँदैछ।

साइला र माइला-हरू
किनारीकृत
रोडा-ढुङ्गा जस्तै भएका छन्।

कान्छा-हरू
साङ्लीमा बाँधिएर
भूसस्याहा कुकुर जस्तै
फनफनी चेप चहारीमा छन्।

जेठा-जेठी-हरू
कोठामा………
क्रमशः
ब्लुतुथको अदृश्य सङ्केतमा
एम एम एसको
विश्वबजारमा
झाँगिदै
अझ मौलाउँदै गईरहेका छन् ।

Thursday, September 23, 2010

विद्रोह

चेतनाले कुन्नि कतातिर
डोर्‍याएपछि
अहिंसावादको
मानवतावादको
अस्तित्त्ववादको नाममा
सिकाउँछन् महापण्डितहरू
विद्रोह गर्न।

विद्रोह पण्डितहरूको
विद्रोह धुपाउरेहरूको
विद्रोह सचेत मानसिकताहरूको
विद्रोह अर्धसचेत झोपडीहरूको
..गर्नु पर्ने रहर।

बहाल शान्तिको नाममा उडेर
विद्रोहकै घरभित्र पस्छ।
ठटाउँछ घरहरू
भित्ताहरू
चर्किएको कान तर पनि
विद्रोह गर्नै मन पराउँछ।

विद्रोह गालाभरि लाली दलेर  मस्किन्छ सडकतिर
'हावा'-तिर
लक्ष्यको पगरी लाएर विद्रोह
आफ्नै घरभित्र अपरिचित बन्छ।

विद्रोहको खुल्ला खेस्रा-पत्र फ्याँक्छ
अखबारले विद्रोहकै बेढोँ थाम्छ
ओख्लीले मुस्लीको दुखाई थामेको जस्तो।


तर विद्रोह गाउँका झोपडीहरूले
पाइखाना पुछेर फालिदिन्छन्
किनभने फेरि विद्रोह
भोलिको लागि अर्कै आउँछ
विहानको अखबारसँगै।

Monday, September 20, 2010

फेरि दार्जिलिङकै कुरा

हिजदेखि दल परिवर्तन गर्ने खेल खेल्न थालेका छन् सबै दलका खेलाडीहरू। एउटा अर्को दलमा ,अर्को फेरि अर्को दलामा। आफ्नो दलका झण्डा दिएर जण्डाहरूले अझै जण्डाहरूलाई खदार्पण गरिरहेको छ। अनि स्वागत गर्ने दलकै माहीर राजनेताहरूले दल परिवर्तन गरेर घर पस्ने बाटो खोलेका हुन् भनेर भाषण पनि छाँट्दैछन्। अर्को दलकाहरूलाई आफ्नो दलमा समावेश गर्न पाउँदा खुशीले उचालिनु अनि आफ्ना दलका विपक्षी दलमा सामेल हुन जाँदा विपक्षीको ढयाङ्ग्रो बजाउन खोज्नु नै मात्र जानेका रहेछन् हाम्रा अगुवाहरूले भन्ने प्रतित हुँदछ। आफ्ना दलका सचेत र चँखोहरू अर्को दलमा थोप्रेको समाचारले दलका श्रेष्ठ कहलाइएकाहरू  अहिले सम्म विपक्षी दलहरूले के गर्‍यो भनी खाल्डो खोल्न जुरिहाल्छ। दार्जिलिङलाई त राजनीति नफापेको हो भन्नु कि पाएर राजनीति गर्न नजानेको भन्नु। अचम्मै छ राजनीति दार्जिलिङको। राजनीतिको परिभाषासम्म नजानेकाहरूले हैकमवादको आधारमा राजनीति सफल भएको ठान्छ। फेरि हैकमवाद घरका बाबुले परिवारभित्र चलाएको जस्तो मात्र छ। घरदेखि बाहिर गएर त्यो हैकमवादको ढवाङ पिट्न त मरिहत्ते सक्ने होइन। अनि घरमा हैकमवाद चलाएर जहान-परिवारलाई मात्र तर्साएर के नै पो सप्रिन्छ र। आफ्नो सत्तामा सबै क्षमता आयो भने झन के हुने हो। अरूले त ज्यु ज्यु गर्नु बाहेक के रहन्छ र विकल्प। गोरामुमोले के गर्‍यो त्यो आज सोधी हिँड्ने प्रश्नै होइन। आफूहरूले के गर्छौँ त्यसको उत्तर दिने हो समय तर भाषणमा मात्र होइन। भाषण त जो कसैले जसरी पनि गर्न सक्छ। तर भाषणकै आडमा राजनीति गरेर हुँदैन। कर्मले, व्यवहारले राजनीति गरेको हुनपर्छ। गोरामुमोले 15 हजार एडहक नियुक्ति गर्‍यो। अहिले उनीहरू मात्र सबैभन्दा तल्लो दर्जाको गरीब जस्तो ठान्दै छन्। तर जो कोही साँच्चै गरीव र बेरोजगार छ उसको समस्याको समाधानतिर पहल कसले गरेको छ। डर छ ती एडहकहरूलाई यदि प्राधिकरण हुनअघि उनीहरूलाई स्थायी नियुक्ति गरिएन भने पछि पश्चिम बंगाल शिक्षा विभागले उनीहरूलाई नियम बमोजिम नभएको कारण बर्खास्त गर्ने छ भनेर। त्यस्तै गोजमुमोले जन्माएको छ जीएलपी। अब उनीहरू पनि स्थायीको नारा लगाएर सडक भर्ने छैन भन्ने कुनै ग्यारण्टी छैन। यी दुई कुरा दुवै पार्टीका एकनास छन्। तर शिक्षित बेरोजगार दुवै दलका कुनै सीमा रेखाले भेट्ने होइन।  फेरि प्राधिकरणमा शिक्षा व्यवस्था गोजमुमोको अधिनस्थ हुने कुरा  भएको छ। फेरि त्यही गोरामुमोको पालामा जस्तो काखी च्यापाई। पिल्सिने त उहीहरू हुन्छ जो पार्टीको झण्डा बोकेर नेतालाई जिन्दवाद भनेको छैन। बाटोमा तेर्सिएर शीर निहुर्‍याएको छैन। मात्र आफ्नो जाम्मिसकेको सर्टिफिकेट च्यापेर ओछ्यानमा रातभरि टीठलाग्दो सपना देख्छ।

Wednesday, September 15, 2010

परिवर्तन कमानभित्रको

      भालेको 'कुकुरी काँ'-सँगै निन्द्रा देवीले सुँइकुच्चा ठोक्दा झ्यालदेखि सानो संसार चिहाएर तीन बजेछ, अर्थात चार बजेछ भन्ने मनको घडीमा समयको पूर्वसङ्केत मिल्थ्यो रे हाम्रा गाउँ कमानका बुढापाकालाई। दुई घण्टाअघि कसैलाई पत्तै नदिई आ-आफ्ना काममा लीन ती बुढी-बुढीहरू पशुलाई एउटा चुल्हामा दानापानी, अर्को चुल्हामा आफ्नो दानापानी टेकाएर रातो चिया खाँदै अगेनामा लागेका हुरहुर आगोको रङ्गलाई एकटक हेरि बस्दथे। बाँकी परिवारलाई निन्द्रमा मस्त हुँदाहुदै 'छिट्टो उठ्'-को आवाजले लुत्थुक्रै भिजाएर तातो निन्द्रबाट चिसो पारिदिन्थ्यो। आजकोहरूलाई पार्न सक्छन् र ? लगभग छोराछोरी उठेर प्रातकालको स्वर्णिम दृष्यअघि आँखा मिच्दा नमिच्दा सुख्खा रोटी र रातो चियाले आमन्त्रण गरिसक्थ्यो। तरै पनि शिक्षाको महत्व बढी थियो त्यसताक। सबैले शिक्षा पाउनु सौभाग्यको कुरो। तत्कालीन समयावस्थामा ज-जसले शिक्षाको 'शि' सम्म पाएँ नोकरी उसको पछि शिकारी भएर आउँथे।
    बस् सुख्खा रोटीलाई खुम्च्याएर रोल पारी,कहीँ सिलबर बासकेटमा त्यही रातो रङ्गमा चट्चट् चुँडाई चुर्लुम्म डुबाएऱ फ्यात तुल्याई खाईवरी डोको, नाम्लो, बर्साती, घूम, पानीसिसा गुटुमुटु बेरी चियापत्तीको 'दुई पात एक सुइरो'-सँग युद्धमा होम्मिन  बाध्य थिए। 'चियाको बोटमा पैसा फल्छ रे' मा उत्तानो आँखा पारेर आउनेहरूमा कति मालिक वर्गको यौन तृप्तिको आहार बन्न परे, कति मालिकवर्गको दासत्वमा होम्मिन परेका पात्राहरूको व्याथा आलै छ। इतिहासका पन्नाहरू, समाजका भारी बोक्ने लेखकहरूका कृतिका पन्नहरू कोट्याउँदा ह्वासह्वासती गन्ध आउँछ त्यही रगतको। जसको मूल्य, देन र अस्तित्वको कुरा आज खोज्दैछौँ। चिन्हारी खोज्दैछौँ।
      सन् 1947 भारत स्वतन्त्र भएको साल। गोराहरू भारत छोडी भाग्न बाध्य भएको दिन। मान्छेहरूले स्वतन्त्रताको जुनी पाएको समय। दसत्वबाट मुक्ति पाएको परिवेश। यो भारत छोड आन्दोलनमा ती वीर श्रमिकहरूले आफ्नो बित्थ्याको ? जीवन लीलालाई समाप्त गरेको थियो। समर्पण इतिहासमा साक्षी थियो/ छ। स्वतन्त्रतापछि भारत सरकारले मानव अधिकारको ऐन पारित गर्‍यो। ती अधिकारहरू आजसम्म श्रमिकहरूको हनन् हुँदैछ। बन्द कमानले प्रत्यक्ष दर्शाउँछ। हरेक साल पत्तीको सिजन सिद्धिएपछि कमान बन्द गर्ने मालिकवर्गको नीति भइसकेको छ। इच्छा/ फायदा बमोजिम कमान खोल्ने र बन्द गर्ने चाबी भएको छ त्यही मालिकवर्ग। ठीक यसको एकसय वर्षपश्चात उन्मुक्तिमा ओर्लिन सकिरहेका छन् हाम्राहरू। त्यस्तै उन्मुक्ति दिलाउन उठेका छन् हामीहरूले चाहेकाहरू। तर खै..।
      पहाडकी रानी दार्जिलिङ। पारी भित्ताको सेताम्मे हिमालय कञ्चनजङ्घा। वरीपरी चियाकमानका हरित् गाछवृक्षले डम्म ढाकेका दार्जिलिङ शहर। त्यही हरित् गाछवृक्षबाट जन्मेको 'दुई पात एक सुइरो'-को मूल्य विश्वबजारमा गुट्मुटाएर 'दार्जिलिङ टी इज् बेस्ट'-को उपाधि बाहेक अरू थोक केही दिन सकेको छैन। जो हामी चाहन्छौँ, जो श्रमिकहरू चाहन्छन्। जो उराठ लाग्दो घामको रापमा रापिएर, वर्षाको झरीमा आकाश छ्याङ्गै देखिने मालिकवर्गबाट पाएको छाताको मुनि ओतिएर, तुत्थुक्रै भिज्दै चिया गाछसितको मायामा हाँस्नु र रूनु मात्रै आफ्नो भाग्य ? ठान्छन्। खुन र पसिनाको गन्धले ओतप्रोत चियाको भाऊ र स्वाद लिने त उही मोराहरू ! जो सय वर्षअघि पनि चुस्दै थिए।
     तर...समयले फड्को मार्दै गयो। कोख्रे बालक युवा बन्दै गयो। मान्छेले परिवर्तन गर्न सकेनन्। परिवर्तनले मान्छे बनाउँदै गयो। शिक्षित बन्दै गयो, डिमान्ड बढ्दै गयो। शहर बजारको परिवेशले कमानलाई प्रत्यक्ष प्रभाव पार्दै गयो। मान्छेले यान्त्रिकतालाई आत्मसात गर्दै गयो। अल्छे बन्दै गयो। शहरीकरणमा धेर संतुष्टि रोज्न थाल्यो। देश-विदेशमा चर्किरहेका कोलाहल, भीडन्तले साक्षात 'घर बसेर नेपाल देख्ने' उखानलाई परिष्कृत गर्दै लग्यो। अपठितहरूको मस्तिष्कले सृजना गरेका पारम्परिक टुक्का उखानहरूले आजको परिप्रेक्ष्यमा पनि तिखो व्यङ्गवाण हानेको जस्तो छ। हलो, कोदालो र माटोलाई पन्ना र कलम सम्झेर त्यस्ता घतलाग्दो शब्द वाक्य बनाएका हुन् कि ! दुःखसित युद्ध गर्दा गर्दा दुःखलाई नै सुख ठानेर आत्मसंतुष्टिमा बाँच्न उनीहरूले कसरी सके होलान् आज पनि सोँच्न बाध्य गराउँछ। त्यसैले फेरि साग, सिस्नो र डेढोमा हैँसे गर्न आज ती रगतका टुक्राहरूलाई कस्तो अपत्यारिलो हुन्छ होला। संकोच र लाजले बरू भोकै बस्छन् कि! पिजामा पुगेका मुखले मकैको डेढोमा उल्टो मुख बहाउँछ कि!
      परिवर्तन....परिवर्तनले देशलाई मात्र प्रभावित तुल्याएको छैन। शहर, गाउँ-बस्ती, कमान सबैलाई नाके डोरी लाएर तानिरहेका छन्। हरेक क्षेत्रबाट। हरेक पलपल। अघि रात्रीको दृश्यमा अर्को गाउँ भित्ता हेरे राँको बालेर हिँडिरहेका राँके, अँध्यारोको मलामी गएका झैँ देखिन्थ्यो। पिलपिल् बल्न सकेका धिब्री बत्तीका वरीपरी भुँइमा भोलिको कार्यप्रणालीका विषयमा, दुःख-सुखका अनुभूतिहरू एकार्कामा साटासाट गर्ने प्रवृतिले शहरको झिलिमिलिलाई क्षणिकमा आफ्ना अनुहारअघि ल्याई पुर्‍याएको जस्तै भयो। त्यो बत्तीको झिलिमिलिमा भुत्रुक्क उफ्रन्दै आँगनमा चाच्न, गाउन थाल्यो। भालेको डाकलाई भुलेर मान्छकै मस्तिष्कले बनाएका घडीले नाडीहरूमा जरा गाड्दै गयो। मान्छेलाई त्यसले चलाउँदै गयो। नाडीमा बाँधेका घडीले मान्छेले मान्छेलाई काँटाको टिकटिकसँग घुमाउँदै लग्यो। मान्छे पनि उदेक मानेर घुम्दै गयो। दुर्दशन च्यानलले शहरलाई आफ्नो मुट्ठीमा नचाउन थाल्यो। विभिन्न थरीका कलाकृतिहरूलाई दोहोर्‍याउँदै च्यानलहरू शहरतिर प्रसारण हुन थाल्यो। मनोरञ्जन, थकाईलाई सास्ती दिन देश-विदेशका खबरबरू जान्ने बुझ्ने ध्येयले टीभी भित्र्याउँदै गयो। देखासिखी बढ्दै गयो। गाउँ भरिँदै गयो। च्यानल बढ्दै गयो। लोकले नसोँचेका, नदेखेका घटनावलीहरू प्रसारण हुँदै गयो। भइ रहेछ पनि। मज्जा आउँदै गयो। काम थाँतीमा राखेर टीभीअघि त्यही घडीको काँटाको घोँचाईमा बस्न कर लाग्न थाल्यो। बस्दा-बस्दा नदेखेका अश्लीलताले भित्री मनका सुसुप्त प्रवृतिहरू जुर्मुराउँदै उठ्न थालेपछि गाउँ घरमा अश्लील घटनाहरूले घट्ने सौभाग्य पाउँदै गयो। त्यसो नहोस्, हुनु हुँदैन भन्ने उदेश्यले बनिएका आजकलका धारावाहिकहरूले सर्वाधिक व्यापकता र लोकप्रियता पाएका छन्। झन् चिया कमानमा सात बजेदेखि टीभीअघि बस्न नपाए बेलुकीको खानाले पच्ने मौका नै नपाउँदो हो कि! पहाडको दुर्दशा ज्ञात भएकै हो क्षणिक समयमा के हुन्छ हुन्छ, कसलाई थाहा। बत्ती छैन या क्याबल लाइन, बस् ओपरेटर र इलेक्ट्रीसिटीमा कार्यरत मान्छेहरूलाई आशिर्वाद दिहाल्छन् फेरि।
    त्यस्तै आजको दिनमा फेसनमा आएको छ पहिरन र मोबाइल। पहिरन नलाउँदा पनि हुने स्थितिमा पुगेको छ। मोबाइल टीभीको हाराहारीमा पुगेको छ। मोबाइल छ भने हरो हिरोइन भएको अनुभव गर्नेहरू थुप्रै भइसकेका छन्। अघिअघि मालिकवर्गले यौन पूर्तिका निम्ति शिकार बनाउँथे कमानका अबोध नारीहरूलाई भने मोबाइलले आज मालिकवर्ग तथा ठूलाबढा भनौदाहरूलाई यौन आसक्तिमा लोभ्याउन सक्ने स्थिति भइसकेको छ। विवाहित तथा दाम्पत्य जीवनमा दैन्दिन यसले आँखा लगाउने बानीलाई मलजल दिइरहेका खबरहरू यत्रतत्र फैलिरहेका छन्। फलानोको पत्नीसँग के सम्बन्ध ? ढिस्काको लोग्नेसँग किन रातभरि दिनभरि गफ ? विवाहित भएर नानीहरूसँग प्रेमलीला गर्न लाज लाग्दैन ? प्रश्नहरू उठ्दै छन् थुप्रै थरीका। तर गफ गर्न मज्जा आउँछ नि! कम्पनीहरूले अफरमाथि अफर थपेर पठाई रहेका छन् किन उपभोग नगर्ने। भाउचर गाउँको मिठाई दोकानमा उपलब्ध छँदैछ। पत्र लेख्ने परम्परालाई एक लातमा चित बनाएको छ यसले नै। दुई पात एक सुइरोमा दिलोज्यान दिने, सर्वस्व गुमाउन बाध्य हुनेहरूकै एक चोक्टाहरू चियाको बोटमा थपक्क बसेर हाँस्दैहाँस्दै कानमा मोबाइल टाँसेर कुन भँवरासँग गफ लडाई रहेका हुन्। भरै भेट्ने, भोलि भेट्ने समय स्थानको निर्धारण हुँदैछ। के कस्ता पहिरन पहिरिएर आउने हुन्। चिन्ने नचिन्ने दोसाँधमा अड्किरहेका छन्। हेरौँ पक्कै भेट्न आउने हुन् कि कमाने कान्छीहरू !( 20 नोभेम्बर 2008 मा प्रकाशित)

Tuesday, September 14, 2010

आजको राजनीतिको कुरा

भारतीय राजनीतिका होनहार राजनितिज्ञहरूको आकस्मिक दार्जिलिङ आगमन र उनीहरूको दार्जिलिङ प्रतिको फोस्रा सहानुभूतिका दुई शब्दमा हाम्रा दार्जिलिङ्गे अनेताहरूको शीर निहुर्‌‍याईमा जनता पनि नेताकै टोपी हेरेर नतमस्तक बन्न बाहेक के नै पो गर्न जानेको छ र..जनताले नेता बनाउँछ भन्ने पूर्वधारणा अहिले समाप्त भएको छ। अहिले त नेताले जनता बनाउँछ भन्ने राजनीतिको ढयाङ्ग्रो पिट्न थालेको छ अनेताहरूले। हाम्राहरूबिचको राजनेता भन्नेहरू आफै आफमा लम्की थाप्ने खेलमा निकै माही भईसेकेका छन्। अनि भाषणमा गणतन्त्रको हननको कुरा बाहेक गर्न के पनि जानेका छैनन्। अनि परबाट आउने खुँखार राजनेताहरूको झूठो आस्वासनमा आशावादी हुन बाहेक केही विकल्प पनि देख्दैनन्। अखबारमा छापिएका घतलाग्दा शीर्षकले जनताको मनमा ठुलो आशा फेरि भरिदिन्छ तर आजकै दिनको लागि मात्र। भोलि त्यो खबर झूठा साबित हुन्छ। घोर निन्दा हुन्छ ।अनि हुन्छ फेरि आन्दोलनको अर्को  जनताले सोँच्दै नसोँचेको , मनमा पच्दै नपचेका कुराको बँठ्याई। तब फेरि प्रश्नको बाडी चल्छ त्यै बुझेर अबुझ बन्ने जनताको मनमा फेरि के हुन्छ र नेता भनेको र राजनीति भनेको यस्तै होला। त्यो हाम्रो लागि हुँदै होइन। अझ अर्को कुरा त हाम्रा राजनीतिका समष्टि अनतर्गत रहेका फुचाफुचि धुपाउरेहरूले भन्दैछन गोर्खालीग या माक्सवादी कम्युनिस्ट पार्टीमा सामेल हुनेहरू गोजमुमो पार्टीको होइन। एकदम सत्य नै  हो त्यो। एउटा मान्छे कतिवटा पार्टीको सदस्य हुन्छ। अनि त्यो मान्छेले आफूलाई जुन पार्टीमा सामाल हुने इच्छा गरे पाउनु पर्ने हो। किनभने त्यै धुपाउरेहरूले फेरि भाषणमा कुरा हाँक्छ जनताले स्वतन्त्र अधिकार पाउन पर्छ भनेर। तीहरूले एकपट्टिबाट हक र अधिकारको कुरा गरेर जनतालाई भिख माग्छन् अनि अर्कोपट्टिबाट त्यै जनतालाई तर्साउँछन्। के भन्ने तब। आज प्रश्नै प्रश्नै तेर्सिएका छन् जनताको सामु।

Sunday, September 12, 2010

भाषा अनि हामी ( 20 अगस्त 2010 - भाषा मान्यता दिवसमा पठन गरिएको कविता)

भाषा हो सभ्यता हाम्रो
नारा गुञ्जिँदैछ
चेपचापका बन्द
साहित्यिक कोठेबारीमा...फोस्रा शब्दहरूमा।

त्यो बुँइ चढे्र आउन खोज्दैछ
भर्खर जन्मिएको अबोध शिशुको मस्तिष्कभरी
तर एड्भान्सको लेप लाएर
फेसनको रङ्गमञ्चमा उत्रेका हामी
काउकुती मानेर थेचार्दैछौँ त्यसलाई।

शब्दले मुख फड्काल्न थालेकोदेखि हामी
शब्दमै हुर्कियौँ, बड्यौँ र हिँड्यौँ
अब हामी स्वको धुरीमा घोडा चढेका छौँ
र जन्मबोधको ऋण फर्काउँदैछौँ यसरी
खै ! म त केही पनि जान्दिनँ।

आर् यू नेपाली ?
कम्प्युटरको च्याट स्क्रीनमा
शब्दहरू विदेशी झल्किँदैछ
या आइ एम नेपाली
तर भन्दैछ यता हामी विदेशी।

यहाँ हेर्नु होस् त शब्दको अर्थ
अझै
आइ एम अल्सो नेपालीको भेल बग्दैछ
बट् आइ कान्ट् राइट एण्ड स्पीक इन् नेपालीको समुद्रमा।

आमाले आज
मम्मी, ड्याडीको शब्द घोकाउनलाई
फकाउँदै स्तन चुसाउँछे
हातमा भविष्यको वेस्वादिलो मिठाई पाएर
उफ्री उफ्री फलाक्छ त्यो दुधे बालक।

युवा भन्नु कि युवती भन्नु
भाषाको सभ्यताले त होला
हाफप्यानट् भन्नु कि मिनि हाफप्यान्ट् भन्नु
सुसंस्कृतको नारा लगाउँदै छ त।

साइनबोर्डमा अनुवादित जस्ताको तस्तै शब्दहरू
उ....प...र..-को देशमा
गल्ली गल्ली
दोकान अनि होटलको ढोकामाथि उभिएर
वान्ता गर्नलाई घोप्टो परिरहेका छन्।

आज फेरि त्यो
अस्तित्वको मुखेञ्जीमा बरफ झैँ जाम्मिँदैछ
तर पनि जुलुस थर्काउँदैछ अस्तित्वको
अस्तित्व !
अस्तित्व !!
अस्तित्व !!!
कसको हो यो अस्तित्व ?
स्वको ?
स्व को हो हँ ?
एक्लो म ? प्रतिनिधित्व गर्ने जाति ? फेरि भाषा ?
उफ् !
झाँक्रीहरू त सर्टिफिकेट बोकेर घुमन्ते भईरहेका छन्
एक गिलास फिक्का चियामा
कसरी जोखाना खुट्याउन मान्थ्यो र !

कथा सुनाऊँ ?
त्यो आदिम युगको
जहाँ, जोहरू बिनाभाषा सभ्य थियो कि !
तर फरक यति छ भनौँ
उनीहरू सोँच्दथे भाषापछिको जीवन कस्तो होला
हामी सोँच्दछौँ बिनाभाषाको संसार कस्तो होला।

अतः
भाषाको रथ यात्रामा गुढेर
आदिम मान्छे हामीकहाँ आइपुग्दा
फेरि विस्तारै भाषा मर्दै जान्छ
हामी आदिम युगको
त्यो नाङ्गो मान्छे बन्दै जान्छौँ।
        xxxx

बलात्कृत दुई पात एक सुइरो

तुर्लुङ्ग झुण्डिएको विश्व बजारमा
दुई पात एक सुइरो
लह-लह मुना
कल्कलाउँदो जीवन
सिमसिम पानीको स्पर्शमा झुम्दै
कठ्याङ्ग्रिने जाडो र
सूर्यको रापिलो स्पर्शभित्र गुट्मुटिएर
जीवन धान्नेको अभीष्ट बनेको छ।

सिरिरि हावामा छमछम् नाच्दै
लुकामारी खेल्छन् बादलका टुक्रासित
लजाउँदै, मस्किँदै
शीर निहुर्‍याएर।

ठूली यस्तै रहेछ
अङ्ग-प्रत्यङ्ग दुई पात..तीन पात..ले
कुत्कुताएपछि
जिस्काएपछि
भन्दिनन् कसैलाई अधिव्याधि
यौनावस्थामा यस्तो हुँदोरहेछ।

चट्टै भागी पोइल जाने इच्छाहरू
हातेमालो गर्ने आकांक्षाहरू
दुई पात एक सुइरो जन्माउने अभिलाषाहरू
इतिहासका
अशुद्ध पृष्ठहरू
धुलाउनुभन्दा पहिले
बट्टारिएका हत्केलाले आकस्मिक
अँठ्याउँदा घाँटीमा
रगतको ह्वात ह्वात आहाल बग्छ।
उत्सर्जित रगत-पसिनाको दुर्गन्धमा
चट्ट जिब्रो पड्काउँदै
विश्व बजारमा बलात्कार गर्न खोज्छ।

समुद्रपारि देखेका सपना
हुर्कँदै गएको इच्छाहरू छताछुल्ल हुन्छ
यौनाङ्गमा लट्टिएका प्रियसीहरू
सोतो हराएको बालक जस्तो हुन्छ।

मनभित्रका ज्वारभाटाहरू एक्कासि
हिंस्रक, आक्रोस, भयावह भई आउँछ।

थोत्रे नीतिलाई पदच्यूत गर्न
खल्बलिन्छ, सल्बलिन्छ मन
तर खै !
आजीवन आफ्नै मुटुका टुक्रा
दुई पात एक सुइरो-हरू
उँधोमुन्टो
तुर्लुङ्ग झुण्डिएको हुन्छ विशव बजारमा।

आक्रन्दन
लुटिएर बलात्कृत भएपछिको
पहिचान दिलाउन नसकेर
अनुहारमा बिषाक्त रेखा कोरिएको छ
सुन्दरताको मूल्य हराएको छ।

उकुसमुकुसिएर निस्सासिएको छ
जब आकाशै आफ्नो ठान्ने
वनमाराले सारा संसारलाई
अस्पष्टभित्र धमिल्याएको छ।

त्यसै र..
दुई छाक खुवाउन असमर्थ हुँदा
अभीष्टहरूको भविष्य निराकार भएको देख्दा
ओइलाई ओइलाई त्यसै जानु छ
कुहिनुले बोलाउँछ।

Wednesday, September 8, 2010

आशाभित्रको सत्य

.....मृत्युअघि नै
घोर निन्द्रामा
स्याबासी लिएर
आलिङ्गनको आतुरीमा
आउँदा यमराज
मृत्युभोगी
समयको हत्या गरेर
घण्टालाई कुल्चेर
मिनटलाई निमोठेर
सेकेण्डलाई छयाप्पै पक्रेर
घुम्ती-घुम्तामा
चौतारीमा
अबोध शोकमा
प्राणीकोमा होइन ?
नभासिएर कतै
आफूतिर बोलाउँछन् नि
एक लाख रूपियाँको इनाम छ।

बाह्र वर्षपछिको जुनी काट्ने मान्छे
सर्वश्रेष्ठ मानव जीवन रे
देखिन्दैछ दैन्दिन
जिउँदै ह्वासह्वासती गन्हाउने
जस्तै काखीको पसिना।

जिउने क्रममा जीवनलाई
सबथोक रुपियाँ ?
कि दुर्घटना मृत जिउलाई ?

लम्पसार तेर्सिएका मृतकमा
अन्काउन्टेड्
विवेकहीन ?  कमिला
व्यस्त वेस्वार्थपनमा
मेहनतको फल पाउँदैछ
जीवन धान्नेको अभीष्ट
बादलपारिको देशमा।

हजार लाख इनाम
बित्थ्याको जिन्दगीको ?
थुतेर
दिदी-बहिनी नाइटो श्रृङ्गार
दाजु-भाई नाङ्गोलाई अझै नङ्ग्याउने
अकौरवहरू।

आमा-बाबुको
नौ महिनाको कोख फिस्
यस्तै हो इनाम ?
सिद्धिएपछि अन्तरकुन्तरमा
निराकार चित्र मृतकका
एब्स्ट्रयाक्ट आर्ट।

इनाम मृत्युपर्यन्त
निश्चित छ ?
देखिइनुअघि बुद्धिमता
पैसाको बोक्रामै बेहोरिएको हुन्छ जीवन
लेऊ भएर आशामा।
        ...........

Tuesday, September 7, 2010

हिप्-पप्-हरू

मार्केटको सपिङ् कमप्लेक्समा
एक अर्ध युवक
च्याटिङ्मा बनेको गर्लफ्रेण्ड
देखिने नितम्ब वस्त्र
जस्तै 'नागाको पात'
हिप् पप् भन्दै
चालिस् इञ्चको "जिन्स् पाइजामा"
किनि रहेका छन्।

म्युजिक वर्ल्ड / सी डी कमप्लेक्समा
जमात युवा-युवतीहरू
लहर लहर मिलाएर
देशगान गाउने धुनमा
म्युजिक भिडियो र एम पी थ्री-लाई
कोठाको टेबलमा राखेर
ढुङढुङ ढयाङ्ग्रो बजाउँदै छन्।

अमेरिकन ढाँचामा
उल्टा टोपी
कैदीले जस्तै
साङ्लीमा ताल्चा झुण्ड्याएर
जेल फोर्न तम्सिरहेका छन्।

साइबर क्याफेको जङ्गलमा
मस्किँदै मिचिक्क
कहिले आउने र भेट्ने धुनसँगै
दुईटै कानमा
ढयाप्पै छेकाबन्दी लाएर
हिप् पप् सपना देख्दै छन्।
.....          .....

साइबर क्याफेमा

आउँछे
घर झर्ने बाटो बिर्सिएर
काँचुली युनिफारमको फेर्न नभ्याई
पिठियूँ
हत्केलाभरि
छरपस्टिएका खाता-किताबमा
हतारिँदैछ पस्नलाई
साइबर क्याफे।

बस्छे
एकापट्टि छरपस्टिएका पन्ना
अर्को पट्टि जाम्मिएका शब्दहरूसँग।

हेर्छे
एक दृष्टि परिवेश
शान्तिको लामो साससितै
खुल्छन्
डेस्कटपका बन्द आँखाहरू।

चसाउँछे
मन्द गतिमा
मनसितै हातका सिन्की औँलाहरू।

घोँचिदिन्छे
माऊसका तिखा नङ्ग्राले
इन्टरनेट एक्सप्लोरका
चर्बीयुक्त जयभूँडी।

बगाईदिन्छे
आहाल
नदेखेका, नसोँचेका
हाई फाइभ, पिङ्क र
डब्लु डब्लु डब्लु डट्
सेक्स् डट् कमका
गन्ध परिकारहरू।

फुटाउँछे
अझै
मनका जाम्मिएका शब्द-वाक्यहरू
फड्काई र हिँडाईमा
तर........ती
चोर बाटो लागि दिन्छन्।

त्यसैले
खेल्छे
भक्कु लुकामारी
साइबर क्याफेको बन्द कोठेबारीमा
मिनिमाइज् र म्याकसिमाइज्-सितै !

      .........

दशैं

दशैं यस्तै हो..
अविजालको पातमुनि
जिन्दगीसँग अडेस् लागेका शीतको थोपा।

दुःख, दर्द, पीडादिको च्यूतपछिको
खुशी, आनन्द, हर्षोल्लास हो दशैं।

जिन्दगीभरिका
अटसपटस् आशीर्वादको
भारी हो दशैं।

क्षणिक हाँसो र शुभकामनाको
गुजुल्ट्याँई हो दशैं।

चोला उठाईपछिको
क्रन्दन र भयावहभित्रको
दशा हो दशैं।

किराले करयाक करयाक
काठ खाएपछिको
टाउको दुखाई हो दशैं।

आउँ र ह्याङ ओभरको
ऐना हो दशैं।

टवाँट्भित्रको
अरिङगलको गोला हो दशैं।

रगतको बाछिटाले
मुछिएको टीका हो दशैं।

तासको एक्का
बादशाह र मेमको
हैकमवाद हो दशैं।

उफरयाँई र लडाई जस्तै
भिरको चिन्डो उँधो न उँभो हो दशैं।

अनिच्छाभित्रको
पलैंटी कसाई हो दशैं।

लिङ्गे पिङ्गको मच्चाई र
टुप्पो छुनुको जस्तो
धोको हो दशैं।

रक्सी र खसीको
साँढे जुझाई हो दशैं।

जुनी पहिरनको
फेराई हो दशैं।
   ......

म पिउँदिन भन्छु

कति...पिउँदिन भन्छु
कति...थमथमाउन खोज्छु
तर
व्याकूल भएर आउँछ
मनका दुःखहरू
बाढी झैँ उर्लेर आउँछ
मनका पीरहरू !

त्यसैले म
घुट्घुट् पिउँदैछु
भागाईहरू
दुःखाईहरू
हुस्की रमका प्यालासितै।

कसाईले नाङ्गै बनाएका
बोइलरको चोक्टाहरूमा
जीवनका चोक्टाहरू देख्दैछु
विसङ्गतिको खुकुरीले हरपल काट्टिरहेको।

त्यसैले म...पिउँदिन भन्छु..तर

पल्टाउँछु जब
अखबारका पृष्ठहरू
मृत्युशैयामा मरेकाहरूको
विभत्स समाचारले
अनि म मरे भन्न नपाएका
वेरस् शब्दहरूले
ऐठन पार्छ घाँटीमा हरएक रात।

त्यसैले म पिउँदिन भन्छु तर..

मृत्यु बोकी आएका आइलाले
झारेका पहाडको आँसु
समतल बसेर म
हरएक साँझ पिउँदैछु घुट्घुट्।

त्यसैले म पिउँदिन भन्छु
हरएक रात
मत्थु लोग्नेले स्वासनीलाई फकाउन खोजे जस्तो
प्रेमीले प्रेमीकालाई छक्याउन खोजे जस्तो।

तर म पिउँछु नै हरएक साँझ
हरएक रात !
दुखाईहरू
भोगाईहरू
विसङ्गति जीवनको !!
  xxxxxx

Monday, September 6, 2010

तिमीबिना

अब त
बाँच्नै गाह्रो भएछ
तिमीबिना..!
आधुनिकीकरण  तिम्रो  रूप
बोली  र चालले आफै
उठ्न-बस्न नसक्ने भएछु
त्यसैले
जिन्सको  खल्तीमा
दङ्ग-दङ्ग  गन्हाउने
तिम्रा ग्यालरी  पेटका
पिक्चर-भिडियो र
एम.पी.थ्रीको  सर्वस्व यातना बोकेर
बजार
गाउँ-बस्ती  फनफनी घुमाउँदैछु।
हिजाज
नझस्काएसम्म, नब्यूँझाएसम्म
वीणमा लाठिएको साँप भाको छु
सातो  हराएको  मान्छे  भाको  छु।
सङ्घर्षमा
थोत्रे पत्र लेखनलाई पराजित गरि आएको तिमी
बहभरिका
कानका जाली फुट्ने गरी
रातभर-दिनभर
सुनाएको प्रेमका  कथाहरू
 बिर्सन सक्छौ कसरी ?
तिम्रो आगमनले
जीवन परिधिभित्र
नपुंसकताको  क्लिनिकमा
सय प्रतिशत ग्यारण्टीको  साथ
हर्बलको काम गरेको छ।
अपरिचित सुन्दरीहरू
तिम्रो फ्री सिमकार्डको
म्यासेज र बोली प्रवाहको  भेलसँगै
बगेर आउँदैछन् कोठाभरि ! सडकभरि !!
अवसरवादी / सुविस्तावादी
भुक्तभोगीहरू
तिमी जस्तैहरूले गर्दा
नपुंसकताको सिँढी उक्लेर
यौन क्रीडामा डुबुल्की मार्दैछन्।
र .........त
डर  छ मनभरि
कतै
हरण गरि लान्छन् कि तिमीलाई
अपरिचित बन्द कोठामा।
अनि...... त
तिम्रो पिक्सेल आँखाअघि
द्रौपतिहरू
बार नतर्कि जस्तै भएर
मिम्रो अङ्ग प्रत्यङ्गमा
औँला नचाई दिन्छन् कि !

एम एम एसमा गान्धी

अमेरिकन पपुलरिष्ट
वेब साइटमा
अहिंसाका  गान्धीका
धोती  पुत्काउन  तम्सिएका
महाभारतको करौवलाई
म अर्जुनको  के वास्ता ?
म कृष्णको  के  वास्ता ?

 मस्तिष्क  
कमप्यूटरको  इच्छाले
बुद्धिजमको  बुद्ध
हिमाली  शंकरको
बाघ छालालाई
एम एम एसको
विश्व बजारमा
स्वात्तै सुर्काईँदैछ।

हेर !
बुद्धिको
अहमको 
प्रतीक  एडभान्सको
बिम्ब ...
कुहिनु  जुर्मुरिराको
नालीको  आलु  जस्तै।

देख्नु  हुँदैछ ?
स्तम्भ युगको
आधारशिला  राष्ट्रियताको
महान हरूलाई
हरूको’- व्यक्तित्वलाई
व्यक्तिको-  अस्तित्वलाई
फ्री  कन्सेसनमा
ब्लुतुथको  सहारामा
अतृप्त  रूपरङ्ग  बनाई
अदृश्यको  पछिपट्टि
फ्लास् दिँदैछ।

........................









मेरो गाउँलाई सोध

जिजीविषा प्रत्येक मान्छेको
लटरम्म तर नपाकेका फल र
फक्रन आतुरिएका फूलका कोपिला जस्तै
अपत्यारिलो जीवन चक्रमा
बाँच्नुछ, हुर्कनुछ त्यस्तै फक्रनु
व्यंग्यात्मक हाँसो
अवहेलित दृष्टिको घेराभित्रबाट
आत्मग्लानि, अभिशाप, दुर्भाग्यको कथा
मेरो गाउँलाई सोध

हेलचेक्राई, शोषित, दमित इच्छाहरू
एउटै रूखमा जीवन नबुझी तुर्लुङ्ग झुण्डिएका
भकटे, सुन्तला त्यस्तै डल्ले खोर्सानी
स्वशाषित, स्वतन्त्र, स्वअस्तित्वमा बाँच्ने आकांक्षा
भकटेभित्रको सन्तान भकटेको
सुन्तलाभित्रको सन्तान सुन्तलाको
खोर्सानीभित्रको सन्तान खोर्सानीको
धप्प छात्ती फुकाएर जिउन अघि
चिथोरिएर, निमोटिएर विवश बनेको कथा
मेरो गाउँलाई सोध

नभएको कसलाई छ ?
स्वतन्त्र बाँच्ने-बनाउने रहर
छुट्टै पहिचान जीवनको
छुट्टै मूल्य जीवनको
छुट्टै अस्तित्व जीवनको
यहाँ तर...
मानवता दानवताको घेराभित्र
केस्रा-केस्राभित्र
रस-रसभित्र
निर्धक्क आडम्बरको घुम्टो ओढेर
आफ्नै जीवनको मूल्यहीनतामा
फुस्रो हाँसो
पाइरियाको ङिच्च दाँत देखाएर
पल-पल ती
स्वशाषित, स्वअस्तित्व चाहनेहरूमाथि
जमाएका प्रभूत्त्वको कथा
मेरो गाउँलाई सोध

कठयाङ्ग्रिने जाडोलाई आफ्नै ठान्नेहरू
निर्धो, विदेशी कहलाइएका कथा
‘स्व’ भावना पटक-पटक लुटिइएका कथा
‘गाँस’ शिक्षाको गाईले खाएर
भूँडीभित्र पचाउन नसकेर
सुस्तरी-सुस्तरी भूँईमा तेर्सिएका कथा
मेरो गाउँलाई सोध !
आफ्नै गाउँलाई सोध !!

बाघचुलीमा


ब्यागको  थैली  थैलीमा
रम,सिगरेट,भुजाको
अटस-पटस भारी
जोगीले झोला पिठ्यूँमा बोके झैं
साथसाथमा गिटार
कतै मान्छेको लास बोकेर हिँडेको जस्तो
गुनगुन्याउदै गुनगुन्याउदै
रातको  मध्यमा
कसैले चिहाउँछ कि भन्ने त्रास बाकी
प्रकृतिको अमूल्य देन
सौन्दर्यको खानी
प्रवित्रताले वञ्चित बाघचुलीमा
टँवाट् मातेर
उ गाउँदैछ, नाँच्दैछ फेरि छात्दैछ
उसलाई तर
त्यहाँ  उध्देश्य जानुको
पवित्रको  अर्थ र फेरि
सौन्दर्यताको  ज्ञानै नहुँदो  हो
उ बस् फेरि गाउने कोसिसमा छ
तर निस्तब्धता  !

---------------------






.