Tuesday, November 8, 2011

भाषण



दक्षिणतिर हुत्तिर
रोडा-ढुङ्गासँग अँङ्गालो भिरेर बगेको पानीले
गाउँको बाटोको टाउको चटक्क चिण्डे बनाएको छ।
भाषण दिने मान्छे
ऋषिकेशमा माउथ स्पीकरअघि उभिएको छ।

स्पीसियल पानीको नाला बनिने स्किम
उसको मुखबाट तरल चुहिँदैछ- रालजस्तै।
बजेटको मुटु पक्रेर उ
धामी बन्दैछ।

रातको उज्यालोमा
बाजेले आफ्नो अनुहारको रङ्ग सायद कहिल्यै देखेनन्।
बजूले सायद कहिल्यै आफ्नो सौन्दर्य देखिनन्।
त्यही गाउँको छप्परमा बिजुली बत्तीले
उज्यालोको झण्डा गाड्न नपाएको कति भइसक्यो।
सायद, कति युग।
बस्! त्यही गाउँको छप्परमा
बस्! त्यही गाउँको छात्तीमा हरेक साल भाषणमा बत्ती बल्छ।





















शब्दचित्रमा अर्को गाउँ



गाउँमा पस्छु..
जाम्मिएर थोत्रे भइसकेका सम्झानाको पोका बोकेर।
गाउँका सीमानाछेउदेखि भुक्ने कुकुरहरूको लामेताँत देख्छु।
तर त्रासको एक सिन्काले कुचेल्दैन मन।
थाहा भएकै छ-भुक्ने कुकुरले टोक्ने होइन।

गाउँमा हिँड्छु..
तलमाथि/ माथितल
यताउति/जताततै...
किनभने गाउँको माटोले मेरो गन्धमा कहिले थुकेको छैन।
किनभने मैले गाउँको माटो खाएर वान्ता कहिल्यै गरिया छैन।
तर यहाँ, सन्त्रासको बिऊ आफै उम्रन्छ।
हिँडेका मेरा पाइलाछापका माटो टिपेर गाउँमा मेरो वनवास फलाक्छ।

गाउँमा बस्छु...
शान्तिको सुसेली जुरेली झैँ फलाक्न सकिन्छ कि-ठानेर
तर चिलाउनेको स्याउलो हिर्काउने धामीहरू
घरैपिच्छे मेरो नाममा फलाक्ने गर्छन्।

जोखाना खुटिन्छ...
सत्य-सत्य सेतो चामलको टुक्रामा।
आर्शिवाद पाउँछन्-मेरा दोतरीहरू, कुन्नि कस-कसले
मन कुटुक्क दुख्नेगरि।

मैले देखेको गाउँ
मैले पचाएको ठाउँ- उस्तै उस्तै नहोला।
होला पनि।
तर गाउँको मानसिकता सिस्नुको भर्याङ्ग उक्लेर कहाँ पुगेको छ कुन्नि !

त्यसैले हिजाज म..गाउँमा सुटुक्क पस्छु..
मेरा बोलिहरू, शब्दहरू घाँटीमा घण्टी नझुण्डाई हिँड्छन्।
हातहरू नमस्कारको चुचुरा बनाउँनअघि सुत्न पुग्छन्।
आँखाहरू डाह-आह्रिशका रानीमासु हेर्नअघि झयाप्प निभ्छन्।

र पनि..घुम्ती-घुम्तीमा लम्की थाप्न
मेरा खुट्टाका नसा पर्खेर बसेकाहरूलाई
मन लाग्छ-एक सेलुट, हुत्तिहाराको मारिदिउँ कि !
हर थोकमा काखी च्यापिएर उम्रिएका रौँ-हरू
र हरएक पल काखीका रौँ जन्माउन खप्पिस भएका शिवहरूलाई
मन लाग्छ-गणेशका सूँढ उपहार दिउँ कि !

यसैमा बुद्धिकुबुद्धिको घमासान युद्ध भइरहन्छ-दिमागमा                             त्यतिबेला मेरा जिन्दगीमाथि आह्रिस गर्ने                                              सर्वस्व आँखा र कानहरूलाई च्यातिदिऊँ लाग्छ।
तर, फेरि के हुन्छ र है ?
आँखा र कान भएका पशुहरू फेरि दर्शक हुन आउनै पर्छ।

इच्छा अनि मृत्यु



इच्छाहरू आँखाभरि सिउरेर एक हूल कुकुरहरू
जिन्दगीको स्वादिलो रङ्ग
र जिन्दगीको अन्तिम रङ्ग हेर्नलाई
मत्युको पखेटा फिँजाउन तयार भई उभिएका छन्
एक लाम्टा मासुको अघिल्तिर।

राले इच्छाहरू त्यसको गिजाबाट नअडिएर
दाँतका फाकाबाट तरल तरल चुहिँदो हो।
त्यही रालमा कति सपनाहरू लाब्रे झैँ टाँसिएर बस्दो हो।
त्यही रालमा कति सपनाहरू झरेर ऐना झैँ टुक्रिँदो हो।
तर उसको इच्छा, सपना अनि बैँस
एक पलको सुखमा अडिएको छ।

मान्छेहरूकै आङमा मात्र छाउँछ  दसैँ ?
दसैँ आएर पनि किन आउँदैन त्यसको छात्तीमा ?
बस् ! दसैँ !
दशा भएर आइदिएको छ त्यसको निधारमा।

जन्मभूमि किन खोज्दैनन् यी अबोध ? कुकुरहरू ?
स्वतन्त्रता र अस्तित्त्वको किन ढ्याङग्रो ठटाउँदैन यी कुकुरहरू ?
मात्र, अधिकारको मुनाफा कमाउँछ
एक लाम्टा मासुमा पोँतिएको एक थोपा विष।

मासुको स्वाद चाख्न पाउनुको सपनामा
जीवनको एक चोइटा इच्छा कतै पूर्ण हुँदो हो-त्यसको।
त्यसलाई के थाहा तर
एक चोक्टा लाम्टा मासुमा
जिनदगीको सपना वेरङ्ग हुनेछ।

त्यसमा यदि,
चेतनाको गर्भ पट्पटी फुटेर
विवेकशीलताको एक दाना फूल फक्रिँदो हो त
अज्ञानताको हिमाल चढेर मृत्युशैयामा
शोकको झण्डा किन गाड्न परथ्यो र !


मीठो इच्छाहरू कति अमिलो भइदिएको छ
त्यसको अर्धाङ्गिनीलाई।
दसैँ र तिहार फनफनी घुम्ने अभिलाषाहरू
त्यसको सन्तानलाई कति तितो भइदिएको छ।
थाहा छ महाशयज्यू ?

तपाईको विवेकले उमालेको एक थोपा विष
अनि तपाईको जनसंख्या आबादीमाथिको प्रतिबन्धको एक घुट्को नीति।
जय होस् !
जय होस्- इच्छा
जय होस्- सपना
ती अबोधहरूको !

पुल


उज्जव दियो झैँ जिन्दगीको आर्शिवाद
निधारभरि दसैँमा टाँसेर हिँडेका बसुधैवहरूलाई
यो जुनीको वैतर्णी तर्नुभन्दा गाह्रो
त्यो झुलुङ्गे पुल तर्नु भइदिएको छ।

जन्मदिनको महाउत्सोवमा कोख्रोबाट संसार चिहाएकाहरू
जिन्दगीको रङ्गीन सपनाको जालो बुन्नै पाएनन्!

बुढो रूख!
छात्तीबाट उम्रिएका जिन्दगीको बैशाखी
रहरले टेक्नै पाएनन्!

आमाका मनहरू झरेर रगतका फाल्सा बग्छन्
आत्माशान्तिको रङ्ग लिपेर सुदुर देशसम्म।

मुटुहरू/भावहरू
ओँठमा कठै बरा!- को पुल्ठो बालेर गाउँ घुम्दैछन्
तर, गाउँमा तिहारको दियो जलेकै छैन।

हो!
जिन्दगीको लासबाट मन कुडाएर कुदेका धुँवाहरू
गाउँको मनलाई अङ्गालो हाल्नै सकेको छैन।

जिन्दगीको एक पावा हिउँदो हिँडेका छोराहरूको
रङ्गीन सपनाले पोतिएको जोबन
फक्रिएको हेर्नलाई
कुरीरहेका मनका आँखाहरू
बक्र, चोइटिएको पुलको चित्र मात्र देख्छन्।

गाउँ-बस्तीका ओछ्यानबाट
जङ्गलको शुन्यतामा समाधिस्त बन्न पुगेका सरिरहरू
कुन मनको आँखाले हेर्दा हुन्-
आफूअघि हिँडिरहेका गाउँका अनुहारहरू?
अतः
कुन मनका आँखाले चिहाउँदा हुन् गाउँका अनुहार- उसहरूलाई ?
कुन सम्वेदनाका फूलहरू चढाउँदा हुन् गाउँले-उसहरूलाई ?

यी कविता बिजनबारीको पुलमा अमृत्यु मर्ने र उनका परिवारहरूलाई समर्पित।