Monday, June 27, 2011

विज्ञापन


फोटोसपमा खिँचडी पाकेका अनुहारहरू
भाले मुङ्ग्रो जस्तो रङ्ग फेर्न व्यस्त छन्
दैनिक समाचार पत्रको मञ्चमा।

वान्टेड
….जीवनवृत्तिको
आयमिक एउटा अवधारणाको रेखा कोरिएको हुन्छ
एब्स्ट्रयाक्ट।

रङ्गीन भरोसाको खोस्टे विज्ञापन
फ्री-को कलेवरमा  
उत्रिएका नीजि व्यवसायीहरू
आदर्शलाई बलात्कार गर्न मात्र पोख्त छन्।
विश्वासको जोबनलाई वैश्या बनाउन मात्र खप्पिस् छन्।

श्री, बाबा, गुरूदेवहरू
रामलीलाको अभिनय गर्नका सट्टा
रोग निवारकको एड्बक्स् बोकेर
जुलुस हिँडिरहेका छन्।
तर मान्छेको बस्तीमा छरिएको एड्सको वीर्य
निगेटिव हुनै सकेको छैन।

शोकको एउटा विज्ञापन
कम्जोर मुटु घचघच्याउन आउँछ
आँसु र वेदनाको सास फेर्दै।
अनि आउँछन् फेरि
फ्वाँ-फ्वाँ सास फेर्दै
शुभकामनाका थपडीहरू।

तर आउँदैन किन विज्ञापनमा ?
कहिले, मेरो गाउँको मानचित्र !
मेरो शहरको मानचित्र !!
जहाँ,
दुःखहरू र्‍याँई र्‍याँई सारङ्गी रेटिरहेको छ।
जहाँ,
सपनाहरू टङ्टङ् घाम तापिरहेको छ।

Saturday, June 25, 2011

काठमाडौँ यात्रा


झोँका झोँकमा हिँडेको काठमाडौंतिर। दुई चोटि यस पल्टभन्दा अघि पुगेर फर्केको म। तीन चोटिमा पक्कै नेपाल घुमेछु या पुगेछु भन्ने बोध यसचोटिको तीर्थ यात्राले अनुभूत गराएको छ । अरूलाई पनि होला। मई 10 लाई प्रस्थान मिति तोके पनि भत्काइयो त्यसलाई। र 7 मई-मा नै आ-आफ्नो पाइलालाई शिवमन्दिरदेखि काँकाडभिट्टातर्फ मोडाई दियौँ चाई भाईको गुठले।
       काँकाडभिट्टा। त्यहाँदेखि तीन घण्टाको यात्रा धरानतिर। उन्मुक्त मनोभाव गुठ्याएर एक रात त्यहीँ बस्ने सुरसारमा हिँडेका। तीन घण्टाको बस यात्राले साथीहरूमा भोलिपल्ट काठमाडौँको रातभरिको बस यात्राको दिगदारीपन झ-झल्किरहेको थियो। मलाई फरक केही थिएन। मेरो लागि नौलो कुरा पनि थिएन त्यो।
        धरानको प्राकृतिक बनावटी-दृश्य रमाइलो । भनिन्छ त्यहाँ ब्रिटिस आर्मीका धेरै मानिस बसोबासो गर्छन्। घण्टाघर र वरीपरिको सानो धरान बजारले धेरै सजिएको ठाँउ।
        चारमा हामी, दुई कहिले धरान, काठमाडौँ नपसेका। ती नहिँडेका भाई भूपेनकै आग्रहमा यस चोटिको काठमाडौँ यात्रा गरिएको। तर भने नि झोँका झोँकमै।
         धरान। एक रातको निम्ति। बस्नलाई चाहेको जस्तो भाडाको कोठा नपाइँदो रहेछ। साधरणदेखि अति साधरण ढङ्गमा बनिएको कोठा साथीहरूलाई पटक्कै रूचेनन्। हत्तपत्त म कोठाको हेराईतिर लागिन पनि। साथीहरूका रोजाईको कोठामा भित्रिन मलाई कुनै आपत्ति नि थिएन। जान्य़्यो प्रत्येक होटल एण्ड लज लेखिएको बिल्डिङतिर। अनि फर्किँथ्यो हाँस्दै...मुस्कुराउँदै साथीभाई। किन होला..त्यो लेखेर धरानको इतिहास खल्लो नपारूँ। बस एक रात चल्दोमिल्दो होटलको कोठामा थकित सरिरलाई मासु भात ख्वाएर थेचारि दियौँ।
         भेलिपल्ट। सात बजे विहानको। टिकट काटेर दुई बजेसम्म धरानको चक्कर। सपिङ पनि। दिनको साँढे तीनदेखि काठमाडौँतिर प्रस्थान। लगभग दुई-तीन घण्टाको यात्रामा केटाहरूको हालत सुस्त। अघिल्लो दिन पनि भाईको त्यस्तै2 भएको थियो। बहिनीको सम्झानाले सतायो कि क्या हौ भनेर दाजुले ठट्टाको झटारो पनि हिर्काउनु भो भाईलाई। पछि बाटोमा एकतर्फी फर्केर गुमसुम बसेको देखेर  त्यस्तै झटारो हानेको थिएँ मैले पनि। अनि भनेको थिएँ काठमाडौँ यात्रको संस्मरण लेख है भूपेन। मोरोले अब के लेख्थ्यो र। पशुपति,बौद्ध,स्वम्भू ,कृण्ण मन्दिरको चोकटमा ढोक गरेर बहिनीलाई नै मागेछ क्यार..। फर्किएर आएपछि विवाहको एक वर्षपछि बनावटी प्लान आफै भत्काए। अनि उसले विवाहको अर्को सिँढी बनाई दिएर वैवाहिक जीवन शुरू गर्दैछ। उसलाई वैवाहिक जीवनको शुभकामना। कुरा त फर्कि पो सकेछ। फेरि उतै जाऊँ।
       कोटेश्वर, काठमाडौँ। विहानीको चिसोलाई डसाउँदै भए पनि पुग्यौँ। त्यहँबाट रत्न पार्कको दिशातिर रिजर्भ ट्याक्सिमा हाँकियौँ। छोटोमा लेख्दा बिचबिचको बाँकी कुरा जफ्त भएको छ। पुरानो बस पार्कको डिलमा पुगेपछि रत्नपार्क यै हो भन्दै, नौ तल्ले धरोहरलाई पनि औँलाले देखाईदिएँ। बस पार्कको पल्लोभित्ता एकतमासले टाँसिएर बनिएको होटलहरू सुसज्जित देखियो। त्यतै जाने तरखर गर्‍यौँ। गयौँ पनि। धरानमा जस्तो फर्किन पर्‍यो फेरि। ड्राइभर, खलासी आधा रातमा आएर सुत्ने कोठा हुनसक्छ, नेपाल मेड बेडीको ह्वास्-ह्वास् गन्ध सिँढीसम्म रूमलिरहेको थियो। भागेर, बागबजारको अद्वैत मार्गतिर लाग्‍यौँ। त्यहाँ एक दुईटा होटल एण्ड लज लेखिएको प्लेट देख्दा-पस्यौँ। तर कोहीमा के नमिलेको कोहीमा के। अन्तमा मैले, म अघिलो साल जाँदा बसेको होटलमा सिदै हालेँ। कर पनि पर्‍यो। एक त निन्द्रा। अर्कोतर्फ कुन्नि के के। मिल्यो पनि कोठा। सुतियो एक मस्त निन्द्रा।
पहिलो दिन। उठेर धरोहरको परिक्रमा। काठमाडौँ मलको चक्कर। यताउता गर्दा बित्यो।
त्यसपछिको दिनहरू क्रमागत रूपमा एउटा-एउटा दिशालाई ऐम गरेर हिँड्थ्यौँ। कहिले कुन ठाँउ कहिले कुन। बसेकै होटलमा खानाको व्यवस्था भईदिएकोले सजिलो पनि थियो। साहुनीको खाना दिने समयलाई हामीले कहिले ठीक ढङ्गमा अप्नाएनौँ। दुई दिनभित्रमा आफ्नोपनको वतावरण सिर्जाना गरिसकेका थियौँ। गफ पनि ठिक्क हिर्काउने साथीभाईले। ए मुख्य कुरा हामीले त्यहाँको भाषा बस्दारहँदा निकै सिकिसकेका थियौँ। धेरै मात्रमा बासु दाजुले भाका टिपिसक्नु भएको थियो। उहाँलाई अझ स्मरण छँदैछ त्यहाँको बोलीको। साहुनीको नक्कल गर्दा दाजुले झण्डै आफ्नो भाका बिर्सिनु भाको। बिस्तारोसँग बोल्ने, तर हसाउँनु हुने सदिप दाजुको वर्णन नगरी काठमाडौँ यात्रा अधुरो हुनेछ। साहुनी अनि अन्यसँग उहाँको आफ्नै पाराको मित्रलाप।
   त्यस होटलको अझ अमिलो अचार मेरो मुखमा छँदेछ। कहिले नसकिने त्यो अचार। साहुनीले अचारको गाडधन पाएको हो कि क्या हो। हामीमाझ एकजना साकाहारी। म बिचको। दुई भन्नै नहुने मांसहारी। मासुबिनाको खाना कहिले मुखबाट नछिर्ने उनीहरूको। म मासुदेखि अलिक पर बस्ने। तर खाएँ उनीहरू सँगसँगै। अहिले पनि मासु सम्झँदा वाक्क लाग्छ। साथमा प्रबिन दाई। जो अहिले त्यहाँका बासिन्दा हुनु भएको छ। खासमा उहाँको पाइलालाई हामीले चोर्नु परेको थियो। आफ्नो काम धन्धालाई स्थगित राखेर उहाँले जुन किसिमको साथ र भरोसा हामीलाई दिनु भो त्यसको निम्ति आभार प्रकट नगरी हुन्न।
  विशेष मन्दिरहरूको दर्शन गर्‍यौँ। नेपाल भनेको पनि वास्तवमा त्यति नै हो। बजार त जुनै ठाँउमा पनि त्यस्तै हो। जुन मन्दिर नेपालमा अवस्थित छ त्यो नेपाल राष्ट्रको गहना हो। तर राजाकालीन शासनको अन्तपछि त्यसको व्यवस्थापनमा कमि अवश्व आएको हुनपर्छ। कुनै योजनावद्द ढङ्गमा ती पुरातन सम्पतिको जगेरा गर्नु अहिलेको मान्छेले जानेका रहेनछ भन्ने प्रत्येक मठ मन्दिरको कुनाकाप्चाबाट छर्लङ्ग देखिन्छ। बौद्धको बनावटी केही मात्रामा अन्य मन्दिरको तुलनामा सफा सुग्धर देखिँदो हो। भक्तपुर जाने कोसिस असफल भयो। त्यहाँको टुँडाल हेर्ने अभिलाषा सबैको जुरेन। एक त अत्तो न पत्तोमा नेपाल बन्द। घरि तराई बन्दको हाहाकारले तर्साई रह्यो। तर्सिनु  स्वाभाविक थियो। अर्काको देशमा के गर्नु सक्थ्यौँ र नेपालीको भेषमा। त्यसैले भक्तपुरका ती टुँडाल हेर्ने इच्छालाई गोजीमा राखि फर्किने विचार गरेका थियौँ शुक्रबार। त्यही दिन नेपाल राष्ट्र बन्द। सोधे बन्दको काऱण, कसैलाई पत्तो हुँदैन रहेछ। फेरि फाटकफुटपक दोकान खुल्ला,वाहन चालु हँदै तीन बजेतिर सम्पूर्ण काठमाडौँ खल्ला भईसकेको हुँदोरहेछ, अचम्म। शनिबार खुल्लाको हल्ला। फेरि आइतबार बन्द। त्यसैले शनिबार हिँडे आइतबारको विहानीपख हामी आफ्नो ठाउँमा पुगिने अड्कालले हिँड्यौँ।
   साहुनीलाई एक पोका पैसा बुझाएर निस्कँदा ,साहुनीको अनुहार पनि उज्यालिएर फेरि नियास्रो झैँ देखिएको थियो। केटाहरूलाई पनि फर्किने जाँगर त चलेको थिएन कि ! तर हिँड्नु नै पर्ने बाध्यतता थियो हाम्रो। विदाबारी मागेर हिँडेका हामीलाई प्रवीन दाईले कोटेश्वरसम्म फेरि साथ दिनु भो। त्यसपछि हामी आफ्नो गनतव्यतिर।
   ठयाक्क !  केही ठोकिएको आवाज कानमा पर्‍यो। झँसङ्ग ब्यूँझे। निदाएको थिएछु। हेर्दा आफू चढेको बस आएकै बाटो फर्किँदैथ्यो। किन भन्ने जिज्ञासाको उत्तर बसभरि फैलिरहेको थियो। कुनै अज्ञात गाडीले हिर्काएर भागेछ। निकै स्पीडमा हाँकेको हाम्रो बसले त्यो हिर्काउने गाडीलाई फेला पारे। एउटा दाईले ड्राईभरको गाला रातको शुन्यतामा निकै पड्कायो। इण्डियाबाट गएको गाडी रहेछ केही सामान लिएर । गोजीको सात सय भा रू खुत्काएपछि उसलाई छोडिदियो। यसरी पछि गएर खेदेको दृश्य हामीलाई फिल्ममा जस्तो लागेकोले चर्चा पनि गर्‍यौँ। हाँस्यौँ पनि। तर उतापट्टि भोलिको तराई बन्दले भने टेन्सन दिँदैथ्यो। त्यही माथि काठमाडौँमा पेट्रोलको माहामारी। उफ् ! नचिनेको गाडीलाई दिँदै नदेने।
   विहान। सोँचेको समयभन्दा लगालग ढिलोमा दमक आईपुगेका थियौँ। त्यहाँदेखि यता बन्द छ भन्ने होहल्लाले फेरि बिचलनीमा पर्‍यौँ। रिक्शावालाहरू 250 रू मा काँकाडभिट्टा भन्दै कराउँदै थियो। गाडीलाई ढेड घण्टा लाग्ने बाटोमा रिक्शालाई कति लाग्ला ? म आफै हाँसि पठाएँ। सोँचे, बरू त्यहीँ होटल खोजेर बस्न ठीक।
   पुलिस दाईहरू एक गुठ आएछन्। अनि सबै काठमाडौँदेखि झरेका बसहरूलाई एक लस्कर बनाउनु भो। अनि आफूहरू एउटा जीपमा चढेर हाम्रा रक्षक भई अघि बढनु भो। झापा आईपुग्दासम्म बन्द गर्नेहरूको कुनै चहलपहल देखिएन। त्यसपछि पुलिस दाईहरूले हामीलाई त्यसै अघि जाने अनुमति दिनु भो।
   काँकाडभिट्टा आईपुग्दा प्राय: दोकानहरू खुल्ला थियो। भने नि लहै-लहैमा बन्द हुने देश। कारण कसैलाई पत्तो नहुने। अचम्म।
     आरामले त्यसपछि चारभाई, फेरि हिँडेकै ठाउँ शिवमन्दिरको कोठामा। इति।


मल्टिक्यारकटरहरू

चिरिच्याँट्ट
फेसनका लेप लाएका अनुहारबाट
बुर्का
सो
     ता
         रिँ
             दै
                छ।

आङमा बुँई चढ्न आएका
ई-युग
माऊसुली भएर
जन्माउँदैछ हरपल
अदृश्य इच्छावृत्ति।

'गुगल सर्च'-को विशाल कोठामा
किवोर्डको चुक्कुल लाएऱ
स्क्रिनको न्यानो ओछ्यानमा
हरपल बलात्कृत गरिँदैछ
एउटा एउटा रङ्ग पोतिएको अनुहार।

अपेक्षाकृत बलात्कारीहरू
कति शान्त छन् यहाँ।
ई-युगले रङग् पोँतेका
पिक्सेल आँखाअघि
लजाउँदै
मुस्कुराउँदै
डाटा क्याबलबाट
स......
     ल....
            ...ल
पानीमा लेदो झैँ बहँदैछ।

        आह !
स्वर्णिम आनन्द
     मनोवृत्ति
नर्कको राक्षस जस्तै।

सुनिन्छ
देखिन्छ
मल्टिमिडिया देश घुमेर आएका
मल्टिक्यारकटरहरूका
बठ्याँई र मनोवृत्ति
तर कति सहज
तर कति निर्लज्ज।



अहो !
बुर्का-चोली पनि बिक्री भएछ
सित्थै !

कति सस्तो ?
काली केटीहरूको।

तर
ब्लाकमेलको घुम्टो ओढे्र
पसिनाको गन्धमा अमिलिएर पनि
उफ्रि-उफ्रि धान नाँच गर्दैछन्
काले केटाहरू।

Friday, June 24, 2011

फेसबुकमा द्रोपतीहरू

फेसबुक भन्छ
तर फेसको रङ्ग नै देखिँदैन।

नक्कली फेसको रङ्गमा झुम्छन्
तर मनबुकसम्म पस्छन्।

मित्रताको खाँट्टी सिपाही हुँ भन्छन्
युद्ध गर्नै जाँदैनन्
यति हो
लुकामारी खिलिबस्छन् मनग्गे
फेसबुकको जङ्गलमा।

भावनाको उत्कट इच्छा
कल्पनाको रङ्गले लिपेर
फ्याँक्छन्,
नलाग्दा, फेरि फ्याँक्छन्
फेबिकलको एक चोइटा टाँसिन्छ मनबुकमा।

परिक्रमामा संसार जितेर आएका फेसहरू
नियास्रो रुपको बादल फटाएर
थरी-थरीको
चकमक भिरेका छन् अङ्ग-अङ्गमा ।

सोधे
भन्छन्
सीता होइन, द्रोपती  हुँ
तर ई-जेनेरेसनको।

फेरि भन्छन्
महाभारतको कथा पनि कहाँ सकिएको छ र ?

.बलबहादुरहरू

खाली खुट्टै हिँडेका घोडाको टाप जस्तै
बलबहादरहरूले हिँडेका पैँतालाका छाप
अझै पुछिन सकेको छैन
इतिहासको खल्लो रङ्गले।

घाँटीमा ऐठन पार्ने गरि कस्सिएका
उपनिवेशित चियाको नाके डोरी
अझै छुट्न सकेको छैन
बलबहादुरहरूका घोक्रो छेलेको छालाबाट।

ढुङ्गा फोर्न लाम लागेका बलबहादुरहरूका हातहरू
प्यासी छन् पलपल
ठेलालाई सुमसुम्याउँदै
सङ्गीत भर्नु वेरङ्ग जीवनको।

ढुङ्गाभन्दा कठोर तालमा बुनिएका
सपनाहरूका भक्कानो
अझै फुट्न सकेको छैन
बलबहादुरहरूका चिसा आँखाबाट।

रङ्ग पोति रक्ताम्मे पारिदिएका
बलबहादुरहरूका फुक्क छातीमाथि
अझै परेड खेल्न छाडेका छैन
देशका सिपाहीहरू।

एउटा अतृप्त इच्छावृत्तिको युद्धमा
लड्न हिँडेका आमाहरूका कोख
र एउटा बेटुङ्गो सपनाको राँको बाल्न
कम्मर कसेका बाबुहरूका इच्छाशक्ति
अझै झुत्त्रिएको छैन
अझै मुर्झाएको छैन
बलबहादुरहरू जन्माउन।

झोपडीहरू

फाटेका सपनाको छाता ओढेर
कुख्रे निन्द्रा सुत्न गाउँमा पसेका
झोपडीहरू
संसार फट् फट् फट्किँदा पनि
भ्रमको आगो तापेर
झुक्रिएर बस्न वाध्य छन्।

इच्छाहरू बाँसको खाम्बोमा
सुर्काउनै सकेका छैन झोपडीहरू
बरू !
फ्यात् फ्यात् कुहिएर लड्दैछन्
आकांक्षाहरू
विपनाहरू
खरको धुरीबाट।

तप् तप् चुहिएका विस्मादका आँशु
सिकुवाको डिलमा टुक्सुक्क बसिरहन्छ।
हाँसोको एक पाहुना गीत
सङ्घारको फेदिमा टोलाईरहन्छ।

भारमा लमतन्न तेर्साइएका दाउराहरू
सँधै सँधै वियोगिनीको गीत गाउँछन्।
प्रसन्ताको बिऊ छिपेर कुप्रेका अनुहारहरू
सँधै सँधै झरी गीत गाउँछन्।

कति मोहक देखिने निलो आकाश
कति शीतल देखिने चन्द्रमा
त्यसमा कोरिएको झैँ लाग्ने कारङ्किरिङ रेखाहरू -ताराको
हेर्दै झोपडीहरू
मानचित्र कोर्न थाल्छन् प्रत्येक रात
इच्छा
रहर
सपना
र आस्थाको।