घ्वार् घ्वार् पानी पर्दैथ्यो
मीठो निन्द्रा चिसो पारेर।
झरीमा नजाऊँ भने बोनस् घट्छ ख्वाप्पै !
उठ्यो बाबु।
सिरानीमा लिप्पिएका आमाका कानले पनि
आँगनमा रगटिएको हँसियाको स्याँइ स्याँइ सुन्दैथ्यो।
बुढोलाई आज के भएछ हँ ?
मनभित्रै सोँचेर उठिन् आमा।
फिक्का एक मग चिया सासमै रित्याएर
बाबु हिँड्यो-विघा, ठिका-यतितिर।
बिहानीको विघा
दिनको ठिकाको समय सकिँदासम्म
गोरूलाई बेलुकीको एक छाक घाँस पनि ल्याउँछु भनेर
बर्सातीसँगै हसिँया र नाम्लो बोकेर हिँडेको बाबु
फर्किएको थिएन।
हल्ला भयो। भीड भयो।
आँखा खोलेर हेर्नथाल्यो।
आमाको आँखाले हेर्दा
पारि चियाबारीको भित्तामा
सिरिषको फूल जस्तो देखिन्थ्यो-बाबु।