Tuesday, September 7, 2010

हिप्-पप्-हरू

मार्केटको सपिङ् कमप्लेक्समा
एक अर्ध युवक
च्याटिङ्मा बनेको गर्लफ्रेण्ड
देखिने नितम्ब वस्त्र
जस्तै 'नागाको पात'
हिप् पप् भन्दै
चालिस् इञ्चको "जिन्स् पाइजामा"
किनि रहेका छन्।

म्युजिक वर्ल्ड / सी डी कमप्लेक्समा
जमात युवा-युवतीहरू
लहर लहर मिलाएर
देशगान गाउने धुनमा
म्युजिक भिडियो र एम पी थ्री-लाई
कोठाको टेबलमा राखेर
ढुङढुङ ढयाङ्ग्रो बजाउँदै छन्।

अमेरिकन ढाँचामा
उल्टा टोपी
कैदीले जस्तै
साङ्लीमा ताल्चा झुण्ड्याएर
जेल फोर्न तम्सिरहेका छन्।

साइबर क्याफेको जङ्गलमा
मस्किँदै मिचिक्क
कहिले आउने र भेट्ने धुनसँगै
दुईटै कानमा
ढयाप्पै छेकाबन्दी लाएर
हिप् पप् सपना देख्दै छन्।
.....          .....

साइबर क्याफेमा

आउँछे
घर झर्ने बाटो बिर्सिएर
काँचुली युनिफारमको फेर्न नभ्याई
पिठियूँ
हत्केलाभरि
छरपस्टिएका खाता-किताबमा
हतारिँदैछ पस्नलाई
साइबर क्याफे।

बस्छे
एकापट्टि छरपस्टिएका पन्ना
अर्को पट्टि जाम्मिएका शब्दहरूसँग।

हेर्छे
एक दृष्टि परिवेश
शान्तिको लामो साससितै
खुल्छन्
डेस्कटपका बन्द आँखाहरू।

चसाउँछे
मन्द गतिमा
मनसितै हातका सिन्की औँलाहरू।

घोँचिदिन्छे
माऊसका तिखा नङ्ग्राले
इन्टरनेट एक्सप्लोरका
चर्बीयुक्त जयभूँडी।

बगाईदिन्छे
आहाल
नदेखेका, नसोँचेका
हाई फाइभ, पिङ्क र
डब्लु डब्लु डब्लु डट्
सेक्स् डट् कमका
गन्ध परिकारहरू।

फुटाउँछे
अझै
मनका जाम्मिएका शब्द-वाक्यहरू
फड्काई र हिँडाईमा
तर........ती
चोर बाटो लागि दिन्छन्।

त्यसैले
खेल्छे
भक्कु लुकामारी
साइबर क्याफेको बन्द कोठेबारीमा
मिनिमाइज् र म्याकसिमाइज्-सितै !

      .........

दशैं

दशैं यस्तै हो..
अविजालको पातमुनि
जिन्दगीसँग अडेस् लागेका शीतको थोपा।

दुःख, दर्द, पीडादिको च्यूतपछिको
खुशी, आनन्द, हर्षोल्लास हो दशैं।

जिन्दगीभरिका
अटसपटस् आशीर्वादको
भारी हो दशैं।

क्षणिक हाँसो र शुभकामनाको
गुजुल्ट्याँई हो दशैं।

चोला उठाईपछिको
क्रन्दन र भयावहभित्रको
दशा हो दशैं।

किराले करयाक करयाक
काठ खाएपछिको
टाउको दुखाई हो दशैं।

आउँ र ह्याङ ओभरको
ऐना हो दशैं।

टवाँट्भित्रको
अरिङगलको गोला हो दशैं।

रगतको बाछिटाले
मुछिएको टीका हो दशैं।

तासको एक्का
बादशाह र मेमको
हैकमवाद हो दशैं।

उफरयाँई र लडाई जस्तै
भिरको चिन्डो उँधो न उँभो हो दशैं।

अनिच्छाभित्रको
पलैंटी कसाई हो दशैं।

लिङ्गे पिङ्गको मच्चाई र
टुप्पो छुनुको जस्तो
धोको हो दशैं।

रक्सी र खसीको
साँढे जुझाई हो दशैं।

जुनी पहिरनको
फेराई हो दशैं।
   ......

म पिउँदिन भन्छु

कति...पिउँदिन भन्छु
कति...थमथमाउन खोज्छु
तर
व्याकूल भएर आउँछ
मनका दुःखहरू
बाढी झैँ उर्लेर आउँछ
मनका पीरहरू !

त्यसैले म
घुट्घुट् पिउँदैछु
भागाईहरू
दुःखाईहरू
हुस्की रमका प्यालासितै।

कसाईले नाङ्गै बनाएका
बोइलरको चोक्टाहरूमा
जीवनका चोक्टाहरू देख्दैछु
विसङ्गतिको खुकुरीले हरपल काट्टिरहेको।

त्यसैले म...पिउँदिन भन्छु..तर

पल्टाउँछु जब
अखबारका पृष्ठहरू
मृत्युशैयामा मरेकाहरूको
विभत्स समाचारले
अनि म मरे भन्न नपाएका
वेरस् शब्दहरूले
ऐठन पार्छ घाँटीमा हरएक रात।

त्यसैले म पिउँदिन भन्छु तर..

मृत्यु बोकी आएका आइलाले
झारेका पहाडको आँसु
समतल बसेर म
हरएक साँझ पिउँदैछु घुट्घुट्।

त्यसैले म पिउँदिन भन्छु
हरएक रात
मत्थु लोग्नेले स्वासनीलाई फकाउन खोजे जस्तो
प्रेमीले प्रेमीकालाई छक्याउन खोजे जस्तो।

तर म पिउँछु नै हरएक साँझ
हरएक रात !
दुखाईहरू
भोगाईहरू
विसङ्गति जीवनको !!
  xxxxxx