Friday, September 24, 2010

.. हरू !

मुटुमा
गाडे घाउ भएर भिजेका
पहेंलो पीपले
आदर्शतालाई रङ्गहीन बनाएको छ।

कुप्रो मान्छेहरूका शहर-बस्तीमा
कम्प्युटर
परालको आगो जस्तै
हुर-हुर बल्दै
झयाप्पै निभ्दैछ।

साइली र माइली-हरू
हिमालको चुचुरामा
रङ्गहीन झण्डा गाड्न
हस्याङपस्याङ गर्दैछन्।

कान्छी-हरू
देश चलाउने धुनमा
परिबन्धको डोरीमा बाँधिएर
गोसखानमा
लाम् लागिरहेका छन्।

कुन्नि………….!
कञ्चनजङघामा उदाएको सूर्यले
हिमाल पग्लिँदैछ।

साइला र माइला-हरू
किनारीकृत
रोडा-ढुङ्गा जस्तै भएका छन्।

कान्छा-हरू
साङ्लीमा बाँधिएर
भूसस्याहा कुकुर जस्तै
फनफनी चेप चहारीमा छन्।

जेठा-जेठी-हरू
कोठामा………
क्रमशः
ब्लुतुथको अदृश्य सङ्केतमा
एम एम एसको
विश्वबजारमा
झाँगिदै
अझ मौलाउँदै गईरहेका छन् ।