Friday, May 25, 2012

पसिनाको साइनो


ढोँडे नाक खुम्च्याउँदै गाडीबाट ओर्लेका मालिक
काखीबाट बत्तासिएर उडेको
बिर्खेको पसिनाको हावामा लतपत् भिजिरहेको छ।

फ्याक्ट्रिमा पेलिएका चियाका निधारहरूमा
बिह्वल बिर्खेका हातहरू जिन्दगीको पसिना पुछिरहन्छन्।

डल्लो परेको रूमालमा चेप्टिएका
बिर्खेका निधारका पसिनाको बिऊ
मालिकको कालो अनुहारमा टलक्क मोतिजस्तै टल्किरहेको छ।

पहाडजस्ता नाकका चुचुराबाट
जति ठेला नउठेका औँलीहरूले पछारे पनि
जति हसिँया पक्रिन नसकेका हातहरूले काटे पनि
बिर्खेका निधारबाट पसिनाको मुहान सुक्न छाड्दैन।

पसिनासँग बिर्खेको साइनो
उसको मालिकसँगभन्दा कोसौँ टाडा छ।
माटोसँग सरिर र हावासँग जिन्दगीको साइनो जति रहन्छ
पसिनासँगको साइनोमा त्यत्ति बाटो उसले हिँडेको छ।

बिर्खेले जवानीको खेतमा उमारेको बलको पसिना
र बैंसको आगोमा उमारेको सपनाको पसिना
उसको मालिकको चेतनाबाट फुटेको भोको मुख
र उसको मालिकको ओँठले बुनेको गुलामीको बाँध कहिल्यै भरिँदैन। कहिल्यै रोकिँदैन।

बजारी विज्ञापनमा पलैँटी कसेर चुस्की लिँदै गरेको मालिकको चित्र
बिर्खेका आँखामा अडेसिएका सपनाको चस्माले निर्निमेष हेरिरहेको छ।
......थाप्ली भिरेका चेतनामा बिर्खेले सपनाको रङ्ग भरेर अर्को चित्र कोर्दैछ-
    दुरूस्त, जहाँ ऊ मालिक देखिन्छ। मालिक ऊ।

मालिक-2


बाजेले कुर्कुच्चा पट् पट् फुटाएर हिँडेको चियाबारीभित्र
मेरो बाबुको जिन्दगीको ठेला ह्वास ह्वास् गनाउँछ
तर मैले त्यो बाटो मेरो हो भन्नै सकिनँ।

बज्यूले टोक्रीभरि बैंसको सपनाहरू
रहरका घुमले एक जुनी ढाकेर राखे पनि
मेरी आमाले अर्को सपनाको सुइटर बुन्नै पाइनन्।
त्यही सपनाको जोखना खुट्याएर
मैले त्यो सपना मेरो हो भन्नै पाइनँ।

पल्लो भित्तामा देखिएका चियाबारीका बुट्टाहरूबिच
एउटा सानो माटोको घर रहरलेजस्तै उभिएको छ
त्यसका भित्ता र धुरीसम्म क्यौँ सालदेखि सपनाहरू
तार्लुङ्तुर्लुङ झुण्डिएर म तिम्रै हुँ भनी अलापिरहेका छन्
तर त्यसलाई मैले मेरो सपना हो भन्नै पाइनँ।

मैले आफ्नै छात्तीभित्रको दुखिरहने मुटु
आफ्नो हो भन्नै पाइनँ।
के यो मुटु पनि तिम्रो हो मालिक ?












राजनीति


आश्वसनका झुठा मुखहरूबाट चुहिएर
रालहरूका गन्धले सिउरिएका
कुनै राजनैतिक झण्डा
मेरा हातले कदापि हावामा फर्फराएका छैनन्।
मगन्ते भाषणहरू
मेरा मनका चप्लेटी ढुङ्गामा कहल्यै अढिनसकेका छैनन्।
न कुनै नेतालाई देवताको अनुहारमा रूपान्तरित गर्न सकेको छु।
न उसको अघि पुजारीको नक्समा म आफै घुँडा टेक्न सकेको छु।

आजकल मेरा छेउमा उभिएका
भलादमी अनुहारहरूमा
मेरा यी बदनाम आँखाहरूले ?
राजनीतिका क्यौँ झुम्काहरू मात्र फूलिरहेका देख्छन्
उसको गालाका चेपबाट नचाहेर छिरेका
कपटीपनका मन्द मुस्कानहरू र
दाँतका फाँकाबाट चेप्टिएर जबरजस्ती तुहिएका
भलापनका शब्दहरूले
मेरा मनका पाटा भएर कहिल्यै मुटुमा
गाढे घाउको घर बनाउन सकेको छैन।
मेरा निधारको बाटो भएर कहिल्यै
जिन्दगीको भाग्यरेखा कोरिदिन सकेको छैन।



मालिक 1


मालिक !
म क्या त बलबहादुर
चिन्छौ ?

मालिकनीसँग तिमी मस्त भएर आएको दिन
पिक्सेल क्यामारामा मेरो बहादुर अनुहार खिँचेर लगेको थियौ नि !
हो, म त्यही बलबहादुर।

म तिमीलाई फोटोको पोज दिँदा दङ्ग भुँइमा लडेको थिएँ।
मालिकनीको ओँठभरि कस्तो चहकिलो हाँसो फुटेको थियो।
म रात्तै भएको थिएँ।
तिमी काले देखिएका थियौ।

मालिक !
पाखुराका मेरा जोबनका बलहरू
तिमीले कति महङ्गो गरि फ्याक्ट्रीमा पिसेका थियौ।

मालिक तिमी कहाँ छौ ?
मलाई फेरि एकपल्ट फोटो खिँचाउनु छ
मेरो बहादुर अनुहारको।

यसपल्ट मेरो पोजमा तिम्रो जिन्दगी हाँस्ने छैन।
यसपल्ट म रातो हुने छैन।
तिमी बरू रात्तै हुनेछौ मालिक।





सपना-2




सपना
ओछ्यानबाट उठेर सुदुर देशमा पुगेको छ।

दश्य एक-
कुन देशको रङ्ग हो त्यो
झोपडीभित्र काठको ओठ्यानमा कोल्टे परेका जिन्दगीलाई थाहा छैन।
त्यहाँ कुनै राष्ट्रीय झण्डा कुरूप भएर झुलिरहेको छैन।
छात्तीमा लाहुरेहरू आङ्गरक्षकको लेबल टाँसेर
सीमानामा कुनै बलात्कारको सुटिङ गरिरहेका छैनन्।
देशको ब्रेक छाडेर कुनै राष्ट्रपतिले
गाउँको छप्परमाथि गाडी कुदाईरहेका छैनन्।

दृश्य दुई-
दृश्य आँखाअघि फिल्मी पर्दा झैँ खस्छ
साना-साना गाउँहरू होलीको रङ्ग मस्त खेलिरहेका छन्।
नेता नै नभएको ठाउँ।
सबै मान्छे मात्रै।
पशुहरूको आफ्नै देश।

दृश्य तीन-
कोही श्रृगारिएर घोडामा राजकुमार भई चढिरहेका छैनन्।
कोही परीकथाको राजकुमारी भई पखेटा फिँजाइरहेका पनि छैनन्।
सबै शान्त। मधुर।
मुस्कानका एक डल्ला छाप मात्र।
रोमान्स नक्साभरि।

दृश्य चार-
त्यहाँ हामीजस्ता बलबहादुरहरू छैनन्
हामीजस्तै मैनाकी आमाहरू पनि छैनन्।
त्यहाँ कुनै बेश्यालयको प्लेट टाँगिएको कोठा छैन
जहाँ हामीजस्तै मनमायाहरूले दुःखका पोका ब्रा खोलेर देखाउनु पर्दछ।

दृश्य पाँच-
त्यहाँ हाम्रोजस्तो भत्किसकेका मक्किसकेका ओछ्यानहरू छैनन्
सुन्दर छन्। एकचित्त कल्पना।
जहाँबाट सपना चिहाउँदा
मेरी आमैहरूले प्रत्येक रात देखेकी सुन्दर सपनाहरूजस्तै
विहानीपख ओछ्यानबाट आफूसँगै झर्दैनन्।