Friday, August 12, 2011

म शहरदेखि गाउँ जाँदैछु


शहरमा म थुप्रै अनुहारको अघि उभिरहेको छु
शहरलाई ब्यूँझाउन लेखिइएको कुनै भित्ताको पोस्टर
या भनौँ उसैहरूलाई तर्साउन झुण्डाइएको बुख्याँचा-
सरह म अघिदेखि उभिरहेको छु।

शहरमा म सबैको अघि हिँडिरहेको छु
अस्तित्त्वको झण्डा बोकेर गाँधीजस्तै
तर, मेरा पछि लाम लागेर आइरहेका
शहरका भूस्याह कुक्कुरहरू ?
रातको शुन्यतामा भुक्नसमेत लजाउने हिजाडा कुक्कुरहरू ?
मेरा पुच्छरजस्ता भएर एउटा जुलुसको रेखा कोर्दैछन्-निर्रथक।

शहरमा म पसेँको छु-गल्ली गल्ली भएर
त्यहाँको रङ्गीन सपनाको खोस्टे विज्ञापन जाँच्नलाई।
खोक्रो आस्था र विश्वासको घुम्टो उघार्नलाई।

शहर, तर वेवास्ता सुतिरहेको छ गाउँको सुरक्षामा
शहर, सल्बलाएको मन लिएर बौरी उठेको छैन।

आरामदायी सोफामा बसेर चिया पिउँदैछ शहर
बिहानको शुरूवातसँगै।

उसको चस्मेदार आँखाको अघि उभिदिनलाई
उसको अलपत्र परेका छात्तीमाथि हिँडिदिनलाई
उसको गन्हाउने गल्लीहरूका व्याथा नापिदिनलाई मात्र
शहर, अझै मलाई पर्खिरहेछ..

तर म, शहरदेखि ओरालो झरेर गाउँमा पस्दैछु।
जहाँ, शुन्यतामा पनि शीलता छाएको आभास हुन्छ।
जहाँ, कोलाहलमा पनि शान्तिको बिगुल घन्किरहेको भाव हुन्छ।

जहाँ, शहर झरेर कहिले खुशीको निम्तो बाँड्न आउँदैन।
जहाँ, शहर झरेर कहिले सुसेली गाउँन आउँदैन।
जहाँ, शहर झरेर कहल्यै रोदनका छाप पुछ्न आउँदैन।
                                            १०.०८.११