मेरी सानी साथी

मनमा उब्जेका भाव-भावनाहरू बाहिर शब्द-वाक्यसित निष्काषित भई कागजका पन्नाहरूमा खेल्दा, आफ्नै भाका, लय, ताल र सुरमा बाँधिएर स..ल..लबहँदा जाँदा, अगावै मानसपटमा बुनिसकेका कथाले पनि भिन्नै रूप लिँदोरहेछ। लेखनको बिच बाटोमा आएको अडचन-बाधा नै फेरि अर्को कथा लेखन क्रमिकताको विषय बनिँदो रहेछ। ती अडचन बाधा नभईदिएको भए यस्ता कुरा (कथा) लेखिने थिएन पनि होला र के कस्ता लेखिन्थ्यो, प्रतिक्रिया पाठकलाई त्यसले यसले भन्दा कस्तो पार्थ्यो अनभिज्ञ छु। यी कथा भनौँ या संस्मरण यस्तै लेखनको बाधा अडचनबाट जन्मेको हो।
    शिवमन्दिरलाई केही दिनको निम्ति विदा। न्यू जलपाईगुडीदेखि शुभारम्भको रात। भालि आसामको नौलो,नयाँ परिवेश,वातावरणमा प्रवेश। कति दिनलाई कति क्षणलाई। न्यू जलपाईगुडीदेखि 6:15 मा ट्रेनको समय भए तापनि यहाँदेखि 2 घण्टा 30 मिनटको ढिलाईमा छ। सठीक समयमा आइपुगेर पनि कति बेरसम्म अझै पर्खिबस्नु पर्ने हो। किन हो, आज समय बहुत ढिलो बगेको जस्तो हुँदैछ, लाग्दैछ। यसलाई पछ्याएर आएको म अझ त्यो समयभन्दा अघि आई पुगेको छु। कस्तो अचम्म। आज मैले जितेको छु समयलाई। हार्दैछ र हारेको छ त्यो मदेखि। बस्दा-बस्दा,हेर्दा-हेर्दै सयौँ मानिसहरूको आवत्-जावत् हुँदैछ। कमिलाहरूको एकापट्टि गन्तव्यको लहर तोडिएको जस्तो देखिँदैछ। कारङ्किरिङ् देखिँदैछन् बसेकोबाट। एक-दुईवटा ट्रेनहरू मुख बहाएर ती कमिला जस्ता र त्यहीँ लीगमा यता-उती गरिहिडँने मुसा जस्ताहरूलाई खाएको जस्तो घरिघरि स्वात्तै घट्छन् संख्यामा।
         ट्रेको आगमनका सूचना पाएर वा भागेका र निस्केका ती मुसा जस्तै फेर जाम्मिन्छ मान्छेका भीड। चहल-पहलको क्रमिकता यथावत रहन्छ। रङ्गी-विरङ्गी पहिरनभित्र त्यस्तै रूप रङ्ग र त्यस्तै वेरङ्ग मन। कतै ओर्लिने कतै चढनेहरूको फलाकफिलिक, झालकझिलिक। कोही मोबाइल फोनमा व्यस्त, कोही कसैलाई बोलाउनमा, कोही गफ गर्नमा र कोही के-के सोध्नुमा व्यस्त। न्यस्तताको भारी बोकेर चार्च गरेको मान्छे जस्तै नन् स्टप दोकानेहरू चाय, कफी, चिप्स्, वाटर बोतोल भन्दै कराई रहेका छन्। माग्नेहरू आँखा छला-छली भीक उठाउन आईरहेका छन्। खम्बाको फेदीमा सबै चौतारीमा जस्तै विश्राम लिन बसेका छन्। ती बसेकोबाट सानी नानी मेरो छेउमा आएर घरिघरि जिस्किने जुक्ति गर्दैछे। मलाई पनि जिस्किनु मन पर्दैछ। तर उ बोल्न सक्दिन रहेछ। एकदम नाबालक। आमाको आँखा छल्दै उ मलाई लेख्दै गरेको बेला हातले पछाडीबाट घोँचि रहन्छे। म, उसलाई मुस्कुराउँदै, हाँस्दै नजिक्याउन चाहन्छु। सायद उसको कलिलो मनले पनि मलाई नजिक्याउन खोज्दै थियो होला। पक्कै दुई हातले ताली बज्छ भने जस्तै उसको र मेरो विचारको ताली बजाईले सकार्त्मक पक्षलाई आत्मसात गरेको छ। छिट्टै मनका आदन-प्रदान गरयौँ। गुरूत्वाकर्षणमा हामी एकक्षणलाई नछुटिने बन्धनमा बाँधिएछौँ। लेख्ने क्रमिकतालाई उसको हातको स्पर्शले थनक्याईभित्र रहनु पर्ने बनायो। सायद उसको मनको चाहत यस्तै थियो कि ! त्यसैले मैले पनि लेख्ने कोसिस् गरिनँ। लेखाईको आधामा नै थन्काई दिए डायरीलाई।
     रातो रङ्गको हाईनेक, टाउकोमा कालो टोपी र पिङ्क रङ्गको सुरूवाल लगाएकी उ। टोपी रात परेकोले आमा चै ले कति लगाई दिने कोसिस् गर्दैथिन्। तर उ भने टोपी खोली मसित फ्याँक-फ्याँक गर्नमा मज्जा मान्दैथी। मैले फ्याँके भने उसले सठीकसँग पक्रनु सक्दैनथी र फ्याँकेको जस्तो गर्दै उसैलाई पक्रन म नजिक ल्याउने कोसिस गर्थे। आउँथी, थाप्थी अनि खुशी हुन्थी। फेरि अलिक टाढामा गएर-बसेर टोपी म भएतिर फ्याँकथी। तर, कोहीकोही बेला मात्र मेरोमा त्यो टोपी आइपुग्थे। ज्यादातर कता-कतातिर, भूँईतिर। यसरा खेल्दा उसलाई र मलाई हामी नौलो मान्छे हौँ लागेन अंशभरि पनि। आफ्नै सानो संसार बनाएका थियौँ। उसले आमा बाबु र आफूभन्दा यस्तै दुई-तीन वर्षकी ठूला दिदी समेतलाई भुल्न सकेकी थी। वास्ता कतै, कसैको नराखेर अन्जान मसँग साथी जस्तै भएर खेली रही।
    विचित्रको हुन्छन् नानीहरूको मनस्थिति। सोँच्ने, क्रियाकलाप गर्ने ढङ्ग पनि त्यस्तै विचित्रको उसको। एकक्षणमा मसँग,अर्को पलमा आमा-बाबुलाई कराउन लगाउँदै गरेकी। कराए हठी किसिमको व्यवहार देखाउँछे। म, उ र उभित्रको क्रियाकलापलाई मुस्कुराउँदै निर्निमेष हेर्दैछु। मनन् गर्दैछु र उसँगै आफू पनि त्यत्रै छँदाको जीवनलाई मानसपटमा ल्याउने प्रयत्न गर्दैछु। आफू त्यही उमेरबाट उक्लेर आएकोले गर्दा होला अप्ठ्यारोको अनुभूति छैन। बाँचेका त्यति लामो समयावस्था क्षणिक हुँदो रहेछ। एक्लै भएर बसि रहेँको मैले उसलाई पाएर त्यहीँ खेल्नमा मस्त भएँछु। यसरी हामी दुई खेलेका, खुशी हुँदै गरेका पलमा नरमाइलो विछोडको भारी बोकेर अबेर भएको ट्रेन आगमनका सूचना सुनिन्छ। सूचना प्राप्त हुने बित्तिकै उ झन् मेरो सम्पर्कमा आउँछे। कुनै मनले उसलाई छोडन चाहेको थिएन। तर छाडी जानु पर्थ्यो नै उसले मलाई मैले उसलाई। जीवन यस्तै रहेछ, हुँदोरहेछ। कसैलाई आत्मसाथ गर्दै कसैलाई छाड्दै जानु। सायद जीवनका सार्थकता यसैमा निहित हुन्छ कि !
     अब अन्तिम क्षणमा उसँगको आत्मियतामा उसको आमासम्म मसँग टाढाबाटै मुसुक्क हाँस्न सक्ने भएकी छन्। तर बाबु र दिदी भने त्यति नजिक्याउने अवस्थामा रहिरहेका छन्। आफ्नै संसारमा आफ्नै व्यस्ततामा र धुनमा। म चाहेर पनि बोल्न हेराईमा नै कति कोसिस् गरेँ। तर उनीहरू पनि नचाहेर बोल्न सकेनन्।
      बाबा र छोरी घरिघरि यताउता बरालिन्छन्। नेपाली वर्णका पूरै देखिने ती सपरिवार पनि मेरै गनतव्यतिर जाने रहेछन्। मेरी छोटी साथी प्लेटफार्मको अडेस लागेर घरि आमाको शरीरलाई लुक्ने ठाउँ बनाएर लुकामारी खेल्छे। म पनि उसले मात्र देख्न सक्ने गरी खाम्बाको वरीपरी घुमी मुसुक्क हाँसोको रेखाहरू बटुलेर उसित उसले जस्तै लुकामारी खेलिदिन्छु। घरि उसलाई लुकाउँछु, घरि आफै लुक्छु। यी लुकाईको क्रमलाई यथावत राख्न मैलेले र उसले पनि चाहँदा हुन्। तर अब हामी छुटिन पर्छ भन्ने बोधले मन खिन्न भएको छ मेरो। आमा चै लाई मेरो विषयमा अब सोध्ने-जान्ने इच्छा भएर हो या त त्यसै नचिन्ने मान्छे म, उहाँको छोरीसित मस्त खेलेकोले गर्दा हो, म भएतिर आई सोध्नु हुन्छ- भाई कतातिर जाने ? म भनि दिन्छु प्रश्न आउन साथसाथै गुवाहाटी (आसम)। घर ? -दार्जिलिङ। पालो मेरो आएछ प्रश्न गर्ने र सोध्छु- अनि तपाईहरू ? - गुवाहाटी नै। भाईको सीट (डिब्बा) नम्बर ? 58 अनि तपाईहरूको ? -56। ए.. अर्को अर्कै जग्गामा परेछ भन्नु हुन्छ। म, हजुर भनिदिन्छु।
      
जति समय अब चढनलाई बाँकी छ, त्यति नछुट्टिने मनले खोज्न थालेको छ। हातको इशआरा र आँखाको सङ्केतसे बोलाउँछु उसलाई। कुनै भाषाको आवश्यकता नपर्ने भएछौँ उ पनि म पनि। बिनाभाषा सङ्केतमा मनका भावहरू साट्साट गर्न सक्षम भईसेकेछौँ। आउँछे मतिर, मेरो इशारामा। जुरूक्क उचालेर बोकि दिन्छु, मुस्कुराई दिन्छे मिचिक्क। अलिक परसम्म लैजान्छु। नाम सोध्छु, घर सोध्छु, अरू के-के। उत्तर सबै प्रश्नको दिन्छे तर शब्दमा म बुझ्दिन। शब्द-वाक्य म नजान्ने भएँछु, लाग्यो। फेरि सोधे विस्तारै-के खान्छौ ? हातले इशारा दिन्छे दोकानतिर। लैजान्छु बोकेर नै त्यहाँ। हातको औँलाले सङ्केत गरिबस्छे आमका जूसलाई। म उसलाई त्यो खान मनाही गरिबस्छु बारम्बार, तर उ त्यही आमको जूसलाई निर्निमेष हेरिबस्छे। डर मलाई नै लाग्छ। म किनिदिन्नँ। मनले चाहेर होइन। उसको इच्छा र मनलाई ठेस् पुरयाउने मेरो इरादा कहाँ थियो र!  तर ठेस् पुरयाउन र दुःख दिन करै लाग्छ र अर्को बिस्कुटको प्याकेट हातमा थमाई दिन्छु। मनले खुशी भएर हो या होइन तर आनन्द मान्छे।
      उसको आनन्दमा मेरो मन त्यसै प्रफुल्लित। आएर आमाकहाँ उसलाई छाडिदिन्छु। हेर्छिन् आमा र त्यसै कुन हैसियतको नाताको गठबन्धनमा बाँधिएको मलाई हेर्दै दादालाई ठगिस् भन्छिन्। मुसुक्क हाँसेर स्वीकारि दिन्छु र उसलाई छोडीदिन्छु त्यहीँ। छोडी आएर म आफ्नो स्थानमा आउँछु। फर्कि हेर्ने कोसिस् गर्छु। नहेरी बस्न गाह्रो हुन्छ। हेर्छु, उ आमाका काखबाट तेर्सिएर मलाई हेरिरहेकी हुन्छे। म उसलाई छाड्न चाहेको थिएनछु। सायद उसले पनि मलाई ? कुन हदसम्म ? उसले यताबाट घरि आमा चै-को काखीको चेपबाट चिहाएकीले गर्दा आमा भन्छिन्-वाई-वाई गर्दे न दादालाई। थ्याङ्क्यू भन त दादालाई। उ मुखले केही भन्दिन, मात्र हातको इशाराले टाटा गर्छे। म पनि उसले जस्तै इशारामा भनिदिन्छु-गरिदिन्छु वाई-वाई।
      ट्रेन आइपुग्छ। सपरिवार (दुई भाषी)- लाई अन्तिम भेट् गर्ने इच्छा पलाउँछ मनमा। एउटै खाम्बाका दुईवटा पाटा भएर बसेका हामी अब कुन खाँबाका प्रतिक्षामा छौँ ? या हिँडेका हौँ ? थाहा छैन। सबैलाई भन्न नसके तापनि आमा चै नेपाली भएकीले उहाँलाई मात्र भन्छु- हामी अलग-अलग डिब्बामा परेका रहेछौँ। एकै ठाउँ गएपनि बेग्ला-बेग्लै ठाउँमा बसेर यात्रा गर्नुपर्ने भो। लौ त दिदी, म गएँ है। आमाको छात्तीमा च्यापेकी ती मेरी सानी साथीलाई पनि टा-टा गर्दै म आफ्नो डिब्बा भएतिर मुन्टो फर्काउँछु। उ मलाई हेरिबस्छे। ट्रेनको डिब्बाभित्र चढ्छु। आफ्नो सिट्को नम्बर हेर्दै-हेर्दै जान्छु। भेटाउँछु। माथिल्लो तल्लामा परेको रहेछ।
                      समाप्त