Sunday, September 12, 2010

भाषा अनि हामी ( 20 अगस्त 2010 - भाषा मान्यता दिवसमा पठन गरिएको कविता)

भाषा हो सभ्यता हाम्रो
नारा गुञ्जिँदैछ
चेपचापका बन्द
साहित्यिक कोठेबारीमा...फोस्रा शब्दहरूमा।

त्यो बुँइ चढे्र आउन खोज्दैछ
भर्खर जन्मिएको अबोध शिशुको मस्तिष्कभरी
तर एड्भान्सको लेप लाएर
फेसनको रङ्गमञ्चमा उत्रेका हामी
काउकुती मानेर थेचार्दैछौँ त्यसलाई।

शब्दले मुख फड्काल्न थालेकोदेखि हामी
शब्दमै हुर्कियौँ, बड्यौँ र हिँड्यौँ
अब हामी स्वको धुरीमा घोडा चढेका छौँ
र जन्मबोधको ऋण फर्काउँदैछौँ यसरी
खै ! म त केही पनि जान्दिनँ।

आर् यू नेपाली ?
कम्प्युटरको च्याट स्क्रीनमा
शब्दहरू विदेशी झल्किँदैछ
या आइ एम नेपाली
तर भन्दैछ यता हामी विदेशी।

यहाँ हेर्नु होस् त शब्दको अर्थ
अझै
आइ एम अल्सो नेपालीको भेल बग्दैछ
बट् आइ कान्ट् राइट एण्ड स्पीक इन् नेपालीको समुद्रमा।

आमाले आज
मम्मी, ड्याडीको शब्द घोकाउनलाई
फकाउँदै स्तन चुसाउँछे
हातमा भविष्यको वेस्वादिलो मिठाई पाएर
उफ्री उफ्री फलाक्छ त्यो दुधे बालक।

युवा भन्नु कि युवती भन्नु
भाषाको सभ्यताले त होला
हाफप्यानट् भन्नु कि मिनि हाफप्यान्ट् भन्नु
सुसंस्कृतको नारा लगाउँदै छ त।

साइनबोर्डमा अनुवादित जस्ताको तस्तै शब्दहरू
उ....प...र..-को देशमा
गल्ली गल्ली
दोकान अनि होटलको ढोकामाथि उभिएर
वान्ता गर्नलाई घोप्टो परिरहेका छन्।

आज फेरि त्यो
अस्तित्वको मुखेञ्जीमा बरफ झैँ जाम्मिँदैछ
तर पनि जुलुस थर्काउँदैछ अस्तित्वको
अस्तित्व !
अस्तित्व !!
अस्तित्व !!!
कसको हो यो अस्तित्व ?
स्वको ?
स्व को हो हँ ?
एक्लो म ? प्रतिनिधित्व गर्ने जाति ? फेरि भाषा ?
उफ् !
झाँक्रीहरू त सर्टिफिकेट बोकेर घुमन्ते भईरहेका छन्
एक गिलास फिक्का चियामा
कसरी जोखाना खुट्याउन मान्थ्यो र !

कथा सुनाऊँ ?
त्यो आदिम युगको
जहाँ, जोहरू बिनाभाषा सभ्य थियो कि !
तर फरक यति छ भनौँ
उनीहरू सोँच्दथे भाषापछिको जीवन कस्तो होला
हामी सोँच्दछौँ बिनाभाषाको संसार कस्तो होला।

अतः
भाषाको रथ यात्रामा गुढेर
आदिम मान्छे हामीकहाँ आइपुग्दा
फेरि विस्तारै भाषा मर्दै जान्छ
हामी आदिम युगको
त्यो नाङ्गो मान्छे बन्दै जान्छौँ।
        xxxx

बलात्कृत दुई पात एक सुइरो

तुर्लुङ्ग झुण्डिएको विश्व बजारमा
दुई पात एक सुइरो
लह-लह मुना
कल्कलाउँदो जीवन
सिमसिम पानीको स्पर्शमा झुम्दै
कठ्याङ्ग्रिने जाडो र
सूर्यको रापिलो स्पर्शभित्र गुट्मुटिएर
जीवन धान्नेको अभीष्ट बनेको छ।

सिरिरि हावामा छमछम् नाच्दै
लुकामारी खेल्छन् बादलका टुक्रासित
लजाउँदै, मस्किँदै
शीर निहुर्‍याएर।

ठूली यस्तै रहेछ
अङ्ग-प्रत्यङ्ग दुई पात..तीन पात..ले
कुत्कुताएपछि
जिस्काएपछि
भन्दिनन् कसैलाई अधिव्याधि
यौनावस्थामा यस्तो हुँदोरहेछ।

चट्टै भागी पोइल जाने इच्छाहरू
हातेमालो गर्ने आकांक्षाहरू
दुई पात एक सुइरो जन्माउने अभिलाषाहरू
इतिहासका
अशुद्ध पृष्ठहरू
धुलाउनुभन्दा पहिले
बट्टारिएका हत्केलाले आकस्मिक
अँठ्याउँदा घाँटीमा
रगतको ह्वात ह्वात आहाल बग्छ।
उत्सर्जित रगत-पसिनाको दुर्गन्धमा
चट्ट जिब्रो पड्काउँदै
विश्व बजारमा बलात्कार गर्न खोज्छ।

समुद्रपारि देखेका सपना
हुर्कँदै गएको इच्छाहरू छताछुल्ल हुन्छ
यौनाङ्गमा लट्टिएका प्रियसीहरू
सोतो हराएको बालक जस्तो हुन्छ।

मनभित्रका ज्वारभाटाहरू एक्कासि
हिंस्रक, आक्रोस, भयावह भई आउँछ।

थोत्रे नीतिलाई पदच्यूत गर्न
खल्बलिन्छ, सल्बलिन्छ मन
तर खै !
आजीवन आफ्नै मुटुका टुक्रा
दुई पात एक सुइरो-हरू
उँधोमुन्टो
तुर्लुङ्ग झुण्डिएको हुन्छ विशव बजारमा।

आक्रन्दन
लुटिएर बलात्कृत भएपछिको
पहिचान दिलाउन नसकेर
अनुहारमा बिषाक्त रेखा कोरिएको छ
सुन्दरताको मूल्य हराएको छ।

उकुसमुकुसिएर निस्सासिएको छ
जब आकाशै आफ्नो ठान्ने
वनमाराले सारा संसारलाई
अस्पष्टभित्र धमिल्याएको छ।

त्यसै र..
दुई छाक खुवाउन असमर्थ हुँदा
अभीष्टहरूको भविष्य निराकार भएको देख्दा
ओइलाई ओइलाई त्यसै जानु छ
कुहिनुले बोलाउँछ।