Sunday, September 12, 2010

बलात्कृत दुई पात एक सुइरो

तुर्लुङ्ग झुण्डिएको विश्व बजारमा
दुई पात एक सुइरो
लह-लह मुना
कल्कलाउँदो जीवन
सिमसिम पानीको स्पर्शमा झुम्दै
कठ्याङ्ग्रिने जाडो र
सूर्यको रापिलो स्पर्शभित्र गुट्मुटिएर
जीवन धान्नेको अभीष्ट बनेको छ।

सिरिरि हावामा छमछम् नाच्दै
लुकामारी खेल्छन् बादलका टुक्रासित
लजाउँदै, मस्किँदै
शीर निहुर्‍याएर।

ठूली यस्तै रहेछ
अङ्ग-प्रत्यङ्ग दुई पात..तीन पात..ले
कुत्कुताएपछि
जिस्काएपछि
भन्दिनन् कसैलाई अधिव्याधि
यौनावस्थामा यस्तो हुँदोरहेछ।

चट्टै भागी पोइल जाने इच्छाहरू
हातेमालो गर्ने आकांक्षाहरू
दुई पात एक सुइरो जन्माउने अभिलाषाहरू
इतिहासका
अशुद्ध पृष्ठहरू
धुलाउनुभन्दा पहिले
बट्टारिएका हत्केलाले आकस्मिक
अँठ्याउँदा घाँटीमा
रगतको ह्वात ह्वात आहाल बग्छ।
उत्सर्जित रगत-पसिनाको दुर्गन्धमा
चट्ट जिब्रो पड्काउँदै
विश्व बजारमा बलात्कार गर्न खोज्छ।

समुद्रपारि देखेका सपना
हुर्कँदै गएको इच्छाहरू छताछुल्ल हुन्छ
यौनाङ्गमा लट्टिएका प्रियसीहरू
सोतो हराएको बालक जस्तो हुन्छ।

मनभित्रका ज्वारभाटाहरू एक्कासि
हिंस्रक, आक्रोस, भयावह भई आउँछ।

थोत्रे नीतिलाई पदच्यूत गर्न
खल्बलिन्छ, सल्बलिन्छ मन
तर खै !
आजीवन आफ्नै मुटुका टुक्रा
दुई पात एक सुइरो-हरू
उँधोमुन्टो
तुर्लुङ्ग झुण्डिएको हुन्छ विशव बजारमा।

आक्रन्दन
लुटिएर बलात्कृत भएपछिको
पहिचान दिलाउन नसकेर
अनुहारमा बिषाक्त रेखा कोरिएको छ
सुन्दरताको मूल्य हराएको छ।

उकुसमुकुसिएर निस्सासिएको छ
जब आकाशै आफ्नो ठान्ने
वनमाराले सारा संसारलाई
अस्पष्टभित्र धमिल्याएको छ।

त्यसै र..
दुई छाक खुवाउन असमर्थ हुँदा
अभीष्टहरूको भविष्य निराकार भएको देख्दा
ओइलाई ओइलाई त्यसै जानु छ
कुहिनुले बोलाउँछ।

No comments: