Thursday, September 23, 2010

विद्रोह

चेतनाले कुन्नि कतातिर
डोर्‍याएपछि
अहिंसावादको
मानवतावादको
अस्तित्त्ववादको नाममा
सिकाउँछन् महापण्डितहरू
विद्रोह गर्न।

विद्रोह पण्डितहरूको
विद्रोह धुपाउरेहरूको
विद्रोह सचेत मानसिकताहरूको
विद्रोह अर्धसचेत झोपडीहरूको
..गर्नु पर्ने रहर।

बहाल शान्तिको नाममा उडेर
विद्रोहकै घरभित्र पस्छ।
ठटाउँछ घरहरू
भित्ताहरू
चर्किएको कान तर पनि
विद्रोह गर्नै मन पराउँछ।

विद्रोह गालाभरि लाली दलेर  मस्किन्छ सडकतिर
'हावा'-तिर
लक्ष्यको पगरी लाएर विद्रोह
आफ्नै घरभित्र अपरिचित बन्छ।

विद्रोहको खुल्ला खेस्रा-पत्र फ्याँक्छ
अखबारले विद्रोहकै बेढोँ थाम्छ
ओख्लीले मुस्लीको दुखाई थामेको जस्तो।


तर विद्रोह गाउँका झोपडीहरूले
पाइखाना पुछेर फालिदिन्छन्
किनभने फेरि विद्रोह
भोलिको लागि अर्कै आउँछ
विहानको अखबारसँगै।