Wednesday, September 28, 2011

बोनस र दशैँ



गुजुल्टाएर राखेका सपनाका थाङ्नाहरू
भिजारए राखेका कट्मेरो इच्छाका फ्याप्ल्याँटाहरू
वर्षौदेखि यता सुकाउनुलाई
दशैँको मस्त घाम पर्खिरहेको छ गाउँ।

घ्वार् घ्वार् पानीले दिनरात चुटेका थाप्लोहरू
पसिनाको रसले एकपलमा कति सुक्छ हँ ?
ह्वार् ह्वारती तिर्खाएका गलाका त्यन्द्राहरू
पसिनाको रसले एकपल कति रसाउँछ हँ ?
प्रश्नहरू चियाबारीका बुट्टा बुट्टा फलिरहेका छन्।

वर्षौभरि हुत्तिहाराको पगरी लाएर
चियाबारीमा बोनसका लागि जुलुस हिँडेकाहरूलाई
बाजे-बराजुको वीरताको कथा! लोककथा भइदिएको छ।

प्रतिशतको लडाँइबाट तुहिएका बोनसका अनुहार
खुशीको रङ्गले जति नै टल्काउने कोसिस गरे पनि
गर्भमा हुँदी जति नै धामी-झाँक्रीले स्वथ्य कामना गरे पनि
कहिले त्यसको जन्म रूपवान र बलवानका रूपमा भएको छैन।
बस् !
एकमाना सुख मासुको रसमा चोबेर चट्ट खान
र, बस् ! एक औँली दुःख घुटुक्क निल्न पाए
गाउँलाई मीठो रूच्छ।

गाउँमा अहिले थाप्लीले पिल्छिएका थाप्लोहरूमा
उख्खरमाउलो दशैँको घाम टल्किरहेको छ।
तर, मनको कान्लामा उम्रिएका रहरका पालुवाहरू
आँखाको डीलमा अडेसिएर बसेका सपनाहरू
जीवनको घुम्तीमा कुरिरहेका इच्छाहरू
बोनस पाउने आशामा बुढो बाजे जस्तै कुप्रिरहेका छन्।
बाजेको सङ्गीनी भएर झुक्रिरहेका छन्।
बाजेको छोरो भएर लट्टिरहेका छन्।