Monday, June 27, 2011

विज्ञापन


फोटोसपमा खिँचडी पाकेका अनुहारहरू
भाले मुङ्ग्रो जस्तो रङ्ग फेर्न व्यस्त छन्
दैनिक समाचार पत्रको मञ्चमा।

वान्टेड
….जीवनवृत्तिको
आयमिक एउटा अवधारणाको रेखा कोरिएको हुन्छ
एब्स्ट्रयाक्ट।

रङ्गीन भरोसाको खोस्टे विज्ञापन
फ्री-को कलेवरमा  
उत्रिएका नीजि व्यवसायीहरू
आदर्शलाई बलात्कार गर्न मात्र पोख्त छन्।
विश्वासको जोबनलाई वैश्या बनाउन मात्र खप्पिस् छन्।

श्री, बाबा, गुरूदेवहरू
रामलीलाको अभिनय गर्नका सट्टा
रोग निवारकको एड्बक्स् बोकेर
जुलुस हिँडिरहेका छन्।
तर मान्छेको बस्तीमा छरिएको एड्सको वीर्य
निगेटिव हुनै सकेको छैन।

शोकको एउटा विज्ञापन
कम्जोर मुटु घचघच्याउन आउँछ
आँसु र वेदनाको सास फेर्दै।
अनि आउँछन् फेरि
फ्वाँ-फ्वाँ सास फेर्दै
शुभकामनाका थपडीहरू।

तर आउँदैन किन विज्ञापनमा ?
कहिले, मेरो गाउँको मानचित्र !
मेरो शहरको मानचित्र !!
जहाँ,
दुःखहरू र्‍याँई र्‍याँई सारङ्गी रेटिरहेको छ।
जहाँ,
सपनाहरू टङ्टङ् घाम तापिरहेको छ।