चियाबारीको मुटुलाई भ्राइब्रेसन गरिएन भने
कोही बेला टीनको खोरबाट भालेले पनि
गीत गाउन बिर्सिदिँदोरहेछ।
प्रभातको हात काट्ने चिसो होस्
या मन कुट्क्क दुख्ने दिनको थप्पड
अचानो बनिन के साह्रो छ र
बन्द चियाबारीको सरिरलाई।
चिया उसिन्न ब्यूँझेका हातहरू
नूनको गुलियो रस् सुरूप्प चाख्छन्
र
आऊ ! लौ ..चिया
सुनेर छट्पटिरहेका मनहरू
सिल्भर मकमा लिपिएका फिक्का चियाको तरङ्गमा
दिनभरिको भूकम्पको कम्पन थेक्छन्।
छोराहरू क्याटिस-मटेङ्गा बोकेर जङ्गल खान्छन्
भाग्यले जुरायो भने
एक छाक भुटुवा वा झोलमा
शान्तिको जुलुस थर्काउँछन्।
साइरनको धुनमा आङ्मा नटाँसिएका टोक्रीहरू
आँगनमा कहिलेदेखि घोप्टो परिरहेका छन्
त्यसभित्र कैदी भएका चिङ्गनाहरू
उनमुक्तिको चिः चिः नारा लगाइरहेका छन्।
सिकुवाको कुइनेटोमा झुक्रिएर दिनभर जीवन पचाएका बुढाहरू
साइरनको भरोसे विज्ञापन बोकेर
जिन्दगीको सिस्टममा भाइरस पाल्नुलाई
कान्छी दी-को भट्टीमा पस्दैछन्।
सेन्सलेस् चियाबारीको खप्पर ‘कोमा’-मा पुगेको छ।
चाउरी परेर ल्याम्टा बनेका सरिरहरू
अँगेनामा लोकगीतको झिल्का ताप्दैछन्।
साइरनको आवाज नसुनिएको क्यौँ भइसक्यो
त्यो आवाज नसुनिएकै कारणले होला
विहान सात बजे मेलो हत्याउनलाई आमैहरू जुलुस हिँडेकै छैनन्।
हसिया नचाएर बाऊहरू सिपाही बन्नै सकेका छनैन्
टि भी सिरयलको क्रिटिसाइज चियाको बोटले सुन्न पाएकै छैन।
अनि सुइरोमा भाग्य नम्बर १,२,३ –को सपना देखेर
औँलाले भाँचि भाँचि गन्नै पाएका छैन।