Monday, September 27, 2010

तिमी ( 20 गस्त 2009 को भाषा मान्यता दिवसमा पठन गरिएको कविता)

आज तिमी जन्मिएकीदेखि
बाँचेर आएका यतिका दिनसम्म
न ढुक्कले बस्न सकेकी छौ
न कि बस्न दिएकी छौ हामीलाई।

थाहा छ
संविधानमा अन्तर्भुक्त हुँदी
हाम्रो हिताधिकारको कानून बनेँ झैँ
तिम्रो अस्तित्त्व, मर्यादाले
हामी जस्तै मान्छेहरूले पनि
तिमी हुनुको कदर गरेको थियो।

त्यस समय तिमी
यौनावस्थामा फूलेकी गुलाब झैँ
प्रेमी प्रेमिकाको प्रतिक बनेर
सारा देशभरि
सुगन्ध र महिमा फिँजाउँदै हिँडिदियौ
निर्धक्क।

प्रताडित, लाञ्छित
विदेशीको उपमाले ऱङ्गिएका हामीहरको तिमी
एउटा आधार थियौ
जन्म जन्मान्तरसम्मको तागत थियौ
आँट थियौ
भरोसा थियौ
तर अहिले तिम्रो जन्मचिन्हमा
प्रश्न चिन्ह तेर्सिएको छ
ढुङ्गा-मुढाको झटारो हानिँदैछ
तिमी के गर्न सक्छ्यौ अबला भएर
ढुङ्गा-मुढा गर्ने तिमीलाई
आमरा बङ्गाली होइन
न कुनै वामपन्थी।

तिमीलाई परिचय दिलाउनेहरूका
सन्तति हामीहरू
बाबुले रोपेको खेतबारीमा
न राप्नै सक्दैनौ कि केही
या त रोप्नै पो चाहँदैनौ कि केही।

हैसियत, तागत भन्ने थोक नभएर होइन
हामी परम्परा विरोधी छौँ
परम्परित जीवन बँचाईमा
हिँडनै सक्दैनौ हामी
बाँच्नै जान्दैनौ हामी
हामी कम्प्युटर शताब्दीको मान्छे
हामीहरूको आफ्नै सिद्धान्त छ
संसार छ
र छ एड्भान्सको लेप।

तिमी मान्छौ कि मान्दैनौ
तर तिमीलाई फ्याँक्दै छ आज
जलाउँदैछ
खुट्टा भाँचि दिँदैछ
सत्यता र शुद्धताको
घुम्टो अढेर नहिँडे पनि भो तिमी
किनभने
तिमीमाथि
अशुद्धता र अस्पष्टको
दोषारोपण हुँदैछ
कलङ्क लाग्दैछ।

त्यसैले तिम्रो बैशाखी बन्न आएका
एड्भान्स भन्नेहरू
तिमीलाई बोकेर हिँड्न लाज मान्छन् कि।