Friday, June 24, 2011

फेसबुकमा द्रोपतीहरू

फेसबुक भन्छ
तर फेसको रङ्ग नै देखिँदैन।

नक्कली फेसको रङ्गमा झुम्छन्
तर मनबुकसम्म पस्छन्।

मित्रताको खाँट्टी सिपाही हुँ भन्छन्
युद्ध गर्नै जाँदैनन्
यति हो
लुकामारी खिलिबस्छन् मनग्गे
फेसबुकको जङ्गलमा।

भावनाको उत्कट इच्छा
कल्पनाको रङ्गले लिपेर
फ्याँक्छन्,
नलाग्दा, फेरि फ्याँक्छन्
फेबिकलको एक चोइटा टाँसिन्छ मनबुकमा।

परिक्रमामा संसार जितेर आएका फेसहरू
नियास्रो रुपको बादल फटाएर
थरी-थरीको
चकमक भिरेका छन् अङ्ग-अङ्गमा ।

सोधे
भन्छन्
सीता होइन, द्रोपती  हुँ
तर ई-जेनेरेसनको।

फेरि भन्छन्
महाभारतको कथा पनि कहाँ सकिएको छ र ?

.बलबहादुरहरू

खाली खुट्टै हिँडेका घोडाको टाप जस्तै
बलबहादरहरूले हिँडेका पैँतालाका छाप
अझै पुछिन सकेको छैन
इतिहासको खल्लो रङ्गले।

घाँटीमा ऐठन पार्ने गरि कस्सिएका
उपनिवेशित चियाको नाके डोरी
अझै छुट्न सकेको छैन
बलबहादुरहरूका घोक्रो छेलेको छालाबाट।

ढुङ्गा फोर्न लाम लागेका बलबहादुरहरूका हातहरू
प्यासी छन् पलपल
ठेलालाई सुमसुम्याउँदै
सङ्गीत भर्नु वेरङ्ग जीवनको।

ढुङ्गाभन्दा कठोर तालमा बुनिएका
सपनाहरूका भक्कानो
अझै फुट्न सकेको छैन
बलबहादुरहरूका चिसा आँखाबाट।

रङ्ग पोति रक्ताम्मे पारिदिएका
बलबहादुरहरूका फुक्क छातीमाथि
अझै परेड खेल्न छाडेका छैन
देशका सिपाहीहरू।

एउटा अतृप्त इच्छावृत्तिको युद्धमा
लड्न हिँडेका आमाहरूका कोख
र एउटा बेटुङ्गो सपनाको राँको बाल्न
कम्मर कसेका बाबुहरूका इच्छाशक्ति
अझै झुत्त्रिएको छैन
अझै मुर्झाएको छैन
बलबहादुरहरू जन्माउन।

झोपडीहरू

फाटेका सपनाको छाता ओढेर
कुख्रे निन्द्रा सुत्न गाउँमा पसेका
झोपडीहरू
संसार फट् फट् फट्किँदा पनि
भ्रमको आगो तापेर
झुक्रिएर बस्न वाध्य छन्।

इच्छाहरू बाँसको खाम्बोमा
सुर्काउनै सकेका छैन झोपडीहरू
बरू !
फ्यात् फ्यात् कुहिएर लड्दैछन्
आकांक्षाहरू
विपनाहरू
खरको धुरीबाट।

तप् तप् चुहिएका विस्मादका आँशु
सिकुवाको डिलमा टुक्सुक्क बसिरहन्छ।
हाँसोको एक पाहुना गीत
सङ्घारको फेदिमा टोलाईरहन्छ।

भारमा लमतन्न तेर्साइएका दाउराहरू
सँधै सँधै वियोगिनीको गीत गाउँछन्।
प्रसन्ताको बिऊ छिपेर कुप्रेका अनुहारहरू
सँधै सँधै झरी गीत गाउँछन्।

कति मोहक देखिने निलो आकाश
कति शीतल देखिने चन्द्रमा
त्यसमा कोरिएको झैँ लाग्ने कारङ्किरिङ रेखाहरू -ताराको
हेर्दै झोपडीहरू
मानचित्र कोर्न थाल्छन् प्रत्येक रात
इच्छा
रहर
सपना
र आस्थाको।