बाजेले
कुर्कुच्चा पट् पट् फुटाएर हिँडेको चियाबारीभित्र
मेरो
बाबुको जिन्दगीको ठेला ह्वास ह्वास् गनाउँछ
तर मैले
त्यो बाटो मेरो हो भन्नै सकिनँ।
बज्यूले
टोक्रीभरि बैंसको सपनाहरू
रहरका
घुमले एक जुनी ढाकेर राखे पनि
मेरी आमाले
अर्को सपनाको सुइटर बुन्नै पाइनन्।
त्यही
सपनाको जोखना खुट्याएर
मैले त्यो
सपना मेरो हो भन्नै पाइनँ।
पल्लो
भित्तामा देखिएका चियाबारीका बुट्टाहरूबिच
एउटा सानो
माटोको घर रहरलेजस्तै उभिएको छ
त्यसका
भित्ता र धुरीसम्म क्यौँ सालदेखि सपनाहरू
तार्लुङ्तुर्लुङ
झुण्डिएर म तिम्रै हुँ भनी अलापिरहेका छन्
तर त्यसलाई
मैले मेरो सपना हो भन्नै पाइनँ।
मैले आफ्नै
छात्तीभित्रको दुखिरहने मुटु
आफ्नो हो भन्नै
पाइनँ।
के यो मुटु
पनि तिम्रो हो मालिक ?
No comments:
Post a Comment