Tuesday, November 8, 2011

पुल


उज्जव दियो झैँ जिन्दगीको आर्शिवाद
निधारभरि दसैँमा टाँसेर हिँडेका बसुधैवहरूलाई
यो जुनीको वैतर्णी तर्नुभन्दा गाह्रो
त्यो झुलुङ्गे पुल तर्नु भइदिएको छ।

जन्मदिनको महाउत्सोवमा कोख्रोबाट संसार चिहाएकाहरू
जिन्दगीको रङ्गीन सपनाको जालो बुन्नै पाएनन्!

बुढो रूख!
छात्तीबाट उम्रिएका जिन्दगीको बैशाखी
रहरले टेक्नै पाएनन्!

आमाका मनहरू झरेर रगतका फाल्सा बग्छन्
आत्माशान्तिको रङ्ग लिपेर सुदुर देशसम्म।

मुटुहरू/भावहरू
ओँठमा कठै बरा!- को पुल्ठो बालेर गाउँ घुम्दैछन्
तर, गाउँमा तिहारको दियो जलेकै छैन।

हो!
जिन्दगीको लासबाट मन कुडाएर कुदेका धुँवाहरू
गाउँको मनलाई अङ्गालो हाल्नै सकेको छैन।

जिन्दगीको एक पावा हिउँदो हिँडेका छोराहरूको
रङ्गीन सपनाले पोतिएको जोबन
फक्रिएको हेर्नलाई
कुरीरहेका मनका आँखाहरू
बक्र, चोइटिएको पुलको चित्र मात्र देख्छन्।

गाउँ-बस्तीका ओछ्यानबाट
जङ्गलको शुन्यतामा समाधिस्त बन्न पुगेका सरिरहरू
कुन मनको आँखाले हेर्दा हुन्-
आफूअघि हिँडिरहेका गाउँका अनुहारहरू?
अतः
कुन मनका आँखाले चिहाउँदा हुन् गाउँका अनुहार- उसहरूलाई ?
कुन सम्वेदनाका फूलहरू चढाउँदा हुन् गाउँले-उसहरूलाई ?

यी कविता बिजनबारीको पुलमा अमृत्यु मर्ने र उनका परिवारहरूलाई समर्पित।

No comments: