हडतालको नारा लागेका भुँडीहरू
सपनाको बैँस
पूर्णिमाको रातमै फुल्छन् कि !
सोध्छन्..
बाजेले गाडी राखेको 'धराप' ओछ्यानहरूलाई।
छ्याप्छ्याप्ती आशाले भिजेका सिरानीहरू
निधारहरूले कहिले सुकाउन सकेनन्।
बरू ! निधारमा खुम्चिएका जीवनका कारङ्किरिङ धर्साहरू
ओछ्यानमा अहिलेसम्म 'फोटो कपी' भएर बसिरहेको छ।
उत्तानो परेर टुल्टुल चिहाएका ओछ्यानका आँखाहरू
कहिले रसाएनन् धुरीबाट चुहिएको सपनाहरूले।
हिसाब गन्दैछन् ओछ्यानहरू अहिले
नाङ्गै भएर लमतन्न सुतेका इच्छाहरूको।
भोकाएर मस्त निदाएका भुँडीहरूको।
हिमचुलीको रहर बोकेका मनहरूको।
रङ्गीन सपनाको होली खेलेका आँखाहरूको।
तर सपना, अहिले पनि ‘ब्लाक एन्ड वाइड’- मा नै छ।
आजन्म माया-प्रिति र
विश्वासको घुम्टो ओढेर कुरीरहेका ओछ्यानका प्रियतमाहरू
पाहुनाको निहुँमा सुत्न आएका सूर्य र चन्द्रबाट
दिन-रात, शीत बनिरहेका छन्।
अनि चुहिँदैछन
तप् !
तप् !!
सपनाहरू
ओछ्यानहरूको आँखाबाट।
No comments:
Post a Comment