Monday, February 6, 2012

समाचार

छिः गाउँका आँखाहरू !
गाउँले आँखा नै नछोपिने कस्तो लाजको घुम्टो ओडेको छ।

बैंसका ज्वारभाटा उम्लिनुअघि
गाउँका नपुंसक हातहरू खेल्न थाल्छन्
मनमायाका कलिलो छात्तीमा।

कति नरम लाग्छ गाउँलाई
मनमायाको त्यो कलिलो छात्तीको स्पर्श
तर कठीन लाग्छ मनमायाको जीवन भएर बाँच्नु गाउँलाई।

गाउँले मनमायाको जीवन बाँचेकै छैन
न बाँच्नको लागि गाउँले निर्धक्क मनमायालेजस्तो छात्ती फुकाउन सक्छ।

एउटै पीडा र व्यवस्थाको संसार
मनमायालाई कति सानो लाग्छ
जब उसले गाउँको लोभी नजरहरू झ्यालभरि नाँचिरहेको देख्छ।

गाउँले हुरूक्कै खाइसकेको मनमायाका रहरहरू
कुनै अबोध सडकको कुनामा लडिरहेछ
गाउँकै अनुहार बोकेर।

मनमाया गाउँको लुच्छा हातबाट फुत्किएर शहर पसेकी छ।
उसलाई पत्यार लागेकै छैन यो शहरको गन्ध हो।
गाउँ पनि त यस्तै गन्हाउँथ्यो-उ सोँच्छे।

हेरूँ !  शहरको एउटा नदेखिएको जिन्दगी।

शहरभरि उडिरह्यो मनमायाका मनका आकांक्षाहरू।
पछ्याई रह्यो शहरका गिद्धे सोँचाईहरू।

गाउँबाट लुकाएर ल्याएका मनमायाका सपनाहरू
शहरका गल्ली-गल्ली भएर उत्तानो परिरह्यो।
आशाले बाँधेको उसको छात्ती तर कहिल्यै रित्तिएन।

समाचारः
जिन्दगी जितेर उसले एउटा मनमाया मारेको छ।
अहिले ऊ चुपचाप बसिरहेकी छ।
गाँउ हल्ला गरिरहेको छ।

No comments: